कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एपीएफसँग मनाङ स्तब्ध

दीपक परियार

लेखनाथ — लिग जितेपछि निरन्तरता गुमाएको मनाङ मर्स्याङदी क्लब फेरि एकपल्ट पराजित भएको छ । १७ औं आहा–रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा मनाङ शनिबार एपीएफसँग १–० ले स्तब्ध भएको हो । 

एपीएफसँग मनाङ स्तब्ध

सहिद स्मारक लिग विजेता मनाङले पोखराको मैदानमा जित रचेर पराजय शृंखला तोड्न सकेन । बुटवलमा जारी तिलोत्तमा गोल्डकपको सेमिफाइनलबाट बाहिरिएको मनाङमाथि एपीएफ अवरोध बन्यो । पाँचपल्ट उपाधि जितिसकेको मनाङ दर्शकलाई निराश बनाउँदै घर फर्क्यो ।


एपीएफको जितमा प्रदीप लामाको गोल निर्णायक बन्यो । उनले ७० औं मिनेटमा गरेको गोल खेलको टर्निङ प्वाइन्ट भयो । राइट विंगर सन्तोष श्रेष्ठको कर्नरमा अनमार्क रहेका प्रदीपले बक्सबाहिरबाट हेड गोल गरेका थिए । पहिलो हाफमा काउन्टर एट्याकमा प्राथमिकता दिएको एपीएफलाई दबाब दिएर मनाङ हाबी भयो । बल अधिकांश समय मनाङको नियन्त्रणमा भए पनि उत्कृष्ट फिनिसिङ दिन सकेन । मिडफिल्डको प्रदर्शन फितलो भयो ।


मनाङले खेलको चौथो मिनेटमै अवसर सिर्जना गर्‍यो । आफिज ओलावालेले पेनाल्टी एरियाभित्र बायाँबाट गरेको प्रहार बार नजिकैबाट बाहिरियो । २१ औं मिनेटमा हेमन गुरुङ गोल गर्नबाट चुके । उनले प्रकाश बुढाथोकीको कर्नरलाई २० यार्डबाट सिधा भली प्रहार गरे पनि विपक्षी गोलकिपर अमृत चौधरीले पन्च गरेर बचाए । त्यसपछि रिवाउन्ड बलमा कमल श्रेष्ठले प्रहारमा पनि अमृत बाधक बने । पहिलो हाफको इन्ज्युरी टाइममा अञ्जन विष्टको प्रहार विफल भयो । गोलकिपरबाट रिबाउन्ड बलमा सुजल श्रेष्ठले हेड गरे । एपीएफका डिफेन्सले क्लियर गरिदिए ।


दोस्रो हाफमा मनाङले उत्कृष्ट मुभ बनाउन सकेन । काउन्टर एट्याककै रणनीति निरन्तरता दिएको एपीएफले दोस्रो हाफमा खेलमा सुधार ल्यायो । लयमा देखिएको एपीएफले ६८ औं मिनेटमा गोल गर्ने अवसर सिर्जना गर्‍यो । यद्यपि आशिष लामाको प्रहारले लक्ष्य भेट्न सकेन । ७० औं मिनेटमा प्रदीप लामाको गोलबाट अग्रता लिएपछि भने एपीएफलाई पछिल्लो समय पोखरेली मैदान फापेको देखियो । गत साता मात्रै एपीएफ मनकामना केबुलकार पोखरा कपको फाइनल पुगेको थियो । फाइनलमा भने क्यामरुनको डफिन्ससँग हार बेहोर्नुपरेको थियो । प्रदीपले म्यान अफ दी म्याच हुँदै ५ हजार रुपैयाँ पाए ।


त्यसो त एपीएफसँग आहा–राराको छैटौं संस्करणमा मात्रै फाइनल पुगेको अनुभव छ । जतिखेर विभागीय प्रतिद्वन्द्वी नेपाल प्रहरीसँग एपीएफ पराजित भएको थियो । पाँचपल्टको विजेता मनाङलाई हराएर सेमिफाइनल पुगेपछि भने उपाधितर्फको यात्रामा एपीएफ लम्किएको छ ।


एपीएफ प्रशिक्षक रत्नकाजी महर्जन आफ्ना खेलाडीको टिम गेमका कारण जित पाएको बताए । ‘हाम्रो खेलाडी कोही पनि व्यक्तिगत स्वार्थ लिएर खेलेनन्,’ उनले भने, ‘खेलाडीको कडा मिहिनेत नै जितको कारण हो ।’ उनले टिममा हाल जुनियर खेलाडीलाई मौका दिइरहेको बताए ।


मनाङका प्रशिक्षक तोपे फुजाले मनाङको खेल ट्र्याकमा नभएकाले निरन्तर हार बेहोर्नुपरेको प्रतिक्रिया दिए । उनले खेलमा एट्याकिङ मात्रै खेल्ने र डिफेन्समा नझर्ने गर्दा गोल खानुपरेको सुनाए । ‘हामीले राम्रै खेलेका हौं,’ उनले भने, ‘पाएका अवसर सदुपयोग गर्न सकेनौं ।’ आइतबार क्वाटरफाइनलमा हिमालयन शेर्पा र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?