तेस्रो डीपीएल क्रिकेट : सहज बाटाेमा अत्तरिया

धनगढी — सीवाईसी अत्तरियाले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा उच्च स्कोर बनाउँदै तेस्रो जित हात पारेको छ । विराटनगर किंग्समाथि सोमबार पाएको १० रनको जितले टोलीको क्वालिफायर्स निश्चितजस्तै भएको छ । 

तेस्रो डीपीएल क्रिकेट : सहज बाटाेमा अत्तरिया

काठमाडौं गोल्डेन्स यसअघि नै ७ अंकसाथ क्वालिफायर्समा पुगिसकेको छ । अत्तरिया र रूपन्देही च्यालेन्जर्सको समान ६ अंक छ । तर रूपन्देहीभन्दा अत्तरिया रनरेटमा धेरै अगाडि छ । राउन्ड रोबिन लिगमा एकले अर्कासँग खेलेपछि शीर्ष चार टोली प्लेअफमा पुग्ने छन् । त्यसमा शीर्ष दुई टोली क्वालिफायर्स १ खेल्ने छन् । त्यसको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने खेलको विजेतासँग प्रतिस्पर्धा गरेर फाइनल पुग्ने बाटो समाउने छ ।


फाप्ला क्रिकेट मैदानमा सोमबार अत्तरियाले भारतीय खेलाडीद्वय जयकिसन कोल्सावाला र सन्नी पटेलको अर्धशतकमा निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ४८ रन बनायो । जारी प्रतियोगिताको यो उच्च स्कोर हो । जवाफमा आएको विराटनगरले ८ विकेट गुमाई १ सय ३८ रन बनायो । दोस्रो इनिङ्समा उच्च स्कोर बनाए पनि विराटनगर अन्तिम खेलमा अत्तरियासँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ ।


कोल्सावाला ५१ र पटेल ६१ रनमा अविजित रहे । यी दुईले अन्तिम ५ ओभरमा ६१ रन जोडेका थिए । ४३ बलमा उनीहरूले कुल ६९ रन जोडे । ओपनर कोल्सावालाले ५० बलको इनिङ्समा ५ चौका र २ छक्का प्रहार गरे । १३ औं ओभरको अन्तिममा क्रिजमा आएका पटेलले ३१ बल खेली ५ चौका र ४ छक्का प्रहार गरे । उनले अन्तिम ओभरमा किशोर महतोलाई ३ चौका र २ छक्का प्रहार गरेका थिए । जितेन्द्रसिंह ठकुरी १३, सन्दीप जोरा ३ र कप्तान दीपेन्द्रसिंह ऐरी १० रनमा आउट भए ।


‘पछिल्लो दुई दिनमा विकेट राम्रो बनिसकेको छ र खेलाडीहरू पनि यसमा भिजिसकेका छन् । स्पष्ट भन्नुपर्दा मैले जसरी खेले, त्यो मेरो जिम्मेवारी नै थियो । व्यावसायिक खेलाडीको हिसाबमा पनि मैले यस किसिमको खेल खेल्नुपर्ने हुन्थ्यो । त्यसमा पनि म टोलीको वरिष्ठ खेलाडी हुँ र मेरा वरिपरि निकै युवा खेलाडी छन्,’ पटेलले भने, ‘अहिलेको खेलमा कुनै एक खेलाडीमा टिम टिकेको हुँदैन, हाम्रोमा पनि त्यस्तै भयो । दीपेन्द्र राउतले पनि बलिङ राम्रो गरे ।’


दीपेन्द्र पनि आफ्नो टोली क्वालिफायर्समा पुगिसकेको मान्छन् । ‘सन्नीले जसरी अन्तिम ओभरमा प्रहार गरे त्यसले लय हामीतिर आएजस्तो लाग्यो । हामीले उत्कृष्ट सुरुआत गर्यौं, त्यसपछि मध्यक्रममा अलिक रन बनाउन गाह्रो भएको थियो । बल घुमिरहेकाले १ सय ४८ रन रक्षा गर्न सकिन्छ भन्नेमा थियौं,’ उनले भने । अत्तरियाले मंगलबार काठमाडौंसँग राउन्ड रोबिन लिगको अन्तिम खेल खेल्दै छ र यी दुई टोली नै क्वालिफायर्समा आइतबार पनि खेल्ने सम्भावना बलियो छ ।


असाद उल्लाह खानले पहिलो तीन बलमा दुई छक्का प्रहार गरी विराटनगरलाई उत्कृष्ट दिलाए । रोयल च्यालेन्जर्स बेंग्लोरका पूर्व यी खेलाडीलाई पहिलो ओभरको अन्तिम बलमा भुवन कार्कीले बोल्ड गरिदिए । हरिशंकर ७ रन बनाई दीपेन्द्रको बलमा बोल्ड भए भने राजेश पुलामीमगर शून्यमा रनआउट भए ।


आशिफ शेखले ३४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरी ३९ रन बनाए । पृथु बाँस्कोटाले २४ बलमा २७, अविनाश यादवले १४, करण केसीले १२ र कुशल भुर्तेलले ३ रन बनाए । भुवन र दीपेन्द्र राउतले ३–३ विकेट लिए । भुवनले ३ ओभरमा ३५ र दीपेन्द्रले ४ ओभरमा २० रन खर्चे ।


‘ब्याटिङमा पनि बलिङमा पनि हामीले फिनिसिङ गर्न सकेनौं । हामीले कम्तीमा प्लेअफको आस गरेका थियौं, तर वर्षाले गर्दा हामीले दुई खेल खेल्न पाएनौं । हाम्रो बलिङ र ब्याटिङ राम्रै भएको हो, आज उनीहरूको सन्नी पटेल आएर राम्रो खेल्दा खेल जित्न पुगे,’ करणले भने, ‘मैले पहिलोपटक कप्तानी गरे । खेलाडीलाई यो गर, ऊ गरभन्दा पनि सम्झाएँ मात्र । यो स्तरमा आएर धेरै सिकाउनुपर्दैन । आफूमा जे राम्रो छ, त्यही गर्ने हो ।’


दिनको पहिलो खेलमा रूपन्देही च्यालेन्जर्सले धनगढी स्टार्सलाई ३९ रनले पराजित गरी प्लेअफमा पुगेको थियो । यसअघि टिम चौराह धनगढीको नामबाट पहिलो दुई संस्करण जितेको स्टार्स कुनै खेल नजिती प्रतियोगिताबाट बाहिरिन पुग्यो । धनगढीले ४ खेलमा पराजय बेहोर्‍यो भने एक खेल वर्षाले रद्द बनाएको थियो ।


बिहानको हुस्सुका कारण १५ ओभरमा छोट्याइएको खेलमा रूपन्देहीले ९ विकेट गुमाई १ सय ६ रन बनायो । स्टार्स १४ ओभरमा ६७ रनमै अलआउट भयो । रूपन्देहीले ५ मध्ये ३ खेल जित्यो । पहिलो दुई खेल जितेको रूपन्देही त्यसपछि लगातार दुई खेल हारेको थियो ।


‘प्रत्येक खेलसँगै राम्रो गर्ने प्रयास गर्दै जाने हो । आजको खेलबाट पनि त्यति खुसी हुनुपर्ने कारण थिएन । हामीले धेरै गल्तीहरू गरिरहेका छौं, त्यसलाई सुधार्दै लगेर अर्को खेललाई उत्कृष्ट बनाउने हो,’ रूपन्देहीका कप्तान वसन्त रेग्मीले भने ‘आज पावर प्लेमा रन बनिरहेको थियो, त्यसले नै पछिसम्म काम लाग्यो । यहाँको परिस्थितिमा पावर प्ले सदुपयोग गर्न सकिएन भने पछि रन बनाउँछु भनेर सोच्दा अलिकति गाह्रो हुन्छ ।’ रूपन्देहीको सुरुआत फेरि राम्रो हुन सकेन । प्रदीप १ रन बनाई सोमपाल कामीको बलमा आउट भए । अर्का ओपनर बाबर हायतले १० बल खेल्दै १ चौका र २ छक्कासहित १९ रन बनाए ।


सुमित महर्जन र विनोद भण्डारीको ५७ रनको साझेदारीले रूपन्देहीलाई राम्रो स्थितिमा उभ्यायो । सुमितले २४ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरी ३३ र विनोदले २५ बलमा २४ रन बनाउनेक्रममा २ चौका प्रहार गरे । विक्रम सोबले ९ बलमा ११ रन बनाए । धनगढीका सोमपाल, विपिन खत्री र पवन सर्राफले २–२ तथा अमिर हायत र रोहन मुस्तफाले १–१ विकेट लिए ।


मध्यक्रममा खेल्ने सोमपाल आफैं ओपनरका रूपमा खेल्न आएका थिए । उनले ११ बल खेल्दै २ चौका प्रहारसहित ११ रन बनाए । मुस्तफा २ र सुनील धमला ४ रनमै आउट भए । सोमपालपछि पवन १५ र सन्दीप रजाइलीले १० रनबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । रूपन्देहीका ललितसिंह भण्डारीले ३ ओभरमा ५ रनमात्र खर्चेर ३ विकेट लिए । म्यान अफ द म्याच विक्रम सोबले २ ओभरमा १२ रन खर्चेर २ तथा वसन्त, पुनीत मेहरा र भीम सार्कीले १–१ विकेट लिए ।

प्रकाशित : फाल्गुन ७, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?