१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

तिलोत्तमा गोल्डकप : पुलिस क्लब फाइनलमा

अमृता अनमोल

बुटवल — भ्याली च्यासल युथ क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकप फुटबलको फाइनल पुगेको छ । देवीनगरस्थित एन्फा एकेडेमीको मैदानमा शनिबार पुलिस टोली च्यासल युथलाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

पुलिसको जितमा विक्रम धिमालले दुई र कप्तान रवि पासवानले एक गोल गरे । खेलको १५ औं मिनेटमा विक्रमले पहिलो गोल गरे । उनले तेज तामाङको कर्नर सदुपयोग गर्दै आकर्षक गोल गरे । विक्रमले ५७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे ।


दुई गोलको अग्रतामा हौसिएको पुलिसले थप आक्रामक खेल्यो । पुलिसलाई जवाफ फर्काऊने क्रममा च्यासलका खेलाडीले समेत तीव्र गतिमा आत्रामक खेल पस्के । पुलिसका तेज तामाड र विक्रम धिमाललाई धक्का दिँदा ६० औं मिनेटमा च्यासलका कप्तान अमिर श्रेष्ठले रातो कार्ड पाएको थियो । च्यासल १० खेलाडीमा सीमित भएको फाइदा पुलिसले उठायो । फलस्वरूप ८० औं मिनेटमा अर्को गोल थप्यो ।


च्यासलको तर्फबाट एकमात्र गोल सन्तबहादुर गुरुङले गरे । विदेशी खेलाडी अर्मन्ड वियोडोनले गरेको फितलो प्रहार गोलकिपरले फर्काउनासाथ सन्तले त्यसलाई गोलमा परिणत गरे । च्यासलका खेलाडीले पटक–पटक गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा अधिकांश समय बल च्यासलको कब्जामा रह्यो । यद्यपि पुलिसले चलाखीपूर्ण तरिकाले डिफेन्सलाई चल्न दिएन । विदेशी खेलाडी अर्मन्ड खेल अवधिभर पुलिसको घेरामा परे ।


अनुभवी खेलाडी निशान खड्का, अमिर श्रेष्ठ, हेमन्त थापामगर र गौरव बुढाथोकीले पनि राम्रो फिनिसिङ दिन सकेनन् । अमिर र हेमन्तले फ्रिकिक अवसर खेर फाले । दोस्रो हाफमा गोल फर्काउने उद्देश्यसहित च्यासलले दुई खेलाडी परिवर्तन गर्‍यो । सजिन थापामगरको सट्टा सन्जोग राई र नरेन्द्र चौधरीको सट्टामा सन्तबहादुर गुरुङलाई मैदान प्रवेश गरायो । तर दुवैले सोचेजस्तो खेल पस्कन सकेनन् । अर्मन्डका थुप्रै प्रहार गोलकिपर शत्रुधन चौधरीले विफल तुल्याए ।


पुलिसले अन्तिम समयमा मिलन राईको सट्टा सुमन लामालाई मैदानमा पठायो । पुलिसका तेज तामाङ, हरि कठायत र भरत शाहले गरेका प्रहार च्यासलका गोलकिपर दिनेश थापामगरले चलाखीपूर्व रोके ।


च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले पहिलो हाफमा पाएका ३–४ वटा सुनौला अवसर गुमाएकाले पराजित हुनुपरेको बताए । सुरुआतमै गोल खाँदा खेलाडी केही नर्भस भएको र डिफेन्सले राम्रो फिनिसिङ दिन नसकेको उनले जनाए ।


पुलिसका प्रशिक्षक अनन्त थापाले च्यासलको अघिल्ला खेलबाट विपक्षीको कमजोरी पत्ता लगाउन सकेकाले खेल जित्न सफल भएको बताए । ‘युवा टिमलाई आक्रामक रूपमा प्रस्तुत गराउने र बल कब्जामा राख्ने हाम्रो रणनीति थियो,’ उनले भने, ‘त्यसमा खेलाडी सफल भएकाले च्यासलविरुद्ध जित्न सकियो ।’


दुई गोल गरेका पुलिसका विक्रम धिमाल म्यान अफ द म्याच भए । गत वर्षको उपविजेता पुलिस अब सोमबार क्यामरुनी टोली डफिन्स एफसीसँग फाइनलमा भिड्ने छ । पुलिसले यसअघि युनाइटेड दार्जिलिङलाई २–० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो । डफिन्स एफसीले भने झापा–११ लाई ५–० र सेमिफाइनलमा आयोजक लाली रूपन्देही–११ लाई २–० ले हराएको थियो ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?