३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

रोहित फेरि एक वर्ष पर्सिजामा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका स्टार मिडफिल्डर रोहित चन्द इन्डोनेसियन क्लब पर्सिजा जकाताबाट निरन्तर खेल्ने भएका छन् ।इन्डोनेसियाको उच्च श्रेणी ‘लिग वन’ क्लबसँग रोहितको नयाँ अनुबन्धबारे उनका एजेन्टले बताए ।

रोहित फेरि एक वर्ष पर्सिजामा

पछिल्लो सिजन (सन् २०१८) को लिग वनमा पर्सिजालाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रोहित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी पनि भएका थिए । यस अवार्ड जित्ने पहिलो एसियाली खेलाडी रहेका रोहितको नयाँ अनुबन्धबारे उनका एजेन्ट डा. रत्न मुस्टिकाले भनिन्,‘हो, हिमालयन टाइगर (रोहित) पर्सिजामा फर्किदै छन् । यसमा सबै खुशी छन् ।’


‘पर्सिजासँग थप एक सिजनको लागि सहमति भएको हो । सम्झौता जकार्ता पुगेपछि हुनेछ,’ २६ वर्षीय रोहितले भने । उनी बुधबार बेलुकी जकार्ता जाँदैछन् । चोटको कारण एक सिजन मैदानबाहिर रहे बाहेक सन् २०१३ यता पर्सिजाबाट खेलिरहेका छन् । पर्सिजाले गत वर्ष एएफसी कपको नकआउट चरणको यात्रा गरेको थियो भने लिगअघि इन्डोनेसियन कपको उपाधि पनि जितेको थियो । दुवैमा रोहितको प्रदर्शन उत्कृष्ट रहेको थियो ।


लिग वन सकिए लगत्तै रोहित डिसेम्बर, २०१८ मा स्वदेश फर्किएका थिए र वर्षको अन्त्यसँगै उनको पर्सिजासँगको अनुबन्ध पनि समाप्त भएको थियो । उनी अस्ट्रेलियाली लिगमा जाने पर्सिजाकै टिम व्यवस्थापकले इन्डोनेसियाली मिडियासँग बोलेपछि रोहितको भविष्य अनिश्चित भएको थियो ।


पर्सिजाले उनको स्थानमा उज्वेकिस्तानी मिडफिल्डर जहोंगिर अब्दुमोमिनोभलाई अनुबन्ध पनि गर्‍यो । तर, पर्सिजा समर्थकले निरन्तर रोहितको पक्षमा आवाज उठाइरहे । एएफसी च्याम्पियन्स लिगको छनोट र अहिले भइरहेको इन्डोनेसियन कपमा राम्रो नतिजा आएन । त्यसैले पर्सिजाले फेरि रोहितलाई बोलाएको बताइएको छ ।

प्रकाशित : फाल्गुन ८, २०७५ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?