कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेरीको कीर्तिमान

कान्तिपुर संवाददाता

काठमाडौँ — अनुभवी खेलाडी नेरी थापाको घातक बलिङमा नेपालले आइतबार आईसीसी महिला ट्वान्टी–२० र एकदिवसीय विश्वकपको एसियाली छनोटमा हङकङलाई ४ विकेटले पराजित गरेको छ । 

नेरीको कीर्तिमान

नेरीले ४ ओभरको आफ्नो स्पेलमा ८ रन खर्चेर ६ विकेट लिएपछि थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६२ रनमात्र बनाउन सक्यो ।


अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा नेरीको यो तेस्रो उत्कृष्ट प्रदर्शन हो । यसअघि उनले यूएईविरुद्धको खेलमा पनि ४ विकेट लिएकी थिइन् । जारी प्रतियोगितामा पनि नेरी सर्वाधिक विकेट लिने खेलाडीमा शीर्षस्थानमा छन् । नेपालले ४ खेल खेलेको छ । त्यसमा नेरीले १२ विकेट लिइसकेकी छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेरीको यो बलिङ कीर्तिमानी हो ।


उत्कृष्ट बलिङको कीर्तिमान मलेसियाकी मास इलिसाको नाममा छ । उनले अघिल्लो महिना थाइल्यान्ड महिला ट्वान्टी–२० स्म्यासमा चीनविरुद्ध ४ ओभरमा १ मेडन राख्दै ३ रन खर्चेर ६ विकेट लिएकी थिइन् । त्यस्तै दोस्रो नम्बरमा रहेकी बोत्सवानाकी बोत्सोगो पेदीले सन् २०१८ मा लेसोथोविरुद्धको शृंखलामा २.३ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर समान ६ विकेट लिएकी थिइन् ।


आइतबारको खेलमा हङकङका बेल्ला पुन (११), यास्मिन दसवानी (१६) र मारिना ल्याम्पलफ (१९) ले मात्र दोहोरो अंकको रन बनाउन सके । नेपालका लागि नेरीका अलावा सीता रानामगरले २ विकेट लिइन् ।


६३ रनको लक्ष्य नेपालले १८.३ ओभरमा ६ विकेट गुमाई पूरा गर्‍यो । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेकी अप्सरी बेगमले सर्वाधिक २४ रन बनाइन् । उनले ३५ बलमा ३ चौका प्रहार गरिन् । सुरुआती चार विकेट सस्तैमा गुमे पनि उनले सरिता मगरसँग मिलेर पाँचौं विकेटमा ३२ रनको साझेदारी गरेपछि नेपालको जित सहज भएको हो । सरिताले ३० बलमा १६ रन जोडिन् । बलिङतर्फ हङकङकी जस्मिन तित्मसले ३ विकेट लिइन् ।


चार खेल खेलेको नेपालको ३ जित र १ हारसाथ ६ अंक भएको छ । नेपालले चीन र कुवेतसँग खेल्न बाँकी छ । चीनसँग सोमबार र कुवेतसँग बुधबार खेल्नेछ । राउन्ड रोबिन लिगका आधारमा भएको ७ एसियाली टोलीसम्मिलित यस प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा हुने ट्वान्टी–२० विश्वकप र २०२१ मा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल क्वालिफायर खेल्न पाउनेछ ।


दोस्रो खेलमा थाइल्यान्डसँग पराजित गएपछि नेपालका लागि ग्लोबल क्वालिफायर प्रवेशको सम्भावना न्युन बनेको छ । ४ खेल खेलेको थाइल्यान्ड प्रतियोगितामा अपराजित छ । बाँकी दुई खेलमा उसले त्यही लय कायमै राखे नेपालको सम्भावना समाप्त हुनेछ । थाइल्यान्डले यूएई र मलेसियासँग खेल्न बाँकी छ ।

प्रकाशित : फाल्गुन १३, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?