कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

खिया लागेका हतियारसँग पौंठेजोरी

प्रकाश बराल

बागलुङ — आठौं राष्ट्रिय खेलकुदको छनोट प्रतियोगितालाई रायडाँडाकी सुशीला केसी सुटिङको अभ्यासमा व्यस्त छिन् । उनको अभ्यास जिल्लामा रहेका खिया लागेका र पुरानो शैलीका बन्दुकबाट भइरहेको छ । 

खिया लागेका हतियारसँग पौंठेजोरी

वर्षौंदेखि हतियार र प्रशिक्षक अभावमा उनले खेल्ने अवसर पाएकी थिइनन् । सातौं राष्ट्रिय खेलकुदमा हतियार नदेखेरै उनले प्रतिस्पर्धा गरिन् । पदक जित्न नसकेकी सुशीलाले अभ्यास पाएकाले यसपल्ट पदक जित्ने आस राखेकी छन् । पुरानो हतियारले लक्ष्य भेट्टाउन भने कठिन हुने अनुभव उनले सुनाइन् ।

एकपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेलिसकेका बागलुङकै केबी पुनले आठौं राष्ट्रियमा स्वर्ण पदक जित्ने आशा राखेका छन् । ‘लक्ष्य त हाम्रो ओलम्पिकसम्म नै पुग्ने हो,’ उनले भने, ‘तर राम्रो खेलको आस गर्दा आवश्यक सामान र प्रशिक्षक पाइएन ।’ खेलाडीलाई आवश्यक सामग्री र प्रशिक्षक उपलब्ध गराउन राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयले पहल गरिदिए सहज हुने उनले सुनाए । उनीजस्तै बागलुङकै श्रेया केसी, स्वस्तिका पौडेल र विमल थापालगायत यति बेला सुटिङको अभ्यासमा व्यस्त छन् । उनीहरूको हातमा भने खिया लागेको हतियार छ ।

सुटिङका लागि विशेषगरी एयर राइफल, एयर गन र पेस्तोल चाहिन्छ । तोकिएको दुरीबाट गोली हानेर लक्ष्य भेट्टाउनुपर्छ । ‘आफ्नै स्कोरमा प्रतिस्पर्धा गर्ने सुटिङ खेल बौद्धिक र निरन्तरको अभ्यासबाट सफलतामा पुग्न सकिन्छ,’ प्रशिक्षक उपेन्द्र थापाले भने, ‘सुरक्षाको कारण भन्दै हतियार खरिद र खेलाडीलाई नदिने चलनले यो खेल ओझेलमा परेको छ ।’

बागलुङ र कास्कीमा सुटिङबाट पदक जित्ने सम्भावना बोकेका खेलाडी धेरै भएको उनले सुनाए । थापा छनोट खेलका लागि मात्र केही दिन राखेपबाट बागलुङ खटिएर आएका हुन् । आठौं राष्ट्रिय खेलकुदमा सुटिङतर्फ बागलुङबाटै बढी पदकको आस गरिएको उनले बताए । श्रीलंकामा भएको साफ खेलकुदमा यहाँकै अनिता श्रेष्ठले सुटिङबाट स्वर्ण पदक जितेको इतिहास छ ।

सशस्त्र द्वन्द्वकालमा दुरुपयोग हुनसक्ने भन्दै सुटिङ खेलमा प्रयोग हुने सबै हतियार प्रमुख जिल्ला अधिकारीको निर्देशनमा जफत भएको थियो । फिर्ता पाउन समय लागेपछि खेलाडी पलायन हुँदै गए । अझै पनि बागलुङमा १५ खेलाडी छन् । कास्कीमा ४ जना छन् ।

एयर गन तथा स्प्रिङ प्रणालीका बन्दुकहरू पुरानो भएको, खिया लागेको र टार्गेट भेट्न नसक्ने भएकाले नयाँ खरिदका लागि माग भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले बताए । ‘समितिको जिम्मामा दिनेगरी दुई/चार वटा हतियार किनिदिनुपर्छ । हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदबाट स्वर्ण पदक जितेर देखाउन सक्छौं,’ उनले भने, ‘कम्तीमा एकजना प्रशिक्षकसमेत दिनुपर्नेमा खेलाडीले प्रशिक्षक र हतियार नदेखेरै खेल्नुपर्ने बाध्यता छ ।’

ओलम्पिक खेलेकी भगवती केसी बागलुङमै छिन् । उनलाई खेलकुद परिषद्ले कुनै काम नदिएपछि अपांगता भएका बालबालिका पढाएर बसेकी छन् । अस्थायी तथा स्वयंसेवी प्रशिक्षकसमेत नबनाएकाले शिक्षणमा लाग्नुपरेको उनले बताइन् ।

बेलाबेला अनौपचारिक रूपमा प्रशिक्षण दिएकाले जिल्लामा १५ खेलाडी उत्पादन भएको समिति अध्यक्ष परियारको भनाइ छ । हतियार र औपचारिक रूपमा प्रशिक्षक पठाइदिने हो भने हरेक राष्ट्रिय र साग खेलकुदसम्म पुगेर पदक जित्ने खेलाडी जिल्लाबाट उत्पादन हुने उनले बताए । सम्भावना बोकेका खेलमा प्रशिक्षक र सामग्री अभावमा धेरै खेलाडी पलायन भइरहेका छन् । बागलुङमा सुटिङसँगै भलिबलमा पनि प्रशिक्षक छैनन् ।

राष्ट्रिय महिला भलिबलसमेत पटक–पटक आयोजना गरेको बागलुङले प्रशिक्षक अभावमा खेललाई व्यावसायिक विकास गर्न नसकेको जिल्ला भलिबल संघका अध्यक्ष यमबहादुर श्रीसले बताए । बागलुङबाटै महिला र पुरुष भलिबलका टिमले धेरै खेल खेलिरहेका छन् । तर मैदान र प्रशिक्षक छैनन् ।

त्यस्तै क्रिकेटका लागि मैदान र प्रशिक्षककै अभाव छ । अहिलेसम्म २७ खेल संघ गठन भइसके पनि प्रशिक्षक नभएर सोचेजस्तो विकास गर्न नसकिएको परियारले बताए । बागलुङमै कराँते, ह्यान्डबल, उसु, तेक्वान्दो र भारोत्तोलनका लागि भने प्रशिक्षक छन् । ‘प्रशिक्षक भएकै कारण मार्सल आर्ट्समा धेरै पदक जित्न सकिएको छ,’ परियारले भने, ‘बुर्तिवाङलाई कराँतेको हब बनाउने योजनासमेत अगाडि सारेका छौं ।’

समितिले गल्कोट क्षेत्रलाई भलिबल, बागलुङ बजारक्षेत्रलाई उसु, सुटिङ र तेक्वान्दोको हब बनाउने योजना सुनाए । फुटबल र क्रिकेटका लागि भने बांगेचउर मैदानलाई रंगशालाका रूपमा विकास गर्न डीपीआरको काम भइरहेको परियारले बताए ।

प्रकाशित : फाल्गुन १४, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?