१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सिटीलाई लिग कप

एएफपी

लन्डन — गोलकिपर केपा एरिजाबालागाले सब्स्टिच्युटका लागि चेल्सीका व्यवस्थापक माउरिजियो सारीलाई अस्वीकार गरिदिएको घटनालाई ‘असमझदारी’ भएको बताए पनि यी स्पेनी खेलाडीले आफ्ना प्रशिक्षकप्रति सम्मान देखाएको थियो र त्यस खेलमार्फत् म्यानचेस्टर सिटीले टाइब्रेकरमा चेल्सीविरुद्ध ४–३ को जित हासिल गर्दै लिग कपको उपाधि आइतबार रक्षा गरेको थियो ।

सिटीलाई लिग कप

गोलरहित बराबरीमा टुंगिएको १ सय २० मिनेटको खेलमा इटालियन व्यवस्थापकले विश्वकै सबैभन्दा महँगा गोलपिकरले परिवर्तन गरेर विली काबालेरालाई खेलाउने प्रयास गरेका थिए । अन्त्यतिर गोलकिपर केपाको मैदानमै उपचार गरिएको थियो । सारीले क्लबका चिकित्सकले पछि मात्रै जानकारी गराउनुअघि केपाको मांसपेसीमा समस्या भएको विश्वास गरेका थिए ।


‘यो ठूलो असमझदारी हो किनभने उनको मांसपेसीमा समस्या भएको मलाई लागेको थियो । त्यसैले त्यस्तो शारीरिक अवस्थाको गोलकिपरलाई म पेनाल्टीमा लग्न चाहँदैनथे,’ सारीले भने, ‘तीन–चार मिनेटपछि चिकित्सक बेन्चमा आएपछि मात्रै मैले अवस्था बुझें ।’


पेनाल्टी शुटआउटमा सिटीका गोलकिपर एडर्सनले जोर्गिन्होलाई असफल पारिदिए भने डेविड लुइजको प्रहारमा बल पोस्टमा लागेको थियो । रहिम स्टर्लिङले केपालाई उछिन्दै पेनाल्टीमा निर्णायक प्रहार गरेका थिए ।


‘गोलकिपरले त्यस्तो अवस्थामा पनि पेनाल्टीमा जान चाहेको मात्रै मैले बुझेको थिएँ । उत्साहका लागि उनी सही छन् तर आचरणका लागि होइन,’ सारीले भने ।


जे भए पनि केपाको व्यवहारले सारीको भविष्य संकटमा रहेको अझै प्रस्ट पारेको छ । दुई साताअघि मात्र चेल्सले सन् १९९१ यताकै सबैभन्दा खराब हार बेहोर्ने क्रममा प्रिमियर लिगमा सिटीको हातबाट ६–० को पराजय बेहोर्नुपरेको थियो ।


‘मलाई थाह छैन, क्लबलाई नै सोध्नुपर्छ,’ आफ्नो भविष्यबारे सारीले भने, ‘आज म वास्तवमै धेरै खुसी छु किनभने हामीले सुधार गरिरहेका छौं । हामी धेरै राम्रो टिम हुनसक्छौं । हामीले म्यानचेस्टर सिटीलाई गोल गर्न दिएनौं, जुन त्यति सजिलो होइन । आक्रमणमा सिटी धेरै खतरनाक हो । उसले प्राय: धेरै गोल गरिरहन्छ । हिजो तयारी गरेजस्तै मैदानमा आज देखाए । त्यसैले प्रशिक्षकका लागि यो धेरै महत्त्वपूर्ण हो ।’


सारी अलि बढी नै सतर्क भएको देखियो । उनले गोन्जालो हिग्विनलाई बेन्चमा राख्दै इडेन हाजार्डलाई एक्लो फरवार्डका रूपमा अगाडि खेलाएका थिए । डिसेम्बरमा चेल्सीले सिटीलाई २–० ले पराजित गर्दा पनि बेल्जियनलाई त्यस्तै गरिएको थियो ।

‘स्टामफोर्ड ब्रिजमा हामीले पराजय बेहोरेजस्तै भयो यो खेल,’ सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले भने, ‘दुई साताअघि जे भएको थियो त्यो सामान्य थिएन । हामीलाई यो थाहा थियो ।’


अब ग्वार्डिओलाको टिम प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपमा पनि सफलता हात पारेर ऐतिहासिक चार उपाधि जित्ने अभियानमा अघि बढेको छ । ‘यो खेलको जितले अर्को खेलका लागि ठूलो उत्साह थपेको छ । तर, हामी अर्को पीडादायी प्रतियोगिता खेल्दै छौं, जुन विशेषत: च्याम्पियन्स लिग र प्रिमियर लिग हुन् । ग्वार्डिओलाले चोट लागेका एमेरिक लापोर्टे र फर्नान्डिन्होलाई एक सातासम्म गुमाउन सक्नेछन् ।

प्रकाशित : फाल्गुन १४, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?