२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सिटीको संघर्षपूर्ण जित

एएफपी

जर्मनी — म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले साल्केविरुद्ध पाएको ३–२ गोलको कठिन जितबाट केही नसिक्ने हो भने यस सिजन च्याम्पियन्स लिगको उपाधि जित्न नसक्ने बताएका छन् ।

सिटीको संघर्षपूर्ण जित

‘जबसम्म हामी सुध्रिँदैनौं तबसम्म यस प्रतियोगितामा धेरै अगाडि जान सक्दैनौं,’ प्रशिक्षक ग्वार्डिओलाले भने, ‘अन्त्यतिर लेरोय साने र रहिम स्टर्लिङले क्षमता देखाएपछि हामीले नतिजा फरक पार्न सक्यौं । यो नतिजा अविश्वसनीय रूपमा राम्रो हो । तर हामीले दुई पेनाल्टी र एक रातो कार्ड बेहोर्‍यौं, त्यसैले हामी च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्न अझै तयार छैनौं ।’


२–१ ले पछि परेको अवस्थामा निकोलस ओटामेन्डी रातो कार्ड खाँदै बाहिरिएपछि अन्तिम २२ मिनेट सिटी समस्यामा परेको थियो । तर साने र स्टर्लिङले अन्तिम ५ मिनेटभित्र २ गोल गरेपछि च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा सिटी अवे जित निकाल्न सफल भयो ।


सर्जियो अगुइरोले १७ औं मिनेटमै गरेको गोललाई पछि पार्दै पहिलो हाफमा साल्के पेनाल्टीमा दुई गोल गर्न सफल भयो । दुवै पेनाल्टीमा भिडियो असिस्टेन्ट रेफ्री (भार) को सहारा लिइएको थियो । दुवैपल्ट नविल बेन्टलेबले गोल गरेका थिए ।


अगुइरोलाई प्रतिस्थापन गरेका सानेले मैदान छिरेको ७ मिनेटपछि नै सानदार फ्रिकिकमार्फत आफ्नो पूर्व क्लबविरुद्ध महत्त्वपूर्ण गोल गरे । सन् २०१६ मा सिटीमा अनुबन्ध भएयता उनले पूर्व क्लबविरुद्ध पहिलो गोल गरेका हुन् ।

‘म त्यही पोजिसनबाट शुट गर्न चाहन्थें किनभने मैले पहिले पनि त्यहाँबाट गोल गरेको छु । त्यो गोलले हामीलाई आत्मविश्वास थप्यो, जसले जित दिलायो,’ जर्मन स्टार सानेले भने, ‘हामीले सुरुआत राम्रो गर्न सकेनौं, तर खुसीको पक्ष हामीले जित्न सक्यौं । तीन अवे गोल वास्तवमै उत्कृष्ट हो ।’


मार्च १२ मा हुने दोस्रो लेगमा सिटीले बढी कसरत गर्नुपर्नेछ । किनभने दुई पहेँलो कार्डका कारण फर्नान्डिन्हो र रातो कार्डका कारण ओटामेन्डी एक खेलको निलम्बनमा हुनेछन् ।


प्राविधिक त्रुटीका कारण साल्केको पहिलो पेनाल्टीका लागि ओटोमेन्डीको ह्याण्ड बल जाँच गर्न म्याच रेफ्रीलाई ३ मिनेटभन्दा अधिक समय लाग्यो । ग्वार्डिओला आफू भारको प्रशंसक भए पनि त्यसमा सुधार आवश्यक रहेको मान्छन् । उनले भने, ‘भार समयको जरुरी हो तर त्यसलाई सुधार गर्नुपर्छ । सम्भवतः त्यो सुधार हुनेछ । म प्रविधिको समर्थक हुँ, किनभने रेफ्रीलाई सहयोग आवश्यक छ ।’


प्रिमियर लिगको शीर्ष टोलीविरुद्ध अग्रता बनाएर युरोपकै चर्चित जित हासिल गर्न चुकेको साल्केका प्रशिक्षक डोमेनिको टेडेस्कोले निरासा लुकाउन सकेनन् । ‘यो हार वास्तवमै निराशाजनक हो,’ बुन्डेसलिगामा रेलिगेसन जोनको ठीक माथि रहेको साल्केका प्रशिक्षकले भने, ‘महत्त्वपूर्ण यो छ कि हामीले यो हारबाट सिक्ने छौं । पेनाल्टीमै भए पनि हामीले २ गोल गर्‍यौं, हामी केही स्थितिमा चतुर हुनु आवश्यक छ ।’


रोनाल्डोको यात्रामा एट्लेटिको बाधक

युभेन्ट्सबाट क्रिस्टियानो रोनाल्डोको च्याम्पियन्स लिग यात्रा बुधबार राति रोकिएको छ । किनभने युभेन्ट्सविरुद्ध एट्लेटिको म्याड्रिडले घरेलु मैदान वान्डा मेट्रोपोलिटिनोमा भएको अन्तिम १६ को पहिलो लेगमा २–० को रोमान्चक जित निकाल्यो ।


रोनाल्डो स्पेनिस राजधानी फर्किएका थिए । जहाँ उनले यस प्रतियोगितामा रियल म्याड्रिडबाट सर्वाधिक सफलता पाएका थिए । तर जोसे जिमिनेज र डिएगो गोडिनको गोल मदतमा रियलको प्रतिद्वन्दी एट्लेटिकोले उत्कृष्ट जित हासिल गर्‍यो । यो जितले एट्लेटिकोको क्वाटरफाइनल यात्रा निकै सहज बनाएको छ ।


‘अहिलेसम्म हामी अर्को चरणमा पुगिसकेका छैनौं,’ एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले भने, ‘हामीले अझै अर्को खेल खेल्नु छ र हामीलाई थाहा छ त्यो निकै कठिन खेल हुनेछ ।’


‘भाग्यवश हामीले तेस्रो गोल खाएनौं,’ युभेन्ट्सका प्रशिक्षक मासिमिलानो एलेग्रीले भने, ‘किनभने २–० को नतिजामा हामी फर्कन सक्छौं, हाम्रो खेल सकिएको छैन ।’ कुनै पनि टिमका लागि अन्तिम १६ मा हार बेहोर्नु अकल्पनीय हुन्छ । एट्लेटिकोका लागि त अझै बढी । किनभने उनीहरूलाई थाहा छ कि जुन १ मा प्रतियोगिताको फाइनल यहीं हुनेछ, उनीहरूको आफ्नै मैदानमा ।


युभेन्टसले युरोपको मुख्य प्रतियोगिता उपाधिका लागि २३ वर्षदेखि प्रतीक्षा गरिरहेको छ । यसपल्ट च्याम्पियन्स लिग इतिहासकै सबैभन्दा प्रभावशाली खेलाडीको साथमा उनीहरूको आत्मविश्वास बढेको छ ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?