१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

च्यासलको सनसनी

अमृता अनमोल

बुटवल — भ्याली च्यासल युथ क्लबले मनाङ मर्स्याङदी क्लबलाई स्तब्ध पार्दै बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । 

देवीनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा बिहीबार च्यासलले मनाङलाई १–० ले पराजित गरेको थियो । च्यासलको जितमा विदेशी खेलाडी अर्मड बेर्डमले गोल गरेका थिए ।


उनले ४८ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । दोस्रो हाफपछिको खेलमा विपक्षी टिम सेट हुन नपाउँदै तेस्रो मिनेटमै हेमन्त थापामगरको पासमा अर्मडले गोल गरेका थिए । सहिद स्मारक लिग विजेता मनाङ भने पहिलो खेलबाट घर फर्केको छ ।


एक गोलको अग्रतासँगै हौसिएको च्यासलसँग बराबरी गर्न मनाङले अन्तिम समयसम्म प्रयास गरिरह्यो । तर गोल फर्काउन सकेन । विराज महर्जन, भिक्टर अम्बी, हेमन गुरुङ, भिक्टर अमोबी, एफ्रिज ओलाना, प्रकाश बुढाथोकीले गरेका प्रहारलाई च्यासलका गोलकिपर दिनेश थापामगरले विफल तुल्याइदिए ।


मनाङको खेलमा अनुभवी खेलाडीको अभाव खटकयो । इन्ज्युरीका कारण विशाल राई, अन्जन विष्टलगायत आराम गरिरहेका छन् । सरोज योन्जनलगायतका नयाँ खेलाडीले राम्रो प्रस्तुति दिन सकेनन् । खेलको अन्तिम समयमा विमल रानाको स्थानमा शिव श्रेष्ठलाई मैदानमा प्रवेश गराए पनि त्यो रणनीति काम लागेन । हेमन, विदेशी खेलाडी ओलावाले अफिज र प्रकाश बुढाथोकीले दोस्रो हाफमा गरेका प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।


मनाङका प्रशिक्षक सुमन श्रेष्ठले योजनाअनुसार पहिलो हाफमा स्कोर निकाल्न नसक्दा खेलमा हार बेहोर्नुपरेको बताए । शक्ति र सन्तुलन मिलाए पनि युवा खेलाडीको फिनिसिङ र विपक्षी टिमको निसाना नबुझ्दा समस्या भएको उनले बताए ।


‘इन्जुरीबाट आराम हुँदै गरेका ३/३ जना खेलाडी एएफसी कपको तयारीका लागि बस्नु र नयाँ भित्र्याएका खेलाडीले उत्कृष्ट खेल नपस्कनु हारको प्रमुख कारण बन्यो,’ उनले भने, ‘अबको खेलमा नयाँ खेलाडीबारे विचार गर्नुपर्ने देखियो ।’ च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले निकै प्रतिस्पर्धा र डरका बीचमा जित निकालेको बताए ।


‘खेलका हिसाबले मनाङ अत्यन्तै आक्रामक थियो । यद्यपि, हाम्रा खेलाडीले बललाई कब्जामा राख्न सफल भए,’ उनले भने, ‘यही चलाखीले जित निकाल्न सफल भए ।’ खेलको अन्तिम समयसम्म पनि विपक्षी टिमले पाएका सुनौला अवसर किपरको चलाखीले खेर जानु जितको अर्को कारण भएको उनले बताए ।


च्यासलका गोलकिपर दिनेश थापामगर म्यान अफ द म्याच बने । विजेता च्यासलले शनिबार नेपाल पुलिस क्लबसँग खेल्नेछ । यसअघि सीएमजी संकटालाई २–० ले पराजित गरेर च्यासल क्वाटरफाइनलमा पुगेको थियो ।


शुक्रबार आयोजक लाली रूपन्देही–११ र क्यामरुनी टोली डफिन्स फुटबल क्लबबीच पहिलो सेमिफाइनल हुँदै छ । आयोजकले यसअघि सुनसरी–११ लाई सडनडेथमा हराएको हो । डफिन्सले भने झापा–११ लाई ५–० ले पराजित गरी सेमिफाइनल तय गरेको थियो ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?