कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

दौडमा राममाया र नरेश विजेता

कृष्णप्रसाद गौतम

सुर्खेत — आठौं राष्ट्रिय खेलकुदअन्तर्गत कर्णाली प्रदेशस्तरीय क्रिक्रेटमा सुर्खेत विजयी भएको छ । सुर्खेतले सोमबार फाइनलमा रुकुम पश्चिमलाई २६ रनले हरायो । उसले लिग चरणमा सल्यान र दैलेखलाई हराएको थियो । 

टस जितेर ब्याटिङ गरेको घरेलु टोली सुर्खेतले २० ओभरमा ६ विकेट गुमाई १ सय ४३ रन बनाएको थियो । प्रकाश जैसीले ३७ र

निश्चल रावलले ३० रन बनाए । जवाफमा रुकुमले १६.४ ओभरमा सबै विकेट गुमाई १ सय १६ रनमात्र जोड्न सक्यो । रुकुमका हेमन्त ओलीले २५ र विजय विष्टले १८ रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।


सोमबारै अर्को खेलमा सल्यानले दैलेखलाई १ सय २८ रनले हराएर तेस्रो स्थान हासिल गर्‍यो । कालुन्चोक मैदानमा टस हारेर व्याटिङ गरेको सल्यानले १५ ओभरमा ५ विकेट गुमाई १ सय ६८ रन बनायो । दिनेश अधिकारीले ८० र आशिष सिंहले २० रन बनाए । १ सय ६९ रनको लक्ष्य पाएको दैलेखले ९.५ ओभरमा सबै विकेट गुमाई ४० रनमात्र बनाउन सक्यो । अनिल केसीले ५ र गोपाल बुढाले ४ रन बनाए ।


फुटबलतर्फ कालिकोट र हुम्ला विजयी भए । कालिकोट टाइब्रेकरमा रुकम पश्चिमलाई ७–६ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । हुम्लाले दैलेखलाई ३–१ ले हरायो ।


त्यस्तै एथलेटिक्स १५ सय मिटर दौडमा महिलातर्फ जुम्लाकी राममाया बुढा प्रथम, सीता न्यौपाने द्वितीय र कालिकोटकी ममिता बुढा तृतीय भएका छन् । सोही इभेन्टको पुरुषतर्फ जुम्लाका नरेश बुढा प्रथम, कालिकोटका सन्तोषनाथ योगी द्वितीय र सुर्खेतका सुशील रम्जाली तेस्रो भए ।


१ सय मिटर दौडमा महिलातर्फ सुर्खेतकी सेरना श्रीपाली, कालिकोटकी रसुदा शाही र सल्यानकी खिमा आचार्य तथा पुरुषतर्फ जाजरकोटका यामसाजन सुनार, सल्यानका सुशील केसी र सुर्खेतका पवनकुमार बिसी शीर्ष तीनस्थानमा विजयी भए ।


सटपुटमा पुरुषतर्फ सुर्खेतका तिलक बिक, पदम परियार र रुकुम पश्चिमका हर्क विश्वकर्मा तथा महिलातर्फ कालिकोटका निरुताकुमारी शाही, सुर्खेतकी प्रतिमा थापा र कालीकोटकी रसुदा शाही क्रमश: पहिलो, दोस्रो र तेस्रो भए ।


लङजम्प पुरुषतर्फ सल्यानका सुशील केसी, जाजरकोटका यामसाजन सुनार र रुकुम पश्चिमका हेमन्त बिक तथा महिलातर्फ सुर्खेतकी आशा बिक, हुम्लाकी जयलक्ष्मी हमाल र सल्यानकी सुशीला राना क्रमश: शीर्ष तीन स्थानमा विजयी भएका छन् । सुर्खेतमा जारी प्रतियोगितामा २ सय ६४ स्वर्णका लागि १० जिल्लाका १ हजार २ सय ४१ खेलाडीले २१ खेलमा प्रतिस्पर्धा गरिरहेको कर्णाली प्रदेश खेलकुद परिषद्का प्रसार समिति संयोजक अर्जुनजंग शाहीले जनाएका छन् ।

प्रकाशित : फाल्गुन १४, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?