३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

उपाधि जित्न चुक्यो सन्दीपको स्टार्स

नारायण खड्का

(अस्ट्रेलिया) — अस्ट्रेलियाको घरेलु क्रिकेट लिग बिग–बासमा युवा सनसनी सन्दीप लामिछानेको यात्रा उल्लेखनीय रह्यो । आइतबार सिड्नी क्रिकेट मैदानमा उनको टिम मेलबर्न स्टार्सले मेलबर्न रेनिगेट्ससँग १३ रनले पराजित हुँदै उपाधिबाट वञ्चित हुनुपरे पनि सन्दीपले आफ्नो लेग स्पिनको जादू देखाए । 

उपाधि जित्न चुक्यो सन्दीपको स्टार्स

फाइनलमा सन्दीपले विकेट लिन सकेनन् । ४ ओभरमा १७ रनमात्र खर्चिए । उनको बलिङ प्रदर्शन अन्य बलरको भन्दा किफायती रह्यो । आफ्नो पहिलो ओभरमा २ रनमात्र खर्चेका उनले दोस्रो ओभरमा ६ तेस्रो ओभरमा ३ र चौथो ओभरमा ६ रन खर्चिए । बिग–बासको सुरुआती ४ खेलपछि बंगलादेश प्रिमियर लिग र राष्ट्रिय टोलीबाट यूएईविरुद्धको शृंखला खेल्न आएका सन्दीप पुन: बिग–बासमा फर्किएका थिए । उनले पछिल्ला चार खेलमध्ये निर्णायक मानिएको सिड्नी सिक्सर्सविरुद्धको खेलमा ३ विकेट लिएका थिए । त्यस खेल जितेर मेलबर्न सेमिफाइनल पुगेको थियो ।


सन्दीपले बिग–बासको ८ खेलका २९ ओभर ४ बल बलिङ गरी १ सय ९५ रन खर्चिए । उनले ६.५७ को इकोनोमीमा बलिङ गरे । जुन बिग–बासकै किफायतीमध्ये बलिङ प्रदर्शन हो ।


बिग–बासको आठौं संस्करणसम्म आउँदा दोस्रोपल्ट फाइनलमा पुगेको मेलबर्न स्टार्स फेरि उपाधि जित्नबाट चुक्यो । फाइनल पुगेको पहिलोपल्ट नै मेलबर्न रेनिगेट्सले भने उपाधि उचाल्न सफल भयो ।


आइतबार फाइनलमा १ सय ४६ रनको लक्ष्य पछ्याएको मेलबर्न स्टार्स कुनै समय सहज अवस्थामा थियो । जित नजिक पुगिसकेको अवस्थामा लय गुमाएको उसले अन्तिममा १३ रनको पराजय बेहोर्‍यो । पहिलो विकेटका लागि बेन डंक र मार्कस स्टोनिसले ९३ रनको साझेदारी गरेका थिए । १३ औं ओभरको अन्तिम बलमा स्टोनिस ३९ रनको स्कोरमा आउट भएपछि मेलबर्न स्टार्सको विकेट पतन तीव्र गतिमा भयो ।


९३ रन हुँदा पहिलो विकेट गुमाएको मेलबर्न स्टार्सले थप १९ रन जोड्दा ७ विकेट गुमायो । स्टार्सबाट डंकले ५७ रन बनाए । इनिङ्सको अन्त्यतिर चौका र छक्का प्रहार गरेका एडम जाम्पाले अविजित १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन् ।


यसअघि टस हारेर ब्याटिङ गरेको रेनिगेड्सले ५ विकेटमा १ सय ४५ रनक जोडयो । सुरुआती ५ विकेट सस्तैमा गुमाए पनि रेनिगेड्सका लागि टम कुपर र ड्यानियल क्रिस्टियनले ८० रनको अविजित साझेदारी गरेपछि सम्मानित योगफल बनाएको हो । कुपरले ४३ र क्रिस्टियनले ३८ अविजित रन बनाए । स्टार्सबाट ज्याक्सन बर्ड र जाम्पाले २–२ विकेट लिए ।


प्रकाशित : फाल्गुन ६, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?