२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

उपविजेता छवि

नेपाली महिला टिम फेरि एकपल्ट उपाधि विमुख भयो । अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा गर्न थालको ३३ वर्षे यात्रामा नेपालले पाँच फाइनल (३ साफ, २ साग) खेल्यो तर उपाधि चुम्न सकेको छैन । 
राजु घिसिङ

काठमाडौँ — सबैभन्दा तल्लो वरीयतामात्र होइन, सम्बन्धको आधारमा मात्रै सहभागी हुने अवसर पाएकाले पनि नेपाली महिला फुटबल टिमलाई हिरो गोल्डकप फुटबलमा कमजोर मानिएको थियो ।

उपविजेता छवि

तर, नेपालले आयोजक भारत र इरानलाई पराजित गर्दै ‘अन्डरडग’ को रूपमा फाइनल यात्रा तय गर्‍यो । म्यानमारविरुद्ध भने पहिलो खेल र फाइनलमै पनि नेपाली टिमको चुनौती कमजोर नै देखियो ।


भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको हिरो गोल्डकपमा सहभागी टिमहरू दक्षिण एसियालीभन्दा माथिल्लो स्तरका थिए । त्यसैले हुनसक्छ, नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले गोल्डकपमा फाइनल पुग्ने दाबी गरेका थिएनन् । न त उनले चार देश सहभागी प्रतियोगितामा कुनै पनि देशलाई पराजित गर्ने हैसियत भएको नै बताएका थिए । उनले भनेका थिए त केबल राम्रो प्रदर्शन गर्ने र साफ च्याम्पियनसिपका लागि आफ्नो टिमको कमजोरी पत्ता लगाउने ।


आफूभन्दा स्तरीय टिमविरुद्ध नेपालले सुधारिएको खेल त पस्कियो नै । हिरो गोल्डकपमा नसोचिएको फाइनलसम्मको यात्रामा प्रशिक्षक खड्काले पनि कमजोरी पत्ता लगाइसकेका छन्, जसलाई सच्याएर उनी आउँदा मार्च १२–२२ सम्म विराटनगरमा हुने पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको उपाधि जित्न चाहन्छन् । अघिल्ला चारमध्ये तीन संस्करणको फाइनल खेलेको नेपालले पहिलोपल्ट साफ वुमेन्स च्याम्पियनसिप आयोजना गर्ने अवसर पाएको हो ।


नेपाली टिम साफमा सधैं भारतको सिकार भइरहेको छ । सुरुका तीनै संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो । चौथो संस्करणको सेमिफाइनलमा पनि नेपालको तगारो भारत नै भयो । सन् २०१४ मा इस्लामाबादमा भएको फाइनलमा भारतले नेपाललाई ६–० ले हराएको थियो । प्रशिक्षक कुमार कटवालले सम्हालेको त्यो टिमको हार दक्षिण एसिायली महरथीविरुद्ध नेपालको सबैभन्दा लज्जास्पद नतिजा हो ।


दक्षिण एसियाली खेलकुद (साग) मा दुईपल्टै फाइनल नेपाल र भारतले खेले । दुवैपल्ट नेपाल रजत पदकमा रोकियो । सन् २०१६ मा सिलोङमा भएको १२ औं सागको समूह चरणमा नेपालले भारतसँग गोलरहित खेल्दै छिमेकीसँगको हार शृंखलालाई ५ खेलमा पूर्णविराम लगाएको थियो । तर नेहरू रंगशालाको फाइनलमा नेपाललाई निरीह तुल्याउँदै भारतले स्वर्णपदक जितेको थियो ।


लगातार असफल भएपछि भारतीय टिमविरुद्ध नेपाली खेलाडीको मनोबल निकै कमजोर भएको थियो । भारतविरुद्ध खेल्नुपर्‍यो भने मैदानमा ओर्लनुपूर्व नेपाली खेलाडीमा हारको मानसिकता हाबी भइसकेको हुन्थ्यो । राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएलगत्तै हरि खड्काले त्यही कमजोरी चिर्दै नेपाली खेलाडीलाई जुनसुकै टिमविरुद्ध पनि आत्मविश्वासी भएर खेल्ने मानसिकता स्थापित गर्ने योजना बनाए । यसमा उनी केही हदसम्म सफल देखिएका छन् ।


प्रशिक्षक खड्काका अनुसार आफ्ना खेलाडीले नोभम्बर, २०१८ मा म्यानमारको राजधानी यांगुनमा भएको ओलम्पिक छनोटको प्रारम्भिक चरणमा भारतविरुद्ध निडर रूप देखाएको थियो । निरु थापाको गोलमा नेपालले अग्रता पनि लिएको थियो । तर पहिलो हाफमै भारतले गोल गरेपछि खेल १–१ मा टुंगिएको थियो । घरेलु टिम म्यानमारविरुद्ध पनि सावित्रा भण्डारीको पेनाल्टी गोलमा नेपालले तेस्रो मिनेटमै अग्रता लिएको थियो । तर १५ मिनेटभित्रै गोल बेहोरेपछि त्यो खेल पनि १–१ मा सकियो ।


भुवनेश्वरमा सावित्राले सात मिनेटभित्र दुई गोल गरेपछि नेपालले भारतविरुद्ध २–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा भारतको चर्को दबाब झेल्नुपरे पनि नेपालले २–१ को ऐतिहासिक जित हात पार्‍यो । ‘भारतलाई उसैको घरमा हराउने सपना थियो । त्यो केटीहरूले पूरा गरिदिए,’ प्रशिक्षक खड्काले भने, ‘त्यही जितले टिमलाई आत्मविश्वासी बनायो र इरानलाई पनि ३–० ले हराउन सक्यौं ।’


भारतविरुद्ध दसौं खेलमा आएर पहिलो जित हात पारे पनि गोल्डकपको पहिलो खेलमा त्यही म्यानमारले नेपाललाई ३–० ले निराश बनाएको थियो । म्यानमारलाई फाइनलमा ३–१ को जित निकाल्न पनि गाह्रो भएन । उपाधि होडको त्यस हारले नेपाली महिला टिमलाई फेरि एकपल्ट उपाधिबाट विमुख पार्‍यो । अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा गर्न थालको ३३ वर्षे यात्रामा नेपालले पाँच फाइनल (३ साफ, २ साग) खेल्यो । तर उपाधि चुम्न भने सकेन । र, हिरो गोल्डकप फाइनलको हारले फेरि एकपल्ट नेपाललाई उपविजेताको छविमै सीमित पार्‍यो ।


प्रशिक्षक खड्का आफ्ना खेलाडीमा दक्षिण एसियामा भरतको एकछत्र वर्चस्व तोड्ने भोक रहेको बताउँछन् । तर भुवनेश्वरमा पराजित गरे पनि भारतलाई अर्को खेलमा पराजित गर्न नेपाललाई त्यति सजिलो छैन । साफ र ओलम्पिक छनोटको तयारीमा भारतले टर्किस कप खेल्ने निश्चित गरिसकेको छ, जहाँ उसले ठूला टिमविरुद्ध खेल्ने अवसर पाउनेछन् । हुन त उसले स्पेन र अमेरिका यात्रा गरेको पनि धेरै भएको छैन । उसको जित यात्रालाई ५ खेलमा पूर्णविराम लगाउने टिम नेपाल नै बन्यो । सावित्राले गोल गर्नुअघि भारतले लगातार चार खेलमा विपक्षीलाई गोल गर्न दिएको थिएन ।


गोल्डकपको फाइनल पुगे पनि आफ्नो टिममा सुधार गर्नुपर्ने थुप्रै ठाउँ रहेको प्रशिक्षक खड्काले बताए । विशेषत: गोल खाएर पनि फर्काउन सक्नेप्रति विश्वस्त भएर खेल्ने र ठूला टिमसँग चर्को दबाब झेल्नसक्ने क्षमता टिमलाई आवश्यक देखिएको छ । नेपाली टिमको मुख्य हतियार रहेकी सावित्रालाई साथ दिने स्तरीय फरवार्डको खाँचो छ । गत वर्ष सुधा थोकर, रीना गुभाजू, नमिता दलीसँगै रोजगारीका लागि दुबई गएकी मिडफिल्डर सजना रानाको अभाव अझै टिममा प्रस्टै देखिन्छ । उस्तै बलियो प्लेमेकर पनि टिमलाई चाहिएको छ ।


ओलम्पिक छनोटको प्रारम्भिक चरणको सफलताको आधार चिनियाँ सुपर लिग क्लब बेइजिङ फोनिक्सविरुद्धको प्रतिस्पर्धाले तय गरेको थियो । नेपालले दोस्रो चरणमा अप्रिलमा उही म्यानमार र भारतसहित इन्डोनेसियाविरुद्ध खेल्दैछ । त्यसअघि साफ च्याम्पियनसिप । नेपाली टिमले भुवनेश्वरबाट फर्केपछि साफका लागि इटहरीमा ‘क्लोज क्याम्प’ गर्दै छ ।


यो टिमलाई स्तरीय प्रतिद्वन्द्वीविरुद्धको खेल आवश्यक छ, जसले साफमा सफलताको खाका कोर्न सक्छ । तर हालसम्म अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफको तयारीमा मैत्रीपूर्ण खेल तय गरेको छैन । महिला टिमको उपविजेता छवि हटाउने हो भने स्तरीय टिमविरुद्ध नियमित खेल्न आवश्यक छ ।

प्रकाशित : फाल्गुन ७, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?