कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पुलिस सेमिफाइनलमा

अमृता अनमोल

बुटवल — नेपाल पुलिस क्लब बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मंगलबार पुलिसले पाहुना टोली युनाइटेड दार्जिलिङलाई २–० गोलले पराजित गरेको थियो । 

पुलिस सेमिफाइनलमा

पुलिसको जितमा रवि पासवान र मिलन राईले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा रविले गोल गरेर पुलिसलाई अग्रता दिलाए । चलाखीपूर्ण ढंगमा युनाइटेड खेलाडीको पास उपयोग गरेका रविले पेनाल्टी बक्सभित्रबाट गोल गरे । उनी म्यान अफ द म्याच बने । ६८ औं मिनेटमा रविकै पासमा मिलनले अर्को गोल थपे । मिलन धरान क्लबबाट भर्खरै पुलिसमा भित्रिएका हुन् ।

पहिलो हाफमा दुवै टिम प्रतिस्पर्धात्मक खेले । दोस्रो हाफमा भने पुलिसले रणनीति बदल्यो ।


कप्तान भरत शाह र हेम तामाङको ठाउँमा अनुभवी सुमन लामा र हरि कठायतलाई मैदान प्रवेश गराइयो । खेल आक्रामक बन्यो । यसले युनाइटेड दबाबमा पर्‍यो । यद्यपि गोलकिपर सन्जीव राउत निकै संयमित रूपमा प्रस्तुत भए । यसले पुलिसलाई थप गोल गर्ने अवसर जुरेन । पुसिलसको तर्फबाट हेम तामाङ, मानबहादुर परियार, हरि कठायत र सुमन लामाले गरेका आकर्षक प्रयास गोलकिपर सन्जीवले विफल तुल्याइदिए ।


खेलको २३ औं मिनेटमा रवि र ३२ औं मिनेटमा मिलनको प्रहार बारमा लागेर बाहिरियो । सुरुआतमा निकै राम्रो खेल पस्केको पाहुना टोली युनाइटेडले आफ्नो रफ्तार टिकाउन सकेन । पहिलो हाफमा तीव्र गतिमा खेलेका युवा खेलाडी विस्तारै थकित देखिए । फलस्वरुप गोल गर्न पाएको सुनौला अवसर पनि सदुपयोग गर्न सकेन । युनाइटेडबाट १७ औं मिनेटमा मनोज केसीले हानेको प्रहार पोस्टमा लागेर बाहिरियो । २७ औं मिनेटमा कप्तान गणेश लिम्बूको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले रोकिदिए ।


३१ औं मिनेटमा अर्मेश गुरुङको प्रहार भने पोस्टमा लागेर फर्किएको थियो । खेललाई लयमा फर्काउन युनाइटेडले दोस्रो हाफमा दुई खेलाडी परिवर्तन गर्‍यो । इन्द्रियात क्षत्रीको ठाउँमा शिव रावत र अर्मेश गुरुङको ठाउँमा राज सुब्बालाई मैदान छिराइएको थियो । यद्यपि गोल फर्काउन नसक्दा पाहुना टोली पहिलो चरणबाटै बाहिरिनुपर्‍यो ।


युनाइटेडका व्यवस्थापक जेसन लेप्चाले पहिलोपल्ट नयाँ मैदानमा नयाँ खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्दा जम्न नसकेको बताए । भुटानमा भएको प्रतियोगितामा समेत सहभागिता जनाएकाले अनुभवी खेलाडी बाँडिनुपरेको र युवा टिमको भरपर्दा खेल केही फितलो भएको उनको दाबी छ ।


पुलिसका प्रशिक्षक अनन्त थापाले भने ठूलो प्रतिस्पर्धाबीचमा जित निकालेको बताए । तालमेल नमिलेका युवा खेलाडी लिएर मैदानमा छिरेको पुलिसका लागि पहिलो हाफ सोचेजस्तो नभएको उनले बताए । ‘दोस्रो हाफमा विपक्षीको रणनीति बुझेर खेल्यौं,’ उनले भने, ‘त्यही उपायले जित निकाल्यो ।’


पुलिसले फागुन ११ मा च्यासल र मनाङबीचको विजेतासँग सेमिफाइनलमा खेल्नेछ । बुधबार डफिन्स एफसी क्यामरुन र झापा–११ बीच खेल हुनेछ ।

प्रकाशित : फाल्गुन ८, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?