२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

उत्कृष्ट युथलाई अफ्रिकामा मौका

कान्तिपुर संवाददाता

धनगढी — रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट खेल प्रदर्शन गर्ने १४ खेलाडीलाई अभ्यास खेलका लागि दक्षिण अफ्रिका लगिने भएको छ । डीपीएल आयोजक धनगढी क्रिकेट एकेडेमी र स्पोर्ट्स एडले १९ वर्षमुनिका खेलाडीलाई दुई साताको अफ्रिका भ्रमण लैजाने भएको हो ।

उत्कृष्ट युथलाई अफ्रिकामा मौका

डीपीएल इमर्जिङ स्टार्स नाम दिइएको उक्त टोलीले केपटाउनमा ६ म्याच खेल्नेछ । दसैंपछि हुने उक्त भ्रमणको तालिकामा ५० ओभर र दुईदिवसीय खेल पनि राख्न सकिने रायन मरोनले बताए । अफगानिस्तानका ब्याटिङ प्रशिक्षक रहिसकेका मरोन डीपीएलमा सीवाईसी अत्तरियाका प्रशिक्षक छन् भने दक्षिण अफ्रिकी फिल्डिङ स्टार जोन्टी रोड्स टोलीका मेन्टर हुन् ।


उनीहरूले नै आफ्नो राष्ट्रमा नेपाली युवा खेलाडीलाई अभ्यास म्याच खेल्न लैजान लागेका हुन् । रोड्स डीपीएलका सद्भावना दूत पनि हुन् । रोड्स र मरोनले नै डीपीएलबाट उत्कृष्ट १४ खेलाडी (१९ वर्षमुनि) छान्ने छन् । खेलाडीको नाम भने डीपीएलको फाइनल भएको भोलिपल्ट सार्वजनिक गरिने रोड्सले बताए । उनले भने, ‘हामी तथ्यांक मात्रै होइन मैदानभित्रको सबै पाटो हेरेर खेलाडी छान्ने छौं ।’


दक्षिण अफ्रिका भ्रमणका क्रममा कुल ४० लाख खर्च लाग्ने अनुमान गरिएको छ । डीसीएका अध्यक्ष सुवास शाहीका अनुसार खेलाडीसँग कुनै रकम लिइने छैन भने प्रायोजकबाट सबै खर्च उठाइने छ । ’डीपीएललाई १५ दिनमात्र सीमित राख्ने होइन भनेर हामीले जोन्टी रोड्ससँग मिलेर यो अभियान सुरु गरेका छौं । नेपालका युवा क्रिकेटरका लागि यो जरुरी पनि छ,’ उनले भने ।


अत्तरियामा स्पोर्ट्स एडको ३३ प्रतिशत लगानी छ । त्यसका प्रमुख अभिषेक केसीले आफूहरू यू–१९ मा पहिलादेखि नै केन्द्रित हुन खोजेको र त्यहीअनुरुप दक्षिण अफ्रिका जान लागेको बताए । उनले दक्षिण अफ्रिकामै आगामी यू–१९ विश्वकप हुने लागेकाले नेपाली खेलाडीलाई यो भ्रमणले एक्सपोजर दिलाउने विश्वास लिए । स्पोर्ट्स एडले नेपाल स्कुल स्पोर्टससँग मिलेर नोभेम्बरमा रोड्सलाई नेपाल ल्याएको थियो ।


रोड्सले मरोनसँग मिलेर नेपाल यू १९ का क्रिकेटरलाई प्रशिक्षण दिएका थिए । ‘प्रशिक्षण पाएपछि उनीहरू उत्साहित थिएँ, तर १० दिनपछि उनीहरूले के गर्ने केही छैन । ३ महिनाअघि दीपेन्द्र राउतलाई कसैले चिन्दैनथ्यो । हामीले यस्तै युवा खेलाडीको एक्सपोजरका लागि डीपीएलसँग मिलेर दक्षिण अफ्रिका भ्रमणको तालिका बनाएका हौं,’ रोड्सले भने ।


रोड्सले डीपीएल नेपालको सर्वाधिक धनराशिको प्रतियोगिता भएको र त्यहीअनुरुप अन्य पाटोबाट पनि नेपाली क्रिकेट उठ्न जरुरी रहेको बताए ।

प्रकाशित : फाल्गुन ८, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?