नेपालको सुरुआती जित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली महिला क्रिकेट टोली थाइल्यान्ड जानुअघि नेपालका मुख्य प्रशिक्षक विनोद दासले टिमको आत्मविश्वास सुधारमा समय खर्चिएको बताएका थिए । यही टोलीले आईसीसी ट्वान्टी–२० र एकदिवसीय महिला विश्वकप यात्राको पहिलो खुट्किलोको रूपमा रहेको एसियाली छनोटको पहिलो खेलमा मलेसियालाई ३४ रनले हराउँदा नेपालको ब्याटिङमा उल्लेख्य सुधार आएको देखिएको छ । 

नेपालको सुरुआती जित

बैंककको टर्डथाई मैदानमा नेपाली कप्तान रुबिना क्षेत्रीले टस जितेर ब्याटिङको निर्णय गरिन् । नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय २७ रनको योगफल बनायो । पहिलो विकेटमा काजल श्रेष्ठ र सीता रानामगरले ४६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाए ।

काजल १६ रनमा आउट भइन् । त्यसपछि आएकी इन्दु वर्माले १३ रनमात्र बनाउन सकिन् ।


नेपालले ७१ रनको स्कोरमा दोस्रो विकेट गुमाएको हो । तेस्रो विकेटमा कप्तान रुबिनाले सीतासँग २५ रनको साझेदारी गरिन् । ४० बलमा २ चौका सहयोगमा ४२ रन बनाएर सीता रानामगर आउट भइन् ।


नेरी थापा ६ रनमा रनआउट भइन् भने ममता चौधरी एक बल खेल्न नपाई रनआउट भइन् । कप्तान रुबिनाले २५ बलमा ३ चौका सहयोगमा अविजित ३३ रन बनाइन् । सरिता मगर एक रनमा अविजित रहिन् ।


१ सय २७ रनको लक्ष्य पछयाएको मलेसियाले ७ विकेट क्षतिमा ९२ रनमात्र बनाउन सक्यो । कप्तान विन्फ्राइड दुरासिंघमले ३० बलमा १८, क्रिस्टिना बरेटले २९ बलमा २१ र सासा अज्मीले २२ बलमा १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका करुणा भण्डारी र सरिता मगरले २–२ विकेट लिए । कविता कुँवर र सीता रानामगरले १–१ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेकी सीता प्लेयर अफ द म्याच चुनिइन् । नेपालले दोस्रो खेल बिहीबार थाइल्यान्डसँग खेल्नेछ ।


एसोसिएट राष्ट्रमध्ये उत्कृष्ट टोली थाइल्यान्डविरुद्धको खेल नेपालका लागि निर्णायकजस्तै हुनेछ । नेपालले मुख्य प्रतिद्वन्द्वी मानेको थाइल्यान्डविरुद्धको खेलमा जित हासिल गरे नेपालको ट्वान्टी–२० र एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा नेपालको छनोट सहज हुनेछ ।


प्रकाशित : फाल्गुन ८, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?