डीपीएल क्रिकेट : अत्तरियाको मनोबल उच्च

धनगढी — सीवाईसी अत्तरियाले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा आफ्नो उत्कृष्ट प्रदर्शन कायमै राखेको छ । काठमाडौं गोल्डेन्समाथि मंगलबार ७ विकेटको जित हात पार्दै अत्तरियाले क्वालिफायर्सको औपचारिकता पूरा गरेको हो । 

डीपीएल क्रिकेट : अत्तरियाको मनोबल उच्च

अघिल्लो दिन विराटनगर किंग्समाथिको जितसँगै अत्तरियाको क्वालिफायर्समा स्थान निश्चित जस्तै भए पनि पक्का थिएन । राउन्ड रोबिनको लिगपछि अत्तरियाले सर्वाधिक ८ अंक जोड्यो । प्रतियोगितामा पहिलो हार बेहोरेको काठमाडौंको ७ अंक रहयो । शीर्ष दुई स्थानमा रहेका यी दुई टोली नै बुधबार फाइनल पुग्नका लागि भिड्ने छन् ।


रूपन्देही ६ अंकसाथ तेस्रो र महेन्द्रनगर युनाइटेड ४ अंकसाथ चौथो स्थानमा रहे । रूपन्देही र महेन्द्रनगर इलिमिनेटरमा खेल्ने छन् । यसको विजेताले क्वालिफायर्सको पराजित हुने टोलीसँग फाइनलमा स्थान बनाउन खेल्नेछ । रूपन्देही र महेन्द्रनगरबीच बिहीबार खेल हुनेछ ।


अघिल्लो तीनै खेलमा १ सय ३० भन्दा माथिको स्कोर बनाएको काठमाडौं गोल्डेन्स मंगलबार फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभर खेलेर ७५ रनमा अलआउट भयो । अत्तरियाले १७ ओभरमै लक्ष्य पूरा गर्‍यो । कप्तान दीपेन्द्रसिंह ऐरी ११ बलमा ३ चौका प्रहार गरी २० रनमा अविजित रहे । विजयी चौका प्रहार गरेका सन्दीप जोरा ९ बलमा ७ रन बनाए ।


सुवेन्दु पाण्डे ५ रन बनाई ललितनारायण राजवंशीको बलमा बोल्ड भए । जयकिसन कोल्सावालाले प्रेम तामाङसँग मिलेर अत्तरियाको स्कोरलाई ५० रनमा पुर्‍याए । प्रेम १० रन बनाई सूर्य तामाङको बलमा आउट भए । कोल्सावालाले ३३ रन बनाए । रशिद खानको बलमा आउट हुनुअगाडि उनले ४२ बल खेली ५ चौका प्रहार गरे । अत्तरिया जितभन्दा १३ रन टाढा भएको समयमा उनी आउट भए ।


‘हामीले उनीहरूलाई १ सय रनमुनि रोक्ने लक्ष्य बनाएका थियौं । हाम्रो बलरहरूले राम्रो गरे, सही ठाउँमा बल फाले । हामीले जसरी ब्याटिङ गर्‍यौं, त्यसले हामीलाई उनीहरूको बलरबारे अझ बुझ्ने मौका दियो, खुलेर रन बनाउन सकिन्छ भन्ने देखायो । यसले क्वालिफायर्स खेलका लागि मनोबल उच्च बनाउँछौं,’ अत्तरियाका कप्तान दीपेन्द्रले भने ।


उनी बलिङका कारण म्यान अफ द म्याचमा चुनिए । दीपेन्द्रले २ ओभर बलिङ गर्दै ४ रन खर्चेर ३ विकेट लिए । उनले महबुब आलमलाई आफ्नै बलिङमा उत्कृष्ट क्याच लिई शून्यमा आउट गरी विकेट सुरु गरेका थिए । रामनरेश गिरीले ४ ओभरमा २३ रन खर्चेर २ तथा सन्नी पटेल र भुवन कार्कीले १–१ विकेट लिए ।


काठमाडौंबाट कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३२ रन बनाए । ४९ बल खेलेका उनले २ चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले बाउन्ड्रीलाइनबाट सिधा थ्रोमा रनआउट गरी ज्ञानेन्द्रलाई आउट गरेका थिए । काठमाडौंले दोस्रो र तेस्रो ओभरमा अनिलकुमार शाह र गौरव तोमारलाई गुमाएको थियो । अनिल ५ रन बनाई भुवनको बलमा विकेटकिपरद्वारा क्याच भए । तोमारलाई पटेलले एलबीडब्लू धरापमा पारे । अंकित दबास १० र योगेन्द्रसिंह कार्की १३ रनमा आउट भए ।


त्यसपछि काठमाडौंको लगातार रूपमा विकेट झरेको थियो । ज्ञानेन्द्र आफू सेट भएर स्ट्राइक रेट बढाउन नसकेकोमा दु:खी थिए ।


‘विकेट ब्याटिङका लागि सजिलो थिएन, त्यसमा उनीहरूले धेरै राम्रो बलिङ गरे । हामी खुलेर पनि खेल्न सकेनौं र विकेट दबाबले गर्दा रन पनि बनाउन सकेनौं,’ कप्तान ज्ञानेन्द्रले भने, ‘१ सय १० रन माथिको स्कोर बनाउन सकेको भए खेल प्रतिस्पर्धात्मक हुन्थ्यो होला । हामीले ब्याटिङ राम्रो गर्न नसक्नु नै हारको प्रमुख कारण हो ।’ उनले यस हारले क्वालिफायर्समा कुनै दबाब नथप्ने जनाए ।

प्रकाशित : फाल्गुन ८, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?