त्रिदेवको निर्णायक गोल

दीपक परियार

लेखनाथ — धरान फुटबल क्लबलाई १–० ले पराजित गर्दै हिमालयन शेर्पा क्लब १७ औं आहा–रारा गोल्डकप फुटबलको क्वाटरफाइनल पुगेको छ । पोखरा रंगशालामा शुक्रबार हिमालयनका त्रिदेव गुरुङले गरेको गोल निर्णायक बन्दा धरान प्रतियोगिताबाट बाहिरिएको हो । 

त्रिदेवको निर्णायक गोल

त्रिदेवले ७७ औं मिनेटमा कप्तान मनबहादुर तामाङको क्रस सदुपयोग गर्दै हेड गोल गरेका थिए । लेफ्ट विंग्सबाट खेलेका मनबहादुरको पासलाई विपक्षी डिफेन्सले क्लियर गर्न सकेनन् । त्यसको फाइदा त्रिदेवले लिए । हावामा डाइभ गर्दै उनले हेड गरेको बल जालीको सम्पर्कमा पुगेको थियो । राम्रा मुभ र पोस्टमा बल प्रहार नभएको निरस अवस्थालाई उनको दर्शनीय गोलले खेल रोमाञ्च बन्यो ।


सुरुआतदेखि नै दुवैले आकर्षक मुभ बनाउन सकेनन् । आक्रामक रणनीतिमा खेल्दा बल मध्यभागमै घुमिरह्यो । ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाको रोचक खेल हेर्ने अपेक्षामा बसेका दर्शकमा उत्साह छाएन । दुवै टिमले २–२ अफ्रिकी खेलाडी मैदान उतारे पनि कुनै कमाल गर्न सकेनन् । १७ औं मिनेटमा हिमालयन शेर्पाका कमल थापाको प्रहार बारमा लागेर रिबाउन्ड भयो ।


उक्त बल धरानका डिफेन्सले क्लियर गरे । दोस्रो हाफमा धरानले केही बढी अवसर पाए पनि गोल गर्न चुक्यो । ६७ औं मिनेटमा धरानका फोफाना ड्राहिमाको प्रहार विपक्षी गोलकिपर किशोर गिरीले पन्च गरेर बचाए । गिल्सन लिम्बुको छोटो पासलाई फोफानाले कडा प्रहार गर्दै पोस्टतर्फ सोझ्याए पनि गोलकिपरले जोगाए । लगत्तै धरानले अर्को मुभ बनायो । ६९ औं मिनेटमा योगेश राईले पेनाल्टी क्षेत्रबाहिरबाट लोभलाग्दो फ्रिकिक प्रहार गरे । गोलकिपर किशोरले पन्च गर्दा बारमाथिबाट बल बाहिरियो ।


धरानबाट दुई खेलाडी हालै पुलिस क्लबमा अनुबन्ध भएका थिए । अनुभवी खेलाडी बाहिरिएको असर धराने टिममा देखियो । अर्का खेलाडी हेमन्त थापामगरलाई पनि च्यासल क्लबले लगेपछि धरानको सेट टिमले खेल्न पाएन ।

धरानका प्रशिक्षक सागर घिमिरेले केही नयाँ र केही विदेशी खेलाडी टिममा समावेश गर्दा सेट नभइसकेको बताए । ‘मोफसलका क्लबले खेलाडी उत्पादन गर्छन्,’ उनले भने, ‘अलिकति राम्रो खेलेपछि राम्रा क्लबले लैजान्छन् । त्यसैको असर हाम्रो टिममा पनि देखियो ।’ उनले हिमालयन शेर्पासँग बराबरीकै खेल खेले पनि आफूले अवसर सदुपयोग गर्न नसकेको स्विकारे ।


हिमालयन शेर्पाका म्यानेजर बिजेन्द्र पुडासैनी पनि आफ्नो टिमको खेलसँग सन्तुष्ट देखिएनन् । मिडफिल्डका खेलेका खेलाडी चल्न नसक्दा टिमले सोचेको रणनीति सफल नभएको उनले बताए । भने, ‘हाम्रो टिमले औसतभन्दा तलको खेल प्रदर्शन गर्‍यो ।’ उनले अमर डंगोललगायतका खेलाडी शारीरिक रूपमा तन्दुरुस्त भएपछि खेल सुधारिने आशा व्यक्त गरे । गोलकर्ता त्रिदेवले म्यान अफ द म्याद हुँदै ५ हजार रुपैयाँ पाए । शनिबार मनाङ मर्स्याङदी र एपीएफबीच क्वाटरफाइनलमा प्रतिस्पर्धा हुँदै छ ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?