३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

फाप्लामा फक्रिएका भुवन

धनगढी प्रिमियर लिग क्रिकेट
विनोद पाण्डे

धनगढी — धनगढी अहिलेको स्वरुपमा आइसकेको थिएन । मोहना नदी सुनसान आफ्नै तालमा बगिरहन्थ्यो । छेउछाउमा फुटबल र क्रिकेट खेल्ने समूहलाई यसले मूकदर्शक बनेर हेरिरहन्थ्यो मात्र । त्रिकेट त औंलामा गन्न सकिनेले मात्र खेल्थे । 

फाप्लामा फक्रिएका भुवन

मोहना नदीकै छेउतिर अहिले पानीको बहाव कम छ । छेउछेउमा बनाइएको रिङरोडमा ग्राभेल गरिएको छ । त्यसमा पिच पोतिएपछि सवारीसाधनले भरिने छ । रिङरोड र मोहना खोलालाई दाहिने र देब्रे बनाउँदै फाप्ला क्रिकेट मैदान बनाइएको छ । यो प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान हो । यसको निर्माणमा जुटेकाहरूले यसलाई ‘ड्रिम फाप्ला’ नाम दिएका छन् ।

धनगढी बजारबाट पश्चिम केही भित्री भागको परिवर्तनलाई भुवन कार्कीले राम्रोसँग देखेका छन् । क्रिकेट बुझ्ने भइन्जेलसम्म यही परिवेशमा हुर्किएकाले उनका लागि मोहना नदीको त्यो खेल्ने छेउ पानीपँधेंरोजस्तो थियो । फाप्ला मैदान बनिसकेको थिएन । फाप्ला क्रिकेट मैदानबाट बडहरास्थित उनको घर हिँडेर १५ मिनेटमा पुगिन्छ । उनको घर र फाप्ला मैदान दुवै धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा पर्दछ ।

फाप्ला मैदान बन्नुअघि नै भुवनको संघर्षमय जीवनलाई काठमाडौंको तानिसकेको थियो । यही सेरोफेरोबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पुग्ने उनी कैलाली र धनगढीको पहिलो क्रिकेटर बने । उनलाई पछ्याउँदै राजु रिजाल र सुनील धमला पनि धनगढीबाट राष्ट्रिय टोलीको जर्सीमा देखिए । भारतीय क्रिकेट संस्कारबाट भित्रिएका राजु अछाम र सुनील डोटीबाट धनगढी झरेका हुन् ।

फाप्लाले ५ वर्षअघि आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो प्रतियोगिता हो । भुवनलाई घरअगाडिकै यही प्रतियोगिताले अझ एक्सपोज गराएको थियो । धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करण फाप्लामा भइरहँदा उनले आँगनअगाडि जस्तै भइरहेको प्रतियोगितामा चम्किने मौका गुमाएका छैनन् । यसले उनको आगामी भविष्यको मार्गचित्र कोरेको छ ।

एनपीएलमा उनले सर्वाधिक १५ विकेट लिएका थिए । देव्रेहाते स्पिनर भुवनको प्रदर्शनमा पञ्चकन्या तेजले एकदिवसीयतर्फको फ्रेन्चाइज लिग नै जित्यो । उनी म्यान अफ द सिरिजमा चुनिए । फाप्ला क्रिकेट मैदानसँगको उनको सुमधुरता डीपीएलमा पनि कायम छ ।

२५ वर्षे उनले कमजोर मानिएको सीवाईसी अत्तरियालाई फाइनलमा पुर्‍याउनेक्रममा १४ विकेट लिइसकेका छन् । सर्वाधिक विकेट लिने सूचीमा रूपन्देही च्यालेन्जर्सका ललितसिंह भण्डारीसँगै शीर्षस्थानमा रहेको उनको प्रदर्शन कम्तीमा भुवनका लागि नभए पनि अत्तरियाको फाइनलसम्मको यात्रा परीको कथाजस्तै छ ।

भुवनका बुवा, आमा, हजुरआमा, भाइबहिनी बडहरामै बस्छन् । श्रीमती र छोरा काठमाडौंबाट आएका छन् । दैनिक भुवन र अत्तरियाको खेल हेर्न फाप्ला पुग्छन् । भुवन अत्तरिया टिमसँगै होली प्यालेस होटलमा बसेका छन् । उनी होटलबाट भैंसीको दूध लिन बिहानै बडहरा घरै पुग्छन् । यसले पनि उनलाई ऊर्जाशक्ति दिएको छ ।

चौधरी समुदायको बस्तीभित्र छ उनको घर । फुटबलको तुलनामा चौधरीहरू क्रिकेटमा खासै आकर्षित थिएनन् । आफ्नै बस्तीका भुवनको आकासिएको प्रदर्शनसँगै तिनै चौधरीहरू अत्तरियाको प्रशंसक बनेर नियमितजसो फाप्ला पुग्ने गरेका छन् ।

झुवनले जतिखेर क्रिकेट खेल्न सुरु गरे त्यतिखेर धनगढीको त्रिकेट कभर्डहलको एउटा कुनामा सीमित थियो । ‘धनगढीमा क्रिकेट माहोल यस्तो होला बन्ला भनेर सोचेको पनि थिइनँ । सीमित मान्छेले माक्र खेल्दै आएका थिए । धनगढीमा त्रिकेटलाई यो स्थितिमा पुर्‍याउने श्रेय सुवास (शाही) सरलाई दिनुपर्छ । उहाँ हामीसँग सल्लाह गरिरहनुहुन्थ्यो । हामी फरक प्रतियोगिता आयोजना गर्नुपर्छ भनेर सुझाव दिन्थ्यौं । अहिले डीपीएल यो स्वरुपमा आइसकेको छ,’ अहिले अभिभावकहरूले आफ्ना बच्चालाई अभ्यासमा पुर्‍याएको देख्दा भुवन आफ्नो पालामा यस्तो भएको भए भनेर कल्पना गर्दै बस्छन् ।

स्थानीय भएका कारण पनि आफूले फाप्लामा राम्रो खेल्न सकिरहेको उनको बुझाइ छ । उनी यहींको भएकाले फूर्ति र इच्छाशक्ति बेग्लै छ, त्योबाहेक उनलाई केही गर्नु छ भन्ने पनि थियो । फाप्लाको टर्निङ विकेटमा बलरहरूको दबदबा छ । त्यसमा स्पिनरहरू झन् हाबी छन् । ‘टर्निङ विकेटमात्र भएर पुग्दैन स्पिनरलाई सफलता हात पार्न । कुन स्थितिमा कस्तो बलिङ गर्ने भनेर सन्नी पटेलले धेरै सहयोग गरिरहेको छ, त्यसैले पनि म सफल भइरहेको छु । होइन भने अरु देव्रेहाते स्पिनर पनि सफल हुनुपर्ने हो,’ भुवन सफलताको राज खोतल्छन् । अत्तरियाले जितेका ४ खेलमा ३ मा भारतीय खेलाडी पटेल म्यान अफ द म्याचमा चुनिएका थिए ।

अक्सनबाट अत्तरियाको जुन टिम बनेको थियो, त्यसले भुवनलाई पनि दुखी बनाएको थियो । निकै कमजोर टिममा हेरिएको अत्तरिया अहिले उपाधि नजिक छ । यसले सबैलाई आश्चर्यमा पारेको छ । भुवन पनि त्यसैमा पर्छन् । ‘कागजी रूपमा अत्तरिया कमजोर टोलीमा देख्दा नराम्रो लागेको थियो । तर राम्रो प्रदर्शन कमजोर टिमबाटै खेलेर देखाउने हो । नाम ठूलो नभए पनि जिम्मेवारी ठूलो भएकाले राम्रो प्रदर्शन देखाउन सकिएको हो जस्तो लाग्छ,’ भुवनले सुनाए ।

विश्व क्रिकेट हस्ती जोन्टी रोड्स र उनका प्रशिक्षण जोडी रायन मरोनसँगै साझेदारमा हिमालयन ह्वाइटहाउस स्कुल र स्पोर्ट्स एड जोडिएपछि अत्तरियाको स्वरुप नै फेरियो । विशेष गरी रोड्स र मरोनको प्रभाव फाप्ला मैदानमा स्पष्ट देखिन्छ । ‘पाँच खेल नै हारे पनि केही मतलब छैन । तर खेल्ने शैली र खेल्ने तरिका हुनुपर्‍यो । खेलाडीमा खेलप्रति भोक देखिनुपर्‍यो भनेर जोन्टीले भन्नुहुन्थ्यो । यसले खेलाडीको मानसिकता नै परिवर्तन गरायो । उनलाई देखाउन पनि खेलाडीहरू अतिरिक्त प्रयास लगाएर फिल्डिङ गरिरहेका थिए,’ उनी रोड्स र मरोनको भूमिका प्रस्ट्याउँछन् ।

रूपन्देहीका भीम सार्कीले डीपीएलमा एउटा यस्तो क्याच लिए जसले उनको वाहवाही छ । विश्व क्रिकेटका महान् फिल्डर रोड्ससँग तुलना गरेर भीमलाई नेपाली ‘जोन्टी’ भनिन्छ । ‘जोन्टी रोड्सले फुटसलमा अत्तरियाको प्रशिक्षणक्रममा भीम जुनियर जोन्टी हो र तिमी सिनियर जोन्टी हो भनेर भनिदिनु भो । त्यसपछि त मेरो जोस र फूर्ति झन् बढेको छ,’ भुवनले भने । भुवनलाई नेफाली क्रिकेटको ‘मिस्टर त्रिकेट’ भनिन्छ । उनी बलिङ र फिल्डिङका साथै उपयोगी ब्याटिङ पनि गर्छन् । ‘मैले अभ्यासमा चाइनाम्यान बलिङ फालेको थिएँ । जोन्टी त्यसबाट पनि प्रभावित भए । उनले यसलाई निरन्तरता दिनू भनेका छन्,’ अबदेखि यही विविधतामा मिहिनेत गर्ने उनी बताउँछन् ।

अक्सनमा भुवनमाथि २ लाख १० हजार भाउ लागेको थियो । ‘त्यसमा अत्तरियाभित्रै केहीले बढी पैसा हालेको भनेर भनेका रहेछन् । त्यही इखले पनि मिहिनेत गरेको थिएँ । एपीएफको जागिरबाट बिदा लिएर डीपीएल तयारीलाई २० दिनअघि नै धनगढी आएँ । बिहान धनगढी क्रिकेट एकेडेमीमा अभ्यास गर्थें र साँझ मोहना खोलाछेउमा फुटबल खेल्थें,’ भुवन यही मिहिनेत अहिले देखिएको बताउँछन् ।

भुवन सन् २०१२ मा पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका थिए । यूएईमा एसीसी ट्रफीबाट भुवनले ‘डेब्यु’ गर्दा यूएईसँगै नेपाल संयुक्त विजेता बनेको थियो । उनको राष्ट्रिय टोलीमा नियमित स्थान कहिल्यै भएन । २०१६ मा बंगलादेशमा भएको इमर्जिङ टिम्स कपमा पछिल्लोपल्ट उनले नेपालबाट खेलेका थिए । डीपीएलमा देखाएको प्रदर्शनसँगै भुवनले फेरि राष्ट्रिय टोलीमा फर्किने आस त्यागेका छैनन् ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?