फाप्लाको पिच र धनगढीको मौसम

विनोद पाण्डे, चित्रांग थापा

धनगढी — काठमाडौं गोल्डेन्सले पहिलो खेलमै धनगढी स्टार्सले छाडेको १ सय ३३ रनको लक्ष्य ६ विकेट गुमाई पछ्याउँदा रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा ब्याटिङले प्रभाव जमाउने सम्भावना देखिएको थियो । छैटौं दिनमा आइपुग्दा फाप्ला क्रिकेट मैदानको पिच कम स्कोर र यहाँको मौसम ठूलो बहसको विषय भएको छ । 

पिच स्वभाविक देखिएको छैन । ब्याट्सम्यानलाई रन बनाउन गाह्रो परिरहेको छ । धेरै टोली स्पिन बलिङलाई नै आफ्नो हतियार बनाइरहेका छन् । चौका र छक्का यदाकदा जस्तो मात्र भएको छ । पावर प्ले होस् वा अन्तिमका ४–५ ओभरमा सबैमा धेरै समय बलर नै हाबी भएका छन् । ब्याट्सम्यानले खुलेर खेल्न सकिरहेका छैनन् ।

मौसमले पनि डीपीएललाई खुल्न दिएको छैन । अघिल्लो शनिबार सुरु हुनुपर्ने प्रतियोगिता निरन्तर वर्षाका कारण दुई दिन पछि सारिएको थियो । बिहीबार पुन: पश्चिमी वायुले मौसम बिग्रिएर वर्षा भएपछि विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडको खेललाई बीचैमा रद्द गराएको थियो । शुक्रबार विश्राम दिन भए पनि निरन्तर वर्षाका कारण शनिबारको दुवै खेल हुन सकेन । रद्द भयो । आइतबारको खेललाई पनि शुक्रबार बेलुकासम्म परेकाले वर्षाले केही प्रभावित बनाउन सक्छ ।

पहिला दिनको खेलपछि दुवै इनिङ्समा सय रन कट्नु पनि ठूलो विषय भएको छ । काठमाडौंले धनगढीसँग विजयी हुँदै बनाएको १ सय ३३ रन प्रतियोगिताकै ठूलो स्कोर हो । धनगढीले यस विकेटमा १२०–१३० रनलाई औसत स्कोर मानेर मैदान प्रवेश गरेको थियो । त्यसका बाबजुत टोली पराजित हुन पुगेको थियो । लय नै समात्न नसकेको दुईपल्टको डिफेन्डिङ च्याम्पियन धनगढी लगातार तीन खेलमा पराजित हुनपुग्यो र महेन्द्रनगरसँग खेल मैदान भिजेका कारण रद्द भएपछि एक खेलअगावै टोली प्रतियोगिताबाट बाहिरन पुग्यो ।

‘विकेट स्लो छ, खेल्न निश्चय पनि गाह्रो छ । पिच गाह्रो र सजिलो त ब्याट्सम्यानले नै देखाउने हो । ब्याट्सम्यानले रन हान्न लाग्यो भने पिच सजिलो देखिन लाग्छ । सुरुमा हाम्रो विकेट जाँदा पिच गाह्रो देखिएको थियो । मध्यक्रमले रन हान्दा सजिलो देखिएको थियो,’ धनगढीका कप्तान सोमपाल कामीले पहिलो खेलपछि भनेका थिए, ‘कुन मनस्थिति लिएर ब्याट्सम्यानले खेलिरहेको छ, त्यसमा पनि पिच भरपर्छ ।’

काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडसँगको खेलमा १ सय ३४ रन बनाएको थियो । जारी प्रतियोगितामा यही नै उच्च स्कोर हो । जवाफमा महेन्द्रनगरले १ सय २७ रन बनायो । दोस्रो खेलमा रूपन्देहीले छाडेको १ सय ११ रनको लक्ष्य पछ्याउँदा महेन्द्रनगर १ सय ९ रनमै आउट भयो । सीवाईसी अत्तरियाले पनि पहिलो खेल जित्नेक्रममा ९५ रन रक्षा गर्दा धनगढीलाई ९० रनमा रोकेको थियो ।
नेपालको फ्रेन्चाइज क्रिकेटमा जयकिसन कोल्सावाला र सन्नी पटेल सफल विदेशी खेलाडी हुन् । यी दुवै भारतीय खेलाडी डीपीएलमा अत्तरियाबाट खेलिरहेका छन् । आक्रमण र सम्हालिएर दुवै खेल्न सक्ने विकेटकिपर/ब्याट्सम्यान कोल्सावाला विकेट केही खराब रहेको तर खेल्नै नसक्ने नभएको बताउँछन् ।

स्पिन अलराउन्डर सन्नी पटेल आफू स्लो बलर भएकोमा भाग्यमानी सम्झन्छन् । उनले भने, ‘यहाँ जुनै पनि स्पिनरले राम्रो गर्न सक्छ, त्यसमा देव्रेहाते स्पिनर टपमा हुने विकेट छ ।’ सात बलर समान ६ विकेटसहित शीर्ष विकेट लिने दौडमा छन् । त्यसमा अत्तरियाका भुवन कार्की, विराटनगरका अविनाश यादव, महेन्द्रनगरका सागर ढकाल र रूपन्देही च्यालेन्जर्सका पुनीत मेहरा देव्रेहाते स्पिनर हुन् । ६ विकेट लिने धनगढीका रोहन मुस्तफा अफ स्पिनर हुन् ।

काठमाडौंका प्रशिक्षक राजु बस्न्यात पनि विकेट ब्याटिङमैत्री नभएको कारण रन बन्न नसकेको बताउँछन् । ‘बल बढी टर्न हुँदा स्पिनरलाई सहयोग गरिरहेको छ । हामीले दुई खेलमा क्रमश: १३३ र १३४ रन बनायौं, तर यो मैदानका साइज र प्रतियोगिताको संरचना हिसाबले राम्रो स्कोर होइन । यहाँ केही नभए पनि १६० भन्दा माथिको स्कोर बन्नुपर्छ,’ उनले भने, ‘हामीले सरसर्ती हेर्दा ब्याट्सम्यान पिचमा अभ्यस्त नभएको देखिन्छ । तर पिचले जुन रूप देखाइरहेका छ, त्यसमा भिज्न नै गाह्रो हुन्छ । अस्वभाविक टर्नहरू भइरहेछन्, यसले ब्याट्सम्यानलाई सहज हुन दिँदैन ।’

धनगढीका अमित श्रेष्ठ, काठमाडौंका अंकित दबास र अत्तरियाका दीपेन्द्रले प्रतियोगितामा अर्धशतक बनाइसके पनि विकेट ब्याट्सम्यानलाई खेल्न निकै गाह्रो भएको बस्न्यातको कथन छ । ‘हामीले बुझेअनुसार यहाँको विकेट बनाउने तयारी पनि गरेका छन्, मिहिनेत पनि गरेका छन् । २–३ महिना अगाडिदेखि विकेट पनि बनाएकै हुन् । तर विकेट बनाउँदाखेरि यसलाई चाहिने माटो र प्राविधिक पक्ष नमिलेको हो कि जस्तो पनि लाग्छ,’ उनले विकेटको कमजोरी औल्याउँदै भने ।

विदेशी ब्याट्सम्यानले ठूलो स्कोर गर्न नसके पनि खुलेर खेलेका देखिन्छन् । काठमाडौंका भारतीय खेलाडी अंकित दबासले अविजित ६५ रन बनाउनेक्रममा योगेन्द्रसिंह कार्कीसँग अन्तिम ७ ओभरमा अविजित ७६ रन जोडेका थिए । उनै दबासले प्रतियोगितामा दुई इनिङ्समा ब्याटिङ गर्नेक्रममा सर्वाधिक ९५ रन बनाएका छन् । रूपन्देही च्यालेन्जर्सका पुनीत मेहराले विराटनगरसँग ४६ रन बनाएका थिए । अत्तरियाका सन्नी पटेलले धनगढीसँग ३५ रनको अविजित इनिङ्स खेलेका थिए । तर रूपन्देहीबाट खेलिरहेका हङकङका बाबर हायतको ब्याट पनि चल्न सकेको छैन ।

विदेशी खेलाडीले यस्तो कठिन स्थितिमा खेल्नुलाई गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ल सहज रूपमा लिन्छन् । उनले भने, ‘हामीभन्दा निश्चय पनि उनीहरूको राम्रो स्किल छ । खेललाई बुझाई पनि हाम्रोभन्दा उनीहरूकै राम्रो छ, नियमित खेलिरहेका हुन्छन् । उनीहरू केहीलाई पनि यहा खेल्न गाह्रो भइरहेको छ,’ ज्ञानेन्द्र भन्छन्, ‘यस्तो विकेटमा खेल्दा अनुभव र स्किल दुवै चाहिन्छ ।’

महेन्द्रनगरका कप्तान शरद भेषावकर विकेटमा धेरै फरक देख्दैनन् । उनले भने, ‘विकेटमा धेरै फरक छैन, ब्याटिङ कसरी गरिन्छ त्यसमा पनि धेरै भरपर्छ ।’

सुरुआती ब्याटिङ महत्त्वपूर्ण मानिन्छ । तर फ्रेन्चाइज क्रिकेटमा नेपाली ओपनिङ ब्याट्सम्यानले बिरलै मात्र अर्धशतक स्कोर छुने गरेका छन् । यसले पनि पूरा इनिङ्स प्रभावित गर्ने गरेको छ । अमितले काठमाडौंसँग खेल्दा तेस्रो नम्बरमा आएर ब्याटिङ गरेका थिए । राष्ट्रिय टोलीमा पुनरागमनको आशामा रहेका धनगढीका सुनील धमला, काठमाडौंका अनिलकुमार शाहदेखि हाल नेपाली टोलीमा रहेका प्रदीप ऐरी कसैको ब्याट चल्न सकेको छैन । यूएईको पछिल्लो भ्रमणमा ट्वान्टी–२० मा ओपनिङमा देखिएका नेपालका कप्तान पारसखड्का यसपल्ट डीपीएलमा छैनन् ।

बिहीबारदेखि वर्षाले छोपिएको धनगढी आकाशमाथिको बादल शनिबार खुलेको छ । मौसमसँगै फाप्ला मैदानको पिच पनि खुल्ने आशा सहभागी टोलीको छ ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्

डीपीएल–जितका सारथि

विनोद पाण्डे, चित्रांग थापा

धनगढी — रूपन्देही च्यालेन्जर्ससँगको राउन्ड रोबिनको अन्तिम खेलमा पराजय नजिक पुग्दा टिम चौराह धनगढी प्रतियोगिताबाटै बाहिरिने स्थितिमा थियो । जसो–तसो घरेलु टोलीले त्यो खेल जित्यो र अन्त्यमा रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि नै रक्षा गर्‍यो ।

धनगढीलाई राउन्ड रोबिनमा भाग्यको ठूलो साथ थियो । मुस्किलले प्लेअफमा पुगेको धनगढी त्यसका दुई खेलमा आफूअनुकूल नतिजा निकालेपछि क्वालिफायर नै पुग्यो । प्ले अफ र फाइनलमा खेलाडीले देखाएको जुझारुपन र मिहिनेतको प्रतिफल थियो धनगढीको उपाधि । गत वर्ष उपाधि जित्दा जस्तो धनगढी यसपालि ‘हाई–फाई’ टोली थिएन ।उद्घाटन खेलमा काठमाडौं गोल्डेन्ससँग पराजित धनगढीले त्यसपछि ६ मध्ये ५ खेलमा जित हात पार्‍यो । धनगढीलाई लगातार दोस्रोपल्ट उपाधि दिलाउने क्रममा टोलीका प्रमुख खेलाडी यस्ता थिए :

रोहन मुस्ताफा
आफ्नो टोलीले काठमाडौंसँगको पहिलो खेल खेल्दै गर्दा यूएईका कप्तान धनगढी आइपुगेका थिए । त्यसयता उनी टोलीका प्रमुख खेलाडी रहे । धनगढीका प्रशिक्षक शेरबहादुर लामाका अनुसार उनी टोलीका सम्पत्ति रहे । १ सय ९८ रन बनाउनुका साथै ९ विकेटले उनलाई म्यान अफ द सिरिजको पुरस्कार दिलायो । प्रत्येक खेलको म्यान अफ द म्याचसँगै जोडिने अंकका आधारमा दिइने उत्कृष्ट खेलाडीको पुरस्कारमा उनले सर्वाधिक १० अंक बटुले ।

फाइनलमा बनाएको ६० रन उनको व्यक्तिगत उच्च स्कोर थियो । काठमाडौं उपाधि दौड नजिक पुगेको बेलामा अफ स्पिनर मुस्ताफाले सन्नी पटेल र रशिद खानलाई योर्कर बलमा बोल्ड गरे । सोही कारण उनी म्यान अफ द फाइनल पनि बने । उनी डेथ ओभरमा अझै खारिएको बलिङ गर्थे । यूएईका यी कप्तान राष्ट्रिय टोलीबाट खेल्दा ओपनिङमा ब्याटिङ गर्छन् । डीपीएलभर उनी तेस्रो नम्बरमा रहे । घरेलु क्रिकेटमा उनी फरक ब्याट्सम्यानका रूपमा देखिए । छक्का प्रहार गरेको अर्को बल एक रन लिएर स्ट्राइक रोटेट गरिरहेका हुन्थे । प्रत्येक ओभर र बलसँगै आफ्ना बलर र फिल्डर नजिक पुगेर उनले आफ्नो टोलीलाई हौस्याइरहेका हुन्थे ।

‘प्रतियोगिताअघि मलाई यहाँको विकेटमा केही थाहा थिएन । यस्तो विकेटअनुरुप खेल्न सजिलो थिएन किनेभने हामी अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा राम्रो विकेटमा खेल्दै आएका थियौं । मैले समय लिएर यो विकेटमा खेल्न खोजे, फाइनलमा खेलेको इनिङ्स त्यसैको परिणाम थियो । मेरा लागि यो फरक अनुभवको प्रतियोगिता रह्यो । मैले प्रशंसकसँग यति धेरै सेल्फी खिचेको थिइनँ । दर्शकहरू रोहन, रोहन भनेर चिच्याइरहेका थिए । यसले मलाई निकै उत्साही बनायो । आशा छ म फेरि यहाँ फेरि आएर खेल्ने छु,’ रोहनले भने ।

सुनील धमला
सुनीलले फाइनलमा बनाएको ७८ रन प्रतियोगिताको दोस्रो उच्च स्कोर थियो । उनले कुल २ सय २९ रन बनाए र सर्वाधिक रन बनाउने सूचीमा काठमाडौंका ज्ञानेन्द्र मल्ल र अमित श्रेष्ठभन्दा मात्र पछि रहे । सुनीलले मुस्ताफासँग दोसो विकेटमा जोडेको १ सय ४२ रन प्रतियोगिताको एकमात्र शतकीय साझेदारी हो । दुई अर्धशतक बनाउने ५ खेलाडीमा उनी एक थिए ।‘मलाई लाग्छ उसले नेपालको प्रतिनिधित्व गर्नेछ । फास्ट बलरविरुद्ध उसले अझ मिहिनेत गर्नुपर्छ । उनी राम्रा ब्याट्सम्यानका साथै राम्रा अलराउन्डर पनि हुन्,’ सुनीलको प्रदर्शनबारे मुस्ताफाले भने । १८ ओभर बलिङ गर्नेक्रममा सुनीलले प्रतिओभर ५.३३ रनमात्र दिएर ६ विकेट लिएका थिए । उनी धनगढीका सबैभन्दा इकोनोमी बलर थिए । सुनीलले महेन्द्रनगरसँग पनि मुस्ताफासँग ६७ रनको साझेदारी गरेका थिए । राष्ट्रिय टोलीमा एकपल्ट झुलुक्क देखेका परेका सुनील त्यसयता घरेलु क्रिकेटमै छाइरहेका छन् । ‘मेरो प्रदर्शन ठीकै भएको हो, त्यति राम्रो होइन । बीचका खेलमा मैले एकरुपको प्रदर्शन दिन सकिनँ । हरेक खेलमा राम्रो सुरुआत गरे पनि त्यसलाई निरन्तरता दिन सकेको थिइनँ । यसलाई मैले सुधार गर्नुपर्छ । राष्ट्रिय टोलीमा होस् वा जहाँ होस् मैले केवल राम्रो खेल्नुपर्छ भन्ने मलाई थाहा छ । राष्ट्रिय टोली वा घरेलु क्रिकेट जहाँ अवसर पाइन्छ त्यहाँ मैले राम्रो खेल्नुपर्छ । त्यसकै लागि मिहिनेत जारी छ । फाइनलमा मैले टिमलाई केही योगदान दिएको हुँ । मेरो र मुस्ताफाको साझेदारीले एउटा राम्रो लक्ष्य तयार पार्‍यो । हुनसक्छ त्यसले पनि विपक्षीलाई हतार बनायो,’ सुनीलले भने ।

ललितसिंह भण्डारी
कञ्चनपुरका यी देब्रेहाते तीव्र बलरले सुदूरपश्चिमको विकेटको पूरा फाइदा उठाए । फाइनलमा लिएको ३ विकेटले ललितलाई प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडी बनायो । उनले कुल १४ विकेट लिए, जसमा औसत १३.२१ थियो । इनस्वीङ योर्कर उनको बलिङ विशेषता हो । त्यही विविधतामा उनले फाइनलमा काठमाडौंका सुबोथ भाटीलाई बोल्ड गरी धनगढीलाई विजयको बाटो देखाए । काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल पनि उनकै बलमा बोल्ड भए ।

उनले ३७ रन खर्चेर ४ विकेट लिँदा राउन्ड रोबिनमा महेन्द्रनगरले धनगढीसँगको खेलमा १ सय ३१ रनमात्र बनाउन सकेको थियो । काठमाडौंसँगको क्वालिफायरमा पनि उनले २ विकेट लिएका थिए । धेरै समय बाउन्ड्री लाइनमा फिल्डिङ गरेका उनी घरेलु दर्शकका प्रिय खेलाडी जस्तै रहे । हरेक विकेटमा फरक फरक खुसी मनाउने उनको शैलीले दर्शकलाई रोमाञ्च प्रदान गरिरह्यो । ‘प्रतियोगिता एकदमै राम्रो र रमाइलो भो खेल्न । मैले सोचेभन्दा पनि धेरै राम्रो भयो । म सुदूरपश्चिमको मात्र नभएर आफू मात्र विश्वास थियो र मलाई टिमले त्यही अनुसार समर्थन गर्दा प्रदर्शन दिन सक्यो । यो पिचमा सही ठाउँमा बल फाल्ने हो भने स्पिनरभन्दा मिडियम पेसर र फास्ट बलरलाई प्रहार गर्न गाह्रो छ । विकेट हामीले सोचेभन्दा ब्याटिङ र बलिङलाई निकै राम्रो थियो । गत वर्षको हेर्ने हो भने विकेट स्पिनरलाई राम्रो हुन्छजस्तो लागेको थियो । तर फास्ट बलरले लेन्थमा बलिङ गर्न सक्नुपथ्र्यो,’ ललितसिंहले भने ।

सोमपाल कामी
सोमपालले सीवाईसी अत्तरियासँगको खेलमा नटआउट ३९ रन बनाउँदै धनगढीलाई जिताएका थिए । उनले दुई ओभरमा ब्याटिङबाट त्यो खेल पल्टाए । त्यसैले उनी यहाँ ब्याटिङ अलराउन्डरजस्तै रहे । सोमपालले ५८ रन बनाउनुका साथै ६ विकेट लिए । काठमाडौंसँग क्वालिफायरमा उनले लिएको २ विकेट खेलको निर्णायक बन्यो । घरेलु टोलीका समर्थक, त्यसमा साना नानीहरू सोमपाल नाम लेखेको जर्सीमा मैदानमा आएका थिए । यसले पनि सोमपाललाई मैदानभित्र प्रेरणादायी प्रदर्शन गर्न सहयोग गर्‍यो । विकेटमा स्पाइक लगाएर बलिङ गर्न नपाइने कारण उनी आफ्नो स्वभाविक लामो रनअप छोट्याएर बलिङ गर्थे । यसले उनको बलिङ प्रभावित पारे पनि टोलीको प्रदर्शनमा त्यसको असर पर्न दिएन ।

‘मेरा लागि प्रतियोगिता अविस्मरणीय रह्यो । जतिखेर म बलिङ गर्न आउँथें, त्यतिखेर आत्मविश्वास हुन्थेन । स्पाइक लाएर खेल्न नपाएका कारण चिप्लिरहेको हुन्थें । एउटा कप्तानका रूपमा मैले राम्रो गरेंजस्तो अनुभव भएको छ । त्यसमा मलाई रोहनले पनि निकै सहयोग गरे । बलिङ परिवर्तन गर्दा सल्लाह दिन्थे । कप्तान भएपछि निकै दबाब हुने रहेछ त्यो पनि अनुभव गरें । अरु खेलाडीले प्रदर्शन नगर्दा पारस (खड्का) दाइलाई पनि कतिको दबाब हुने रहेछ भन्ने आज आएर बुझे । जितेपछि मलाई सबैले सफल कप्तान भन्छन् तर म टिमले जितेको भन्छु,’ सोमपालले भने ।

शम्साद शेख
शम्सादलाई एउटै इनिङ्सका कारण विशेष याद गरिन्छ । धनगढीलाई काठमाडौंसँगको क्वालिफायरमा २ बलमा ६ रन आवश्यक थियो । पहिलो बल सामना गरिरहेका शम्सादले रशिद खानको बलमा मिडविकेटमा छक्का प्रहार गर्दै धनगढीलाई फाइनलमा पुर्‍याए । ‘जुन खेलाडीले प्रतियोगिताभर ब्याटिङ गरेनन् र उसैले आफूले सामना गरेको पहिलो बलमै छक्का प्रहार गरेर खेल जिताउनु ठूलो विषय हो,’ प्रशिक्षक लामाले शम्सादको विशेष इनिङ्सबारे भने, ‘म त्यसलाई भाग्यमानी शट त भन्दिनँ तर त्यसले हाम्रो टोलीमा लय बनाइदियो ।’

शम्साद मुख्यत: बलर हुन् । उनले देब्रेहाते बलिङमा ७ विकेट लिए । राउन्ड रोबिनमा विराटनगरका बाबर हायतलाई आफ्नै बलिङमा क्याच गरेपछि उनको प्रदर्शन अझ माथि आयो । फाइनलमा पनि उनले पुष्प थापालाई बोल्ड गरे । निर्णायक समयमा विपक्षीको महत्त्वपूर्ण विकेट लिनु उनको विशेषता बन्यो । ‘मेरो प्रदर्शन ठीकै भयो । हायतजस्ता ठूलो खेलाडीको विकेट लिँदा निकै खुसी छु । हाम्रो टिमका कप्तान निकै सकारात्मक र मैत्रीपूर्ण छन् । दुई बल बाँकी छ सकारात्मक खेल र ६ रनलाई सोच भन्नुभयो । यसले मलाई खुलेर खेल्न सहयोग गर्‍यो । पहिला ब्याट्सम्यानमा खेल्थे, अहिले बलरका रूपमा पनि खेलिरहेको छु । आवश्यक पर्दा ब्याट्सम्यान पनि खेल्न सक्छु,’ शम्सादले भने ।

प्रकाशित : वैशाख १, २०७५ ०७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्