कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अत्तरियाको च्याम्पियन शैली

विनोद पाण्डे, मोहन बुढाऐर

धनगढी — सबैभन्दा कमजोर मानिएको सीवाईसी अत्तरियाले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ । अघिल्लो दुई संस्करणमा पहिलो चरण कटाउन नै संघर्ष गरेको अत्तरियाले शनिबार डीपीएल–३ को रोमाञ्चक फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्‍यो । 

अत्तरियाको च्याम्पियन शैली

फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको महेन्द्रनगर निर्धारित २० ओभर खेल्दै १ सय २३ रनमा अलआउट भयो । विजयनिम्ति २ बलमा ३ रन आवश्यक हुँदा सन्नी पटेलले अविनाश बोहरालाई स्ट्रेट छक्का प्रहार गरे । सर्वाधिक पुरस्कार राशिको डीपीएल जितेर अत्तरियाले ३० लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता महेन्द्रनगरको भागमा १२ लाख पर्‍यो ।


सीवाईसी अत्तरिया १७ ओभरमा ९५–६ को स्थितिमा थियो । टोलीलाई अन्तिम ३ ओभरमा जित पाउन २९ रन चाहिन्थ्यो । अविनाशले इलिमिनेटरमा रूपन्देही च्यालेन्जर्समाथि अन्तिम ओभरमा ३ रनमात्र दिई महेन्द्रनगरलाई १ रनको जित दिलाएर फाइनलमा पुर्‍याएका थिए । तर शनिबार अविनाशले फालेको १८ औं ओभरमा अत्तरियाले १५ रन जोड्यो ।


अर्को ओभरमा यूएईका तीव्र गतिका बलर मोहम्मद नाभेदले कमलसिंह ऐरीलाई बोल्ड गर्दै ७ रनमात्र खर्चे । अन्तिम ओभरको पहिलो चार बलमा १–१ रन लिएपछि दोस्रो अन्तिम बलले खेल रोचक बनाइसकेको थियो । प्रतियोगिताको सर्वाधिक रनकर्ता पटेलले आफ्नो अनुभव देखाउँदै छक्का प्रहार गरी अत्तरियालाई उपाधि दिलाए । अत्तरियाले १९.५ ओभर खेल्दै १ सय २७ रन जोड्यो ।


‘स्थिति कस्तो छ केही मतलब छैन, तर हामी अन्तिमसम्म बसेर ब्याटिङ गर्नुपर्छ भनेर कप्तान दीपेन्द्रसँग विकेटमा सल्लाह गरेका थियौं । अन्तिम ३ ओभरमा ३०–३५ रन चाहिने स्थिति रहेमा बलिङ टोलीलाई दबाब हुन्थ्यो र रन बनिहाल्थ्यो,’ पटेलले भने, ‘म अनुभवी खेलाडी भए पनि यहाँ धेरै सिकेको छु । क्रिकेटमा प्रत्येक दिन नयाँ केही सिकिन्छ, पूर्ण कोही हुँदैन । अन्तिम ओभरमा जितेन्द्रसिंह ठकुरी स्ट्राइकमा हुँदा उसले आत्तिनुपर्दैन रन बनिहाल्छ भन्यो, यसले मेरो मनोबल झन उँचो भयो ।’


उनले अन्तिम दुई ओभरबारेमा भने, ‘१४ रन चाहिन्थ्यो, त्यस्तो दुई खराब बल आए पुग्थ्यो । त्यसैले त्यो २ खराब बल कुर्नुपर्ने थियो ।’ म्यान अफ द फाइनल पटेलले २६ बल खेली ३ चौका र ३ छक्का प्रहार गरी अविजित ४७ रन बनाए ।


जितेन्द्र ४ बलमा ३ रन बनाई अविजित रहे । ओपनर जयकिसन कोल्सावालाले २७ बलमा ५ चौका प्रहार गरी ३० रन बनाए । कप्तान दीपेन्द्रले ३५ बल खेल्दै १ चौकासाथ १७ रन जोडे । ज्ञानेन्द्र कुँवर ७, सन्दीप जोरा २, रित गौतम शून्य र भुवन कार्की ८ रनमा आउट भए ।


महेन्द्रनगरका सागर ढकालले ४ ओभरमा १७ र नाभेदले ४ ओभरमा १९ रन खर्चेर २,२ तथा अविनाश र शाहब आलमले १–१ विकेट लिए । ‘फाइनल एकदमै रोमाञ्चक भयो । जुन हिसाबले सन्नीले खेलिरहेका थिए र मलाई पनि सिकाइरहेको थियो, त्यसबाहेक यसअघिका लिगहरूमा पनि सन्नीले जसरी खेलेका थिए त्यसबाट मलाई उसले खेल जिताउँछ भन्ने आशा लागेको थियो,’ अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरीले भने, ‘आजको विकेट राम्रो थियो । अलि कति टर्न कम थियो, त्यही हिसाबमा पनि लक्ष्य पछ्याउन सकिन्छ जस्तो थियो ।’


आफ्नो टोलीमा खासै नाम कहलिएका खेलाडी खासै नभए पनि पहिलो खेलमा धनगढी स्टार्सलाई ९० रनमा अलआउट गरी ५ रनको जित हात पारेपछि टोलीको मनोबल बढ्दै गएको जनाए । अत्तरियाले प्रतियोगिताभर एक खेलमात्र हार्‍यो, जुन राउन्ड रोबिनमा वर्षाका कारण ६–६ ओभरमा छोट्याइएको खेलमा महेन्द्रनगरसँगै ६ विकेटको हार थियो ।

फिल्डिङका हस्ती दक्षिण अफ्रिकी जोन्टी रोड्स अत्तरियाका मेन्टर थिए । उनीसँगै दक्षिण अफ्रिकी रायन मेरोनको प्रभाव अत्तरियाको टोलीले फाइनलमा पनि देखायो । अत्तरियाले महेन्द्रनगरका ५ खेलाडीलाई रनआउट गरिदियो । कप्तान शरद भेषावकर आफूले सामना गरेको पहिलो बलमै नन स्ट्राइक एन्डमा रनआउट भए । उनीसँगै आनन्द सुब्रमन्यम (२), कुशल मल्ल, अविनाश र शाहब रनआउट भए । अविनाश र शाहबले खाता खोल्न पनि सकेनन् ।


ओपनरका रूपमा पठाइएका नाभेदले पहिलो ओभरमा पटेललाई चौका प्रहार गरे । दोस्रो ओभरको पहिलो बलमा दीपेन्द्रलाई छक्का प्रहार गरेका नाभेद अर्को बलमा क्याच दिन पुगे । आनन्द त्यही ओभरको अन्तिम बलमा रनआउट भए । आरिफ र अर्का ओपनर दिलीप नाथले ८ ओभरमा अत्तरियाको स्कोर ४० रन पुर्‍याए । नाभेदजस्तै आरिफ पनि ११ रनमा आउट भए । अर्का ओपनर दिलीपले सर्वाधिक ४३ रन बनाए । उनले ४१ बल खेली ५ चौका र १ छक्का प्रहार गरे ।


कुशलले २२ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरी २५, रोहित पौडेलले २० बलमा १ चौका र १ छक्का प्रहार गरी २४ रन जोडे । कप्तान दीपेन्द्रले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । अन्तिम तीनमध्ये २ ओभर गरेका युवा दीपेन्द्र राउतले ११ रन खर्चेर २ विकेट लिए । पटेलले ४ ओभरमा ११ रनमात्र खर्चेर १ विकेट लिए ।


सन्नीको दबदबा

सन्नी पटेलले डीपीएल–३ मा दबदबा जमाए । उनले म्यान अफ द फाइनलका साथै उत्कृष्ट ब्याट्सम्यान र म्यान अफ द सिरिजको पुरस्कार पाए । पटेलले प्रतियोगितामा सर्वाधिक २ सय ४ रन बनाउनुका साथै ९ विकेट लिए । पटेलले उत्कृष्ट ब्याट्सम्यान भए वापत १ लाख र म्यान अफ द सिरिज भएवापत २ लाख पुरस्कार पाए ।


सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष ३ स्थानमा अत्तरियाकै खेलाडी थिए । कप्तान दीपेन्द्रले १ सय ६७ र जयकिसन कोल्सावालाले १ सय ५९ रन बनाए । १० विकेट पनि लिएका दीपेन्द्रलाई मोस्ट भ्यालुएबल खेलाडीको पुरस्कार दिइएको थियो ।


उनलाई त्यसवापत गोल्डस्टारद्वारा प्रायोजित गोल्डेन बुट प्रदान गरिएको थियो । अत्तरियाकै भुवन कार्की सर्वाधिक १४ विकेट लिँदै उत्कृष्ट बलर बने । उनले १ लाख रुपैयाँ पाए ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?