२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सफल पोखरा म्याराथनको १३ औं संस्करण : १० सेकेन्डले स्वर्ण

दीपक परियार

लेखनाथ — सफल पोखरा म्याराथनको १३ औं संस्करणमा विभागीय धावकले वर्चस्व जमाएका छन् । मंगलबार पोखरा रंगशालामा सम्पन्न म्याराथनमा त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल च्याम्पियन भए । 

सफल पोखरा म्याराथनको १३ औं संस्करण : १० सेकेन्डले स्वर्ण

उनलाई पछयाएका एपीएफमा खिमबहादुर खत्री दोस्रो र नेपाल पुलिसका भूमिराज राई तेस्रो भए । प्रतिकूल मौसमका बावजुद भएको म्याराथन निकै प्रतिस्पर्धात्मक बन्यो । केही सेकेन्डको अन्तरमा मात्रै तीन विजेता घोषित भए । अन्तिम विन्दु नजिक सँगै जसो आइपुगे पनि हरिले १० सेकेन्डले बाजी मारे । उनले २ घण्टा ४० मिनेट १० सेकेन्डमा निर्धारित ४२.१९५ किलोमिटर दूरी पार गरे । उनीभन्दा केही पाइला पछाडि परेका खिमले २ घण्टा ४० मिनेट २० सेकेन्डमा दूरी पूरा गरे ।


तेस्रो भएका पुलिसका भूमिराजले २ घण्टा ४१ मिनेट १७ सेकेन्डमा लक्ष्य पूरा गरे । २ घण्टा ४२ मिनेट ५५ सेकेन्डबाट आर्मीका पूर्ण तामाङ चौथो भए । हरि गत वर्ष उपविजेता थिए । अन्नपूर्ण दिवसका अवसरमा गत जेठमा अन्नपूर्ण आधार सिविरबाट घान्द्रुकसम्म भएको म्याराथनमा भने उनले उपाधि जितेका थिए ।


सफल म्याराथनमा पहिलो, दोस्रो, तेस्रो हुने धावकले क्रमश: एक लाख, ७० हजार र ५० हजार रुपैयाँ प्राप्त गरे ।


पुरुष १० किमि दौडमा आर्मीका रामजी बस्नेत, राजन रोकाया र शिवबहादुर रायमाझी शीर्ष तीनस्थानमा विजयी भए । सोही दूरीको महिलातर्फ पुलिसकी राजपूरा पछाई पहिलो, एपीएफकी वृन्दा श्रेष्ठ दोस्रो र आर्मीकी सरिता वंशी तेस्रो भए ।


५ किमि दौड छात्रतर्फ सहिद स्मृति आवासीयका तुलबहादुर घर्तीमगर र छात्रातर्फ बेसलाइन एकेडेमीकी ललिता लामिछानेले उपाधि जिते । ललिताले दोस्रोपल्ट उपाधि जितेकी हुन् । उनीहरूले जनही ५ हजार पुरस्कार पाए ।


पुरुष हिलचियर दौड ४ सय मिटरमा सुरेश गौली पहिलो, भरत अधिकारी दोस्रो र हेमबहादुर गुरुङ तेस्रो भए । महिलातर्फ लक्ष्मी सुनार, अञ्जु बराल र पवित्रा बिक क्रमश: पहिलो, दोस्रो र तेस्रो भए । उनीहरूले क्रमश: ५ हजार, ३ हजार र २ हजार रुपैयाँ जिते । दृष्टिविहीन दौड पनि रोचक बन्यो । १ सय मिटर पुरुषतर्फ ‘बी वान’ मा आदेश बस्याल, सुनील राना, प्रेम क्षेत्री तथा ‘बी टू’ मा दुर्गादत्त पौडेल, आशिष खड्गी र राम गुरुङ शीर्ष तीनस्थानमा विजयी भए ।


दृष्टिविहीन महिलातर्फ ‘बी वान’ मा रीतादेवी थापा, विपना खनाल र माया गौतम तथा ‘बी टू’ तर्फ विनिता पुन, सरिता घिमिरे र सुकु बिक शीर्ष तीनस्थानमा विजयी भए । उनीहरूले क्रमश: ५, ३ र २ रुपैयाँ पाए ।


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ स्वयं धावकसँगै ४ सय मिटर दौडेर म्याराथन उद्घाटन गरेका थिए । म्याराथनमा माछापुच्छ्रे हिमाल आरोहण खुला गर्न नागरिकको तर्फबाट दबाव दिन माछापुच्छ्ेर गाउँपालिका अध्यक्षसहित ५० जनाले सहभागिता जनाए । भलिबलकी पूर्व राष्ट्रिय खेलाडी मन्जु गुरुङ स्तन क्यान्सरविरुद्धको अभियान लिएर दौडिइन् । उनले च्यारिटीमार्फत २ लाख ३ हजार रुपैयाँ संकलन गरेको बताइन् ।


विश्वका विभिन्न देशमा बस्दै आएका नेपाली यसपल्ट म्याराथनमा सहभागिता जनाउन पोखरा आए । पूर्व अन्तर्राष्ट्रिय कीर्तिमानधारी धावक कुसाङ गुरुङको नेतृत्वमा ४० जनाको टोली बेलायतबाट पोखरा आएको थियो ।


अमेरिकाको वोस्टन र हङकङबाट समेत आएका थिए । पोखरा रंगशालाबाट सुरु म्याराथन सहरका विभिन्न भाग परिक्रमापछि रंगशालामा टुंगिएको थियो । भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको म्याराथनमा ५ हजारले सहभागिता जनाएको अध्यक्ष तेज गुरुङले बताए ।

प्रकाशित : फाल्गुन ८, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?