२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

डीपीएल फाइनल आज : गलत संस्कार

विनोद पाण्डे, मोहन बुढाऐर

धनगढी — काठमाडौं गोल्डेन्स शुक्रबार खेल्न मैदान नछिरेपछि महेन्द्रनगर युनाइटेड स्वतः फाइनल प्रवेश गरेको छ । आफ्ना खेलाडीलाई निलम्बन गरिएपछि गोल्डेन्स नखेल्ने निर्णयमा पुगेको थियो । महेन्द्रनगरले शनिबार हुने फाइनलमा सीवाईसी अत्तरियाको सामना गर्नेछ । 

डीपीएल फाइनल आज : गलत संस्कार

काठमाडौं गोल्डेन्सले खराब उदाहरण प्रस्तुत गर्दै रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा खेल बहिष्कार गरेको छ । काठमाडौंले दोस्रो क्वालिफायर खेल छाडेपछि महेन्द्रनगर युनाइटेड फाइनल पुगेको छ । महेन्द्रनगरले शनिबार हुने फाइनलमा सीवाईसी अत्तरियासँग प्रतिस्पर्धा गर्नेछ ।


निर्धारित तालिकाअनुसार शुक्रबार फाप्ला मैदानमा काठमाडौं र महेन्द्रनगरबीच खेल हुने कार्यक्रम थियो । विजेता टोली फाइनल पुग्थ्यो । तर काठमाडौंको टोली मैदानमा नै गएन र खेल बहिष्कार गर्‍यो । जसका कारण महेन्द्रनगर प्रतिस्पर्धाबिनै फाइनल पुग्यो । म्याच रेफ्री समिर खानले काठमाडौंले खेल्न अस्वीकार गरेका कारण आईसीसी र डीपीएलको प्लेइङ कन्डिसनअनुसार अर्को टोलीलाई खेल जितेको घोषणा गरे । काठमाडौंबाट आधिकारिक उजुरी केही नआएकाले उनले जनाए ।


खराब बलिङ एक्सनका कारण डीपीएल प्राविधिक समितिले अघिल्लो दिन काठमाडौंका भारतीय खेलाडी अंकित दबासलाई प्रतियोगिताभर बलिङ गर्न प्रतिबन्ध लगाएको थियो । उनको बलिङ पछिल्ला दुई खेलमा अनधिकृत पाइएपछि प्राविधिक समितिले उनीमाथि उक्त प्रतिबन्ध लगाएको हो ।


‘अंकित दबासलाई अम्पायरहरूले प्राविधिक समितिबाट निलम्बन गर्ने निर्णयले नै हामीले नखेल्ने निर्णय गरेका हौं । फ्रेन्चाइज लिग हो खेल्दिनँ भन्न नमिल्ने के छ र ? हामीलाई मन लागे खेल्छौं मन नलागे खेल्दैनौं । खेलाडीलाई सधैं आईसीसीको नियम र आचारसंहिता देखाएर तर्साएर भएन नि,’ काठमाडौंका व्यवस्थापक सञ्जय श्रेष्ठले खेल छाड्दा खेल भावनाविपरीत नहुने जिकिर गर्दै भने, ‘खेलाडीलाई पनि सच्चिने मौका दिनुपर्छ । अम्पायर, प्रशिक्षक र प्राविधिक समितिले खेलाडी बनाउने हो । खेल्दै नखेल्ने गरी निलम्बन गर्नु त भएन नि ?’


काठमाडौंले जितेको सबै ३ खेलमा दबास म्यान अफ द म्याच चुनिएका थिए । उनले १ सय ५३ रन बनाइसकेका छन् र सर्वाधिक रन बनाउनेमा उनी अत्तरियाका सन्नी पटेलभन्दा मात्र ३ रनले पछाडि छन् । उनले ६ विकेट पनि लिएका छन् ।


डीपीएल प्राविधिक समितिका प्रमुख आईसीसी अम्पायर बुद्धिबहादुर प्रधानले अंकित दबासमा देखिएको समस्याबारे काठमाडौं टोलीलाई सुरुदेखि नै जानकारी गराइएको बताए । ‘सुरुमा हामीले अंकित दबासको बलिङ एक्सन जुन हिसाबमा हेरेका थियौं, हरेक बलमा त्यो समस्या देखिएको थिएन । प्राविधिक समितिमा हामी पनि धेरैजना छौं । कुनै पनि बलरको एक्सनमा शंका लागेमा हामी बसेर भिडियो हेर्छौं ।


सुध्रिने मौका सबैले पाउनुपर्ने हुन्छ, सुध्रिँदै गए उसलाई राम्रो हुन्छ,’ प्रधानले भने, ‘तर पछिल्लो दुई खेल खेल्दा उसले फालेको हरेक बल शंकास्पद रहेको पाइयो । लिगको अन्तिम खेलमा हामीले टिमलाई नै जानकारी पठाइसकेका थियौं । उसको बलिङ एक्सन निकै शंकास्पद छ त्यसलाई सुधार्नुपर्छ भनेका थियौं । अब पनि त्यही एक्सनमा बलिङ गर्न दिएमा अरु टिमलाई हानी पर्छ भनेर रिपोर्ट पठाउँदा उहाँहरूले त्यो बलरलाई जानकारी नै नदिएको पाइयो ।’


प्रधानले अगाडि भने, ‘त्यही भएर उनी (बलर) सुध्रिएर सचेत भई बलिङ गरोस् भन्ने हो । पहिलो क्वालिफायरमा हामीले हेर्दा धेरै नै नराम्रो बलिङ एक्सन गएको छ । त्यही भएर हामीले अवश्य नै डबल रिपोर्ट हाल्नुपर्ने अवस्था आयो र हाल्यौं । प्रतियोगिता सुरु हुनुअगाडि पनि हामीले कप्तानहरूसँगको छलफलमा कुनै पनि खेलाडीलाई डबल रिपोर्ट परेको खण्डमा उसलाई थप बलिङ गर्न दिइँदैन भन्ने जानकारी गराइसकेका थियौं । हरेक आईसीसीको नियमहरूमा पनि फलो गर्ने यही हो । हामीसँग स्पष्ट भिडियो प्रमाण भएकाले यस्तो निर्णय लिएका हौं । त्यसका लागि भिडियो प्रमाण पनि चाहिन्थ्यो ।’


तर काठमाडौंका व्यवस्थापक श्रेष्ठ आफ्नो निर्णयमा अडिग थिए । उनले आफूले परिपक्व निर्णय गरेको भन्दा पनि आफ्नो पक्षमा निर्णय नआएको भएर नखेलेको स्पष्ट पारे । उनले भने, ‘यो फ्रेन्चाइज लिग हो, कसैको कर छैन कसैको दबाब छैन । खेल्दैनौं, भनेपछि खेल्दैनौं ।


आजको खेल अंकितलाई खेल्न दिनुस भनेर हामीले आयोजकलाई धेरै अनुरोध पनि गर्‍यौं । केही जवाफ नै न आएपछि हामी मैदान किन जाने र किन खेल्ने ?’ महेन्द्रनगरका कप्तान शरद भेषावकर खेल नभएकामा दुखी थिए । ‘आजको यो स्थितिलाई दुर्भाग्य नै भन्नुपर्छ । हाम्रा लागि पनि स्वदेशी लिगमा भएको यो पहिलो पटक हो । प्राविधिक समितिको निर्णय हो, यसमा हामीले केही गर्न सक्दैनौं ।


हामी त खेल्न आएका हौं, खेल्न नपाउँदा नराम्रो नै लाग्यो । मलाई त खासै केही सूचना पनि थिएन, मैदानमा आएपछि मात्र अर्को टिम खेल्न नआउन सक्छ भनेर थाहा भएको हो,’ शरदले भने, ‘उहाँहरूको जुन टिमले अनुभव गर्नुभएको छ, त्यो बारेमा मलाई खासै थाहा पनि छैन । बलिङ एक्सनको कारण हो कि अरु केही कारणले नखेल्नु भएको थाहा छैन । त्यही भएर भन्न अलिक अप्ठ्यारो नै छ । यत्रो ठूलो प्रतियोगितामा यसरी प्रतिस्पर्धा नै नगरी फाइनल पुग्दा नराम्रो चाहिँ लाग्छ ।’


उनले अगाडि भने, ‘यो स्थिति मेरो टोलीलाई आएको भए के गर्ने भन्ने त्यही बेला नै थाहा हुन्थ्यो । तर म चाहिँ खेल्थे होला । क्रिकेट हो, प्राविधिक समितिसँग प्रमाण छ भने त्यो स्विकार्नै पर्छ । त्यसमा हामीले केही गर्न सक्दैनौं । फाइनलका लागि आराम पायौं भन्नुपर्‍यो । अब हाम्रो ध्यान फाइनलमा हुनेछ । आस गरौं, ट्रफी जित्ने छौं ।’ शरदले नेतृत्व गरेको टोलीले हरेक फ्रेन्चाइज लिगको फाइनल खेलेको छ ।


काठमाडौंले खेल छाडेपछि डीपीएलको तेस्रो संस्करणमा पनि योक्रमलाई निरन्तरता पाएको छ । उनी यसमा आफू अक्सनमै भाग्यमानी भएको बताउँछन् । शरद डीपीएललाई लिएर सन्तुष्ट थिए । ‘पहिला सानो मैदानमा खेलिरहेका थियौं । अहिले एउटा उपयुक्त मैदानमा खेलिरहेका छौं । दर्शकका लागि पनि बस्ने ठाउँ व्यवस्थापन भएको छ । पहिलाभन्दा फरक माहोल पाएँ, प्रगति भएको छ । आशा गरौं, अर्को वर्ष अझै राम्रो हुनेछ ।’



सञ्जय श्रेष्ठ

व्यवस्थापक, काठमाडौं गोल्डेन्स

अंकित दबासलाई अम्पायरहरूले प्राविधिक समितिबाट निलम्बन गर्ने निर्णयले नै हामीले नखेल्ने निर्णय गरेका हौं । फ्रेन्चाइज लिग हो खेल्दिनँ भन्न नमिल्ने के छ र ? हामीलाई मन लागे खेल्छौं मन नलागे खेल्दैनौं । खेलाडीलाई सधैं आईसीसीको नियम र आचारसंहिता देखाएर तर्साएर भएन नि । खेलाडीलाई पनि सच्चिने मौका दिनुपर्छ । अम्पायर, प्रशिक्षक र प्राविधिक समितिले खेलाडी बनाउने हो । खेल्दै नखेल्ने गरी निलम्बन गर्नु त भएन नि ?


अंकित दबास भनेको खेलाडी दिल्ली क्रिकेट बोर्डमा आबद्ध छन् । उसले यू–१६, यू–१९ र यू–२० खेलिसकेका छन् । झारखण्डबाट रणजी ट्रफी खेलिसके । यहाँबाट उसको बलिङ एक्सन शंकास्पद छ भनेर आईसीसीमा पठाइसकेपछि भारतमा खेल्न पनि गाह्रो हुन्छ । क्लिन चिट लिनुपर्ने हुन्छ अब उनले । भारतमा पनि आईसीसीसँग आबद्ध भएको प्राविधिक समिति र अम्पायरहरू छन्, उनीहरूले दबासलाई अहिलेसम्म उनको बलिङमा केही भनेका छैनन् । त्यसमा मतलब ती भारतीय अम्पायरहरूले गल्ती गरेका रहेछन् ? यहाँका अम्पायरहरूले सानो–सानो विषयमा जहिले पनि खेलाडीलाई तनाव दिने गरेको छ । आईसीसीको नियम देखाएर तर्साइरहेको हो कि जस्तो लाग्यो । त्यही भएर पनि नखेल्ने भनेका हौं ।


दबासको विषयलाई लिएर सल्लाह गर्न बोलाउँदा प्रेस विज्ञप्ति आइसकेको थियो । त्यसपछि के नै सल्लाह गर्नु पर्‍यो र । उनको रिपोर्ट आईसीसीमा पठाइसक्यौं भन्यो । हामीले पहिलो खेलदेखि नै किन भन्नुभएन भन्दा एक जना वरिष्ठ अम्पायरले हाम्रो ठूलो गल्ती भयो भन्नुहुन्छ । ५–६ वटा खेल खेलिसकेपछि तपाईको बलरको एक्सन गलत छ भनेर मेल पठाइयो । हामीले उसको एक्सन सच्चाउनु पर्ने ठाउँमा सच्चाइरहेका थियौं ।


तर भन्नेबित्तिकै आजको भोलि हुँदैन कतिपय विषयहरू । यो प्रतियोगितापछि अब आउँदा उसको बलिङ सच्चिएर आउनुपर्छ, क्लिन चिट लिएर आउनुपर्छ भनेको भए हामी त्यहीअनुसार तयारी गर्थ्यौं होला । जहिले पनि महत्त्वपूर्ण खेलमा आएर दबाब दिने हामीलाई ।


सधैं फेरि हामी (काठमाडौं गोल्डेन्स) लाई नै यस्तो भइरहेको छ । गत वर्ष पनि रशिद खानलाई यस्तै गर्‍यो । उसलाई पनि आशंकित बलिङ छ भनेर राखियो । तर उसले कुनै क्लिन चिट पनि लिएको छैन, सबै प्रतियोगिता खेलिरहेको छ । प्राविधिक समितिलाई मनलाग्यो क्लिन चिट ल्याऊ भन्ने नत्र खेलाउदिनँ भन्ने त हुँदैन होला । आईसीसीको नियममात्र भनेको छ । मैदानको स्थिति त थाहा नै छ ।


आईसीसीको नियमनुसार त्यो मैदानमा खेल्न मिल्छ ? हेलमेट, जुत्ताको विषय आएका छन् । हामी पनि प्रतियोगिता सफल पारौं भनेर लागेका छौं । काठमाडौंबाट यत्रो लगानी गरेर खेल्न आएका छौं । एउटा प्रतियोगता खेल्दा ५० देखि ६० लाख कम्तीमा खर्च भएको छ । डीपीएलका लागि भनेर अहिलेसम्म हामीले २ करोडभन्दा बढी लगानी गरिसकेका छौं । आजबाट त हामी डीपीएल खेल्दै खेल्दैनौं भन्ने निर्णयमा पुगेका छौं । पछि के हुन्छ थाहा भएन ।


हाम्रो पक्षमा निर्णय आयो भने हामी खेल्न तयार छौं । अंकितले बलिङ गर्न पाउनुपर्‍यो । हामीले पैसाका लागि भन्दा पनि क्रिकेट विकासलाई भनेर यक्रो लगानी गरेर यसमा जोडिएका छौं । आर्थिक हिसाबमा हामी घाटामै छौं । तर त्रिकेट विकास भनेर गोल्डेनगेट कलेज यहाँ आएको छ र हामीसँग अरु कलेज पनि जोडिएका छन् । यसका राम्रो पक्ष पनि छन् । कर्पोरेट हाउस आइरहेका छन् ।


परिपक्व निर्णयभन्दा हाम्रो पक्षमा निर्णय नआएको भएर नखेलेको हो । यो फ्रेन्चाइज लिग हो, कसैको कर छैन, कसैको दबाब छैन । खेल्दैनौं, भनेपछि खेल्दैनौं । आजको खेल अंकितलाई खेल्न दिनुस् भनेर हामीले आयोजकलाई धेरै अनुरोध पनि गर्‍यौं । केही जवाफ नै नआएपछि हामी मैदान किन जाने र किन खेल्ने ?

प्रकाशित : फाल्गुन ११, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?