२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

अन्तिम ओभरको रोमाञ्च

महेन्द्रनगर क्वालिफायर्स २ मा 
विनोद पाण्डे, मोहन बुढाऐर

धनगढी — नाटकले भरिएको अन्तिम ओभरलाई पन्छाउँदै महेन्द्रनगर युनाइटेड रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल पुगेको छ । राउन्ड रोबिन लिगबाट मुस्किलले प्लेअफमा पुगेको महेन्द्रनगरले बिहीबार इलिमिनेटरमा रूपन्देही च्यालेन्जर्सलाई १ रनले पराजित गर्‍यो ।

अन्तिम ओभरको रोमाञ्च

१ सय १६ रनको लक्ष्य पाएको रूपन्देहीलाई अन्तिम २ ओभरमा जितनिम्ति १८ रन आवश्यक थियो । सागर ढकालले फालेको १९ औं ओभरमा १३ रन जोड्दा रूपन्देही जित नजिक देखिएको थियो । तर त्यही ओभरमा सागरले विनोदलाई २३ रनमा कप्तान शरद भेषावकरबाट क्याच गराएका थिए ।


अविनाश बोहराले फालेको अन्तिम ओभरको पहिलो बलमा कुनै रन बनाउन नसकेका कप्तान वसन्त रेग्मीले दोस्रो बलमा १ रन लिए । प्रदीप ऐरीले तेस्रो बलमा कुनै रन लिन सकेनन् । त्यसपछि रूपन्देहीले लगातार तीन विकेट गुमायो । प्रदीप चौथो बलमा दोस्रो रन लिनेक्रममा रनआउट भए । विक्रम सोबले पहिलो बलमै बाउन्ड्रीलाइनमा रोहित पौडेललाई क्याच दिन पुगे । अन्तिम बलमा तीन रन बनाउनुपर्ने अवस्थामा वसन्त २ रन लिने चक्करमा रनआउट भए ।

अविनाशले अन्तिम ओभरमा ३ रनमात्र दिएपछि रूपन्देहीले ९ विकेट गुमाई १ सय १४ रनमात्र बनाउन सक्यो । म्यान अफ द म्याच अविनाशले ४ ओभरमा १३ रनमात्र खर्चेर २ विकेट लिए । प्रतियोगितामा पूर्ण असफल रहँदै आएका प्रदीपले २० बलमा २८ रन बनाए । उनले ४ चौका प्रहार गरे । विनोदले १ चौका र १ छक्का प्रहार गरी २१ बलमा २३ रन जोडे ।


बाबर हायत र सन्दीप सुनारले रूपन्देहीलाई संयमित सुरुआत गराए । हायतको कलमा सन्दीप १४ रनमा रनआउट भए । बाबरले २९ बलमा २८ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे । क्रिज छाडेर खेल्न खोजेका उनलाई अविनाशले योर्कर बलमा बोल्ड गरे ।


सुमित महर्जनले १० रन जोडे । पुनीत मेहरा ६ र भीम सार्की (०) एकै ओभरमा आउट भए । महेन्द्रनगरका मोहम्मद नाभेद, सागर ढकाल र सिद्धान्त लोहनीले १–१ विकेट लिए । राउन्ड रोबिन लिगमा रूपन्देहीले महेन्द्रनगरमाथि यस्तै नाटकीय खेलमा २ रनको पाएको थियो ।


महेन्द्रनगरले शुक्रबार हुने दोस्रो क्वालिफायरमा काठमाडौं गोल्डेन्सको सामना गर्नेछ । विजेताले शनिबार सीवाईसी अत्तरियाविरुद्ध फाइनल खेल्नेछ । ‘प्रतियोगिताका अधिकांश खेलहरू अन्तिम ओभरमा गएका छन् । त्यस हिसाबमा १ रनले जित्दा हामी भाग्यमानी हौं आजको खेलमा । तर हामीले राम्रो योगदान दिएका थियौं । अन्तिम ओभर पुगे पनि आस मरेको थिएन । पछिल्लो पटक पनि हामी यस्तै खेलमा हारेका थियौं । त्यसमा अविनाशको अन्तिम ओभर बाँकी थियो र जे पनि हुनसक्थ्यो,’ शरदले भने, ‘अविनाशले खेलमा फरक ल्याए । उनी नेपालका डेथ बलर हुन् । उसको क्षमताबारे सबैलाई थाहा छ । यो विकेटमा प्रमुख बलरलाई रन हान्न सजिलो छैन । तर अन्तिम ओभरमा ५ रन रोक्न सक्नु उत्कृष्ट प्रदर्शन हो ।’ अघिल्लो महिनामात्र नेपालले यूएईसँगको ट्वान्टी–२० शृंखला जित्दा अविनाश म्यान अफ द सिरिजमा चुनिएका थिए । अविनाशले अन्तिम ओभरअगाडि मनमा केही कुरा नखेलेको र कप्तानले भनेबमोजिम बलिङ गरेको जनाए ।


‘मैदान हेर्दा कटर बल गर्दा नै उपयुक्त हुने देखेर त्यही प्रयास गरिरहेको थिएँ । अन्तिम ओभरमा ५ रन दिँदैन भन्नेमा म निश्चित थिएँ । मलाई आफूमाथि विश्वास थियो,’ अविनाशले भने, ‘मैले १९ ओभर नै बलिङ गर्नुपर्छ होला भनेर सोचिरहेको थिएँ । त्यो ओभरमा अलिक कम रन दिएको भए अन्तिम ओभरलाई सजिलो हुन्थ्यो । सागरले अरु खेलहरूमा राम्रो गरिरहेको थियो, त्यही भएर कप्तानले उसलाई दिएको हुनसक्छ । राम्रै पनि भयो ।’


फाप्ला क्रिकेट मैदानमा यसअघि टस जितेर ब्याटिङ रोजेको महेन्द्रनगरले २० ओभर खेल्दै ९ विकेट गुमाई १ सय १५ रन बनाएको थियो । दिलीप नाथलाई इनिङ्सको दोस्रो बलमै ललितसिंह भण्डारीले आउट गरे । आनन्द सुब्रमन्यम्ले २०, मोहम्मद नाभेदले १८, आरिफ शेखले ११ रन बनाए । शरद ३८ बलमा २९ रन बनाई अविजित रहे । उनले २ चौका प्रहार गरे । रोहित २ र सिद्धान्त लोहनी शून्यमा आउट भए । अमरसिंह राउटेलाले २० बलमा १ चौका र १ छक्का प्रहार गरी १९ र अविनाशले ५ बलमा २ चौका प्रहार गरी ११ रन बनाए ।


देब्रेहाते मध्यम गतिका बलर ललितले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । एकै ओभरमा आरिफ, रोहित र सिद्धान्तलाई आउट गरेका पुनीत मेहराले कुल ४ ओभर बलिङ गर्दै २६ रन खर्चे । पहिलो दुई ओभर नै विकेट मेडन फालेका वसन्तले ४ ओभरमा ७ रनमात्र खर्चे । ‘यो स्थितिमा खेल हार्दा हाम्रो टिम सबै दुःखी छौं । तर यो खेलबाट सिक्नुपर्ने धेरै छ । जति चाँडो सिकियो भविष्यमा त्यति राम्रो हुन्छ । नामले भन्दा पनि आफ्नो क्षमताले खेल्ने हो । नामले अव खेल्न सकिँदैन । जसले प्रदर्शन गर्न सक्छ त्यही नै राम्रो खेलाडी हो,’ वसन्तले भने, ‘हामीले राम्रो प्रदर्शन गर्न सकेनौं । खेलाडीहरू सबै राम्रा नै थिए । खेल अन्तिम ओभरसम्म हाम्रै हातमा थियो । लक्ष्य नजिक पुगौं र २–३ बल बाँकी रहँदा मौका लिउँला भन्ने थियो । मैदानमा हाम्रो धेरै गल्ती भएका थिए । महेन्द्रनगरले पनि राम्रो खेलेको हो ।’

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?