१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेपालको यात्रा कठिन

कान्तिपुर संवाददाता

काठमाडौँ — नतिजा उही दोहोरियो । जुन नेपाललाई डर थियो । गत महिना थाइल्यान्ड वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेटको फाइनलमा ७० रनको हार बेहोरेपछि नेपालले टान्टी–२० र एकदिवसीय विश्वकपको एसियाली छनोटका लागि थाइल्यान्डलाई नै मुख्य प्रतिद्वन्द्वी मानेर तयारी गरेको थियो । 

नेपालको यात्रा कठिन

नेपाली महिला टोलीको बिहीबार थाइल्यान्डसँग उसकै बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा ५७ रनले पराजित भएसँगै विश्वकपको ग्लोबल क्वालिफायर प्रवेशको सम्भावना न्युन बनेको छ । १ सय २५ रनको लक्ष्य पछ्याएको नेपालको ब्याटिङ यसपालि पनि कमजोर देखियो ।


एसोसिएट टोलीमध्ये उत्कृष्ट प्रदर्शन गरेको थाइल्यान्डलाई नै लक्षित गरी मुख्य प्रशिक्षक विनोद दासले तयारी गरेका थिए । ब्याटिङमा सुधारको प्रयास गरिएको थियो भने टिमको आत्मविश्वास जगाउन प्रशिक्षकले धेरै समय खर्चेका थिए । तर निर्णायक खेलमा नेपालको न ब्याटिङ देखियो न आत्मविश्वास । थाइल्यान्डलाई कम स्कोरमा रोक्न पनि नेपाली बलर असमर्थ भए ।


सन् २०२० मा हुने ट्वान्टी–२० विश्वकप र सन् २०२१ मा हुने एकदिवसीय विश्वकपको सुरुआती छनोट प्रक्रियामा सहभागी भएको नेपाली टोली पहिलो चरणबाटै बाहिरिने सम्भावना प्रवल भएको छ । सात टोलीसम्मिलित यस प्रतियोगिताबाट शीर्ष टोलीले ग्लोबल क्वालिफायर खेल्ने अवसर पाउँछ । नेपाल र थाइल्यान्डले बाँकी सबै खेल जितेको अवस्थामा पनि थाइल्यान्ड शीर्षस्थानमा रहँदै ग्लोबल क्वालिफायरमा पुग्नेछ ।


टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । थाइल्यान्डका मध्य क्रमका ब्याट्सवुमनलाई रोक्न नेपाली बलर असफल भए । थाइल्यान्डकी चानिदा सुथिरुआङले सर्वाधिक ३५ रन बनाइन् । नारुमोल चाइवाईले ३२ र वङपाका लिंगप्रासर्टले अविजित २८ रन बनाए । नेपालबाट कविता कुँवर र नेरी थापाले २–२ विकेट लिए । कप्तान रुबिना क्षेत्री र करुणा भण्डारीले १–१ विकेट लिए ।


१ सय २५ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेट गुमाएर ६७ रनमात्र बनाउन सक्यो । ट्वान्टी–२ स्म्यासमा ५१ रनमै समेटिएको नेपाल यसपालि केही सुधारिएको त देखियो तर पर्याप्त भएन । ओपनर काजल श्रेष्ठ र रोमा थापाले १–१ रनमात्र बनाउन सके । तेस्रो नम्बरमा आएकी इन्दु बर्माले २९ रन बनाइन् ।


उनले ४४ बल खेलेर १ चौका प्रहार गरिन् । मलेसियाविरुद्धको पहिलो खेलमा ओपनिङमा आएकी सीता राना मगरले पाँचौं नम्बरमा ब्याटिङ गरी १८ रन बनाइन् । अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।


नेपालले शुक्रबार आफ्नो तेस्रो खेल यूएईविरुद्ध खेल्नेछ ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?