कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

तिलोत्तमा गोल्डकप : रूपन्देही सेमिफाइनलमा

अमृता अनमोल

(बुटवल) — बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकप फुटबलमा आयोजक लाली रूपन्देही ११ सेमिफाइनल पुगेको छ । आइतबार देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा सडन डेथका आधारमा रूपन्देहीले पूर्वको सुनसरी ११ लाई पाखा लगायो । 

तिलोत्तमा गोल्डकप : रूपन्देही सेमिफाइनलमा

निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरको सुरुआती चरणमा ३–३ गोलको बराबरीपछि सडन डेथका आधारमा निर्णय हुँदा रूपन्देही सफल भयो । आयोजकले फागुन ११ मा झापा ११ र डफिन्स एफसी क्यामरुनको विजेतासँग फाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्नेछ ।


टाइब्रेकरमा ५–४ को नतिजा निस्कँदा आयोजकका लागि विदेशी खेलाडी रामजी, कुलदीप कार्की, विश्वास श्रेष्ठ, सवी गुरुङ र निशान न्यौपानेले गोल गरे । अनुप कार्की र गोलकिपर किशोर गिरीको पेनाल्टी खेर गयो । सुनसरीको तर्फबाट रोशन भुजेल, जीवनराज धामी, तीर्थ बस्नेत र रमेश राजवंशीको प्रहार गोलमा परिणत भयो । मनिन्द्र याङ्चाको पेनाल्टी बाहिरियो भने दीपेन तामाङको प्रहार रूपन्देहीका गोलकिपर किशोर गिरीले विफल तुल्याएका थिए ।


यसअघि निर्धारित समयमा दुवैले पाएका राम्रा अवसर सदुपयोग गर्न सकेनन् । घरेलु मैदान र दर्शकसामु आयोजकको खेल अपेक्षाकृत जमेन । तीन विदेशी र ए डिभिजनका खेलाडीसहित मैदान उत्रेको रूपन्देहीको प्रर्दशन समन्वकारी देखिएन । थ्रीस्टारका सुशील राई, जावलाखेलका कुलदीप कार्की, हिमालयन शेर्पाका सवी गुरुङ र किशोर गिरीबाट दर्शकले गरेको अपेक्षा पूरा भएन । अनुप गुरुङ, सवी, अनुप पुन र कुलदीपले पटक पटक पाएको अवसर सदुपयोग गरेनन् ।


क्षेत्रीय खेल खेलेका जिल्लास्तरका खेलाडी लिएर मैदान छिरेको सुनसरीको प्रस्तुति पनि उस्तै फितलो रह्यो । दीपेन तामाङ, रोशन भुजेल र तीर्थ बस्नेतले अवसर पाए तर सबै खेर फाले । सुनसरीका लागि यो सहभागिता ५ वर्षपछि पहिलो हो । सुनसरीले पछिल्लोपल्ट एन्फा जिल्ला लिग खेलेको थियो । रूपन्देहीका रामजी म्यान अफ द म्याच भए । उनलाई १० हजारसहित प्रायोजक यशोदा फुट्सले उपहार प्रदान गर्‍यो ।


रूपन्देहीका व्यवस्थापक मुकेश कुँवरले आवश्यक तयारी र टिम व्यवस्थापन नहुँदा जित पाए पनि सन्तोषजनक खेल पस्किन नसकेको बताए । ‘समय अभावमा विदेशी र ए डिभिजनका खेलाडीलाई मैदानमा ल्याए पनि सोचेअनुसार प्रदर्शन भएन,’ उनले भने, ‘सेमिफाइनलमा यसलाई सुधार्ने छौं ।’


सुनसरीका व्यवस्थापक श्याम मानन्धरले आफ्ना जिल्लास्तरका खेलाडीहरूले राम्रो प्रदर्शन गर्न खोज्दा खोज्दै पनि अवसरबाट चुकेको बताए । ‘कतिपय समयमा हतोत्साही भए । तयारी पनि नपुगेको हो,’ उनले भने, ‘आगामी दिन यसलाई सुधार्ने छौं ।’ सोमबार च्यासल युथ र सीएमजी संकटाबीच प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित : फाल्गुन ६, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?