३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

आहा–रारा गोल्डकप : सहारा सडनडेथमा पराजित

दीपक परियार

लेखनाथ — विभागीय क्लब एपीएफले १७ औं आहा(रारा गोल्डकप फुटबलको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई सडन डेथमा पराजित गरेको छ । 

आहा–रारा गोल्डकप : सहारा सडनडेथमा पराजित

पोखरा रंगशालामा बिहीबार निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि थप ३० मिनेटमा दुवै टिमबाट कुनै गोल हुन सकेन । खेल पेनाल्टी सुटआउटमा पुग्यो । ५–५ पल्टको पेनाल्टी प्रहारमा ४–४ गोल हुँदा निर्णय सडन डेथमा गएको हो । सडन डेथमा सहाराका अञ्जन देवकोटाको प्रहार विपक्षी गोलकिपर रोमन रसाइलीले बचाए ।


रसाइलीको यसअघि पेनाल्टी प्रहारमा चुकेका थिए । उनको फितलो प्रहार सहाराका गोलकिपर लक्कीकुमार कार्कीर्ले बचाएका थिए । अञ्जनको पेनाल्टी रोक्दै उनले खेल सुधार्ने मौका पाए । एपीएफका बुद्धिमान राईले गोल गरेपछि टोलीको जित निश्चित भयो ।


पेनाल्टी शुटआउटमा एपीएफका कप्तान सुदीप सिख्राकार, आशिष लामा, सन्तोष कटुवाल र बिक्की लामाले गोल गरे । सहाराका अनिल गुरुङ, साहीद एनिफोवज, पदम भट्टराई र विष्णु गुरुङको पेनाल्टी गोलमा परिणत भयो । कप्तान सुशील लामाको प्रहार विपक्षी गोलकिपर रोमनले बचाए । अञ्जनले धरानमा भएको बुढासुब्बा गोल्डकपमा पुलिससँगको सडन डेथमा निर्णायक गोल गर्न चुक्दा सहारा घर फर्कनुपरेको थियो ।


एपीएफका गोलकिपर रोमनलाई प्रशिक्षक रत्नकाजी महर्जनले अतिरिक्त समयको अन्तिममा मैदान छिराएका थिए । खेल पेनाल्टी शुटआउटमा जाने निश्चित भएपछि पहिलो रोजाइका गोलकिपर अमृत चौधरीलाई बेन्चमा डाकेर रोमनलाई पठाएको फाइदा एपीएफले लियो ।


पेनाल्टी शुटआउटमा विपक्षीको प्रहार बचाएपछि हौसिएका उनले अन्तिम पेनाल्टी आफैंले हाने । गोल गर्दा जित निश्चित भए पनि उनी असफल हुँदा सडन डेथमा धकेलिन पुग्यो । सडन डेथमा विपक्षीको पहिलो प्रहार रोकेपछि भने उनको मुहारमा चमकता देखियो । बुद्धिमान राईले गोल गरेर एपीएफलार्ई जिताएपछि रोमन मैदानमा खुसीको आँसु झारे । उनी म्यान अफ दी म्याच भए ।


एपीएफ प्रशिक्षक रत्नकाजी महर्जनले गोलकिपर परिवर्तन गर्ने रणनीति सफल भएको प्रतिक्रिया दिए । ‘रोमन पेनाल्टी शुटआउटका लागि एक्सपर्ट गोलकिपर हो,’ उनले भने, ‘त्यसैले खेलको अन्तिममा परिवर्तन गर्‍यौं । परिणाम पनि हाम्रै पक्षमा आयो ।’ एपीएफले दुई साताअघि मनकामना केबुलकार पोखरा कपको उद्घाटन खेल जित्दै फाइनलसम्म याक्रा तय गरेको थियो ।


त्यसो त खेलमा सहाराले सुरुआती अग्रता नलिएको होइन । आत्रामक खेलेको सहाराको तर्फबाट १७ औं मिनेटमा विनोद गुरुङले गोल गर्दै घरेलु दर्शकलाई खुसी दिलाए । तर उक्त खुसी एक मिनेट पनि टिक्न सकेन । उतिखेरै एपीएफले कमब्याक गर्‍यो ।


१८ औं मिनेटमा एपीएफले सेन्टरबाट चलाएको बल सहाराका खेलाडीलाई छुन नदिई आशिष लामाले गोलमा परिणत गरे । रमेश दंगालको लामो पास सदुपयोग गर्दै उनले विपक्षी गोलकिपर अगाडि बढेको अवस्थामा वान टु वानमा गोल गरे ।


सहाराका प्रशिक्षक प्रल्हाद हिराचनले आफ्ना डिफेन्सको कमजोरीले उक्त गोल खानुपरेको बताए । ‘आक्रामक खेल थियो, लिड पनि हामीले गरेका थियौं,’ उनले भने, ‘डिफेन्सको सानो कमजोरीले हार बेहोर्नुपर्‍यो ।’


प्रतियोगितामा तीन विभागीय टोली त्रिभुवन आर्मी, एपीएफ, नेपाल पुलिस, मनाङ, धरान क्लब, थ्रीस्टार, हिमालयन शेर्पा, डफिन्स टिम फेमिली र युनाइटेड सिक्किम फुटबल क्लब सहभागी छन् । बुटवलमा तिलोत्तमा गोल्डकप भइरहेकाले प्रतियोगिताको टाइसिट प्रकाशित हुनसकेको छैन । शुक्रबार हिमालयन शेर्पा र धरान भिड्दै छन् ।

विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट खेलाडीले अप्रिला स्कुटर र सर्वाधिक गोलकर्ताले २५ हजार तथा विधागत उत्कृष्टले १५–१५ हजार प्राप्त गर्नेछन् ।


किरण चेम्जोङलाई सम्मान

सहारा क्लबले उद्घाटनका अवसरमा उत्कृष्ट फुटबलरको सम्मानबाट किरण चेम्जोङलाई सम्मान गरेको छ । राष्ट्रिय टोलीका गोलकिपर किरणलाई ३५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । उनलाई पर्यटनमन्त्री रवीन्द्र अधिकारीले दोसल्ला ओढाएर सम्मान गरे ।


कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष खेमबहादुर गुरुङले रकम प्रदान गरे । जिल्ला फुटबल संघ कास्कीलाई क्लबले दुई लाख रुपैयाँ हस्तान्तरण गरेको छ । फुटबल मैदान मर्मत सम्भार गरेकाले उक्त रकम सहयोग गरेको सहाराले जनाएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?