कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तिलोत्तमा गोल्डकप : संकटाविरुद्ध च्यासलको जित

अमृता अनमोल

बुटवल — भ्याली च्यासल युथ क्लब बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भएको छ । देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सोमबार च्यासलले सीएमजी क्लब संकटालाई २–० ले पराजित गरेपछि क्वाटरफाइनल सुरक्षित गरेको हो । 

तिलोत्तमा गोल्डकप : संकटाविरुद्ध च्यासलको जित

च्यासलको जितमा विदेशी खेलाडी अर्मान बेडोन र सजिन थापामगरले गोल गरेका थिए । पहिलो हाफ बराबरीमा टुंगिएको प्रतियोगितामा दोस्रो हाफको सुरुआतसँगै च्यासल चम्किएको थियो । खेलको ४९ औं मिनेटमा कप्तान अमिर श्रेष्ठको पासलाई अर्मानले गोलमा परिणत गरेका थिए ।


पहिलो गोलले हौसिएको च्यासल लगत्तै दोस्रो गोल गर्न सफल भयो । ५३ औं मिनेटमा विदेशी खेलाडी इभिलको पासमा सजिनले गोल थप्दै अन्तर बढाएका थिए ।


अनुभवी खेलाडी अमिर श्रेष्ठ, विश्व बुढाथोकी, विक्रम लिम्बुसहित विदेशी अहमद र इभिलले लगातार गोल गर्ने मौका जुराएका थिए । ती अवसरलाई भने संकटाका गोलकिपर राजाबाबु थापाले विफल पारिदिए । राजाबाबुको चलाखीपूर्ण खेलले संकटालाई थप गोल खानबाट बचायो । खेलको ४०, ६२ र ६५ औं मिनेटमा अहमदले गरेको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो ।


संकटाका लागि २८ औं मिनेटमा जय गुरुङको राम्रो प्रयास विफल रह्यो । ३४ औं मिनेटमा सरोज ढकालको प्रहार पनि पोस्टमा लागेर फर्किएको थियो । खेलको ५७ औं मिनेटमा अभिषेक लिम्बुले गरेको गोल प्रयास च्यासलका गोलकिपर दिनेश थापामगरले विफल पारे । कप्तान रवि सिलवालमात्र होइन, थ्रीस्टारबाट भित्रिएका सरोज ढकाल, मनाङबाट आएका सुवास गुरुङ, जावलाखेलबाट आएका लक्ष्मण रुचाललगायतका आसलाग्दा खेलाडीको प्रस्तुति फितलो देखियो । फलस्वरूप संकटा पहिलो खेलबाटै बाहिरिनुपर्‍यो ।


संकटाका कप्तान रवि सिलवालले विश्रामको अभावमा खेलमा जम्न नसकेको प्रतिक्रिया दिए । ‘थोरै खेलाडी नियमित खेल्दा रेस्ट नै भएन,’ उनले भने, ‘जुनियर खेलाडी र इन्ज्युरी भएका खेलाडीसमेत लिएर खेल्नुपर्दा हार बेहोर्नुपर्‍यो ।’ संकटाले जारी सिजनमा लगातार सिमरा गोल्डकप, धनगढीको खप्तड, धरानको बुढासुब्बा गोल्डकप खेलेको थियो । तर कुनै प्रतियोगितामा सेमिफाइनलभन्दा माथि पुग्न सकेको छैन ।


च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले तयारी राम्रो रहेकाले खेल जितेको बताए । यद्यपि खेलाडीका लागि नयाँ मैदान भएकाले पहिलो हाफमा सोचेजस्तो नभएको उनको तर्क थियो । ‘दोस्रो हाफमा खेलाडीको पोजिसन र टेक्निक बदल्यौं,’ उनले भने, ‘त्यसकै परिणाम जित निकाल्यौं ।’


च्यासलको भेट फागुन ९ मा मनाङ मस्र्याङदीसँग क्वाटरफाइनलमा हुनेछ । च्यासलका अर्मान बेडोन म्यान अफ द म्याच बने । उनले १० हजार रुपैयाँ र प्रायोजक यशोदा फुड्सबाट उपहार पाए । मंगलबार नेपाल पुलिस क्लबले दार्जिलिङ युनाइटेडविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : फाल्गुन ७, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?