कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कराँते विवाद अन्त्यतर्फ

कुशल तिमल्सिना

काठमाडौँ — नेपाली कराँतेमा ८ वर्षदेखिको विवाद सार्थक समाधानको चरणमा अगाडि बढेको छ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सक्रियतामा अस्तित्वमा रहेका २ कराँते महासंघ भंग गरी तदर्थ समिति बनाइएको छ र यो समितिलाई निर्वाचन गर्न ३ महिनाको समयसीमा दिइएको छ ।

कराँते विवाद अन्त्यतर्फ

बुधबार मन्त्रालयमा आयोजित समारोहमा दुवै कराँते महासंघका पदाधिकारीको उपस्थितिमा सुनसरीका शम्भुप्रसाद आचार्यको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति बनाउने घोषणा गरियो । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तथा संघ विवाद, समस्या तथा समाधान सहजीकरण समितिका संयोजक पीताम्बर तिम्सिनाको पहलमा पुरेन्द्रविक्रम लाखे र दावा गुरुङ आआफ्नो नेतृत्वको महासंघ एकीकरण गर्न सहमत भएका हुन् ।


२०६८ सालमा युवराज लामा राखेप सदस्यसचिव बनेपछि लाखे नेतृत्वको महासंघले निर्वाचन गराउन नसकेको भन्दै दावा लामाको नेतृत्वमा तदर्थ समिति बनाएसँगै कराँते विवादले उग्र रूप लिएको हो । तदर्थ समितिले कराँते महासंघको इतिहासमै पहिलो निर्वाचन सम्पन्न गरेको दाबी थियो । सन् १९९४ मा हिरोसिमा एसियाडको ठीक अघि अन्तर्राष्ट्रिय कराँते फेडेरेसनको सदस्य पाएपछि नेपाल कराँते महासंघ स्थापित भएको हो ।


दुई महासंघको विवादमा सबैभन्दा प्रताडित खेलाडीहरू नै रहे । सन् २०१४ को इन्च्योन एसियाडमा छनोट प्रक्रियामै सहभागी नभएकी विमला तामाङलाई प्रतियोगितामा समावेश गरिएको थियो । उनले नेपालका लागि एकमात्र पदक जितेपछि विवाद छायामा पर्‍यो । २०१८ मा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा अन्तर्राष्ट्रिय निर्णायक छनोट भएका प्रकाशमोहन धौडेल विवादकै कारण सहभागी हुन सकेनन् । छनोट प्रक्रियाबाट योग्य बनेका राजकुमार रसाइलीले प्रतियोगिता खेल्न पाएनन् ।


राखेपका सदस्य दावा गुरुङ अध्यक्ष रहेको कराँते महासंघलाई राष्ट्रिय मान्यता थियो भने राखेपका पूर्वसदस्य एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे अध्यक्ष रहेको कराँते महासंघलाई अन्तर्राष्ट्रिय मान्यता थियो । एकीकृत २१ सदस्यीय केन्द्रीय कार्यसमितिमा गुरुङ सहअध्यक्ष तथा लाखे उपाध्यक्ष छन् ।


त्यस्तै महासचिवमा हरिशरण केसी, सहमहासचिवमा ओमकृष्ण प्रसाईं, सचिवमा बीआर मित्र र श्याम शेर्पा तथा कोषाध्यक्षमा सानुलाल श्रेष्ठ छन् । छत्र आले, राजेन्द्र बराल, देव लामा, मजेन्द्र सिंह, नारायण मगर, यादव काफ्ले, ध्वजमान मोक्तान, निवासगोपाल वैद्य, ध्रुवविक्रम मल्ल, तारा वली, दुर्गा गौतम परियार, रवि महर्जन र मिङमा तामाङ सदस्यमा चयन भए ।


पुनर्गठित कार्यसमितिलाई समयसापेक्ष विधान संशोधन गर्नुका साथै राखेपबाट स्वीकृत गराई ३ महिनाभित्र निर्वाचन गर्न समय सीमा दिइएको छ । संशोधित विधानमा तदर्थ समितिका अध्यक्षले भने निर्वाचनमा उम्मेदवारी दिन नपाउने प्रावधान छ ।


एकीकरण घोषणा कार्यक्रममा उपस्थित नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा संघीय सांसद जीवनराम श्रेष्ठले विवाद समाधान गर्न नसक्दा अपेक्षित परिणाम नआएको भन्दै दुवै पक्षको त्याग र उदारताको प्रशंसा गरे ।


सहजीकरण समितिका संयोजक तिम्सिनाले कराँतेको समस्या समाधान भएको र अब तेक्वान्दोको विवाद पनि चाँडै हल गर्ने बताए । सदस्य–सचिव केशवकुमार विष्टले विवाद अन्त्यले कराँतेको विकासमा ठूलो टेवा पुग्ने र एकीकरणको प्रभाव तल्लो तहसम्म महसुस हुनुपर्ने बताए ।


विघटित दुवै महासंघका अध्यक्षले कराँतेले निकास पाओस् भन्ने उद्देश्यले पछि हटिएको बताए । दुवैले कराँतेको विकासमा योगदान दिन कुनै कन्जुस्याइँ नगर्ने प्रतिबद्धता जनाए ।


दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेका दोहोरो स्वर्ण विजेता एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले विवादकै कारण १७ औं इन्चोन एसियाडमा कराँते खेलाडीले भोग्नुपरेको समस्याको स्मरण गर्दै व्यक्तिगत स्वार्थका लागि संस्थालाई विवादित बनाउन नहुने धारणा राखे ।


खेलाडी छँदादेखि नै कराँते विवादको कोपभाजनमा परेका दक्षिण एसियाली खेलकुद (साग) स्वर्ण विजेता दीपक श्रेष्ठले ढिलै भए पनि विवाद समाधानका लागि सरकारी प्रयासको सराहना गरेका छन् ।


‘फुटबल, क्रिकेटजस्ता खेलमा विवाद भए सरकारले तत्कालै विवाद समाधानको प्रयास गर्ने थियो । अन्तर्राष्ट्रिय पदकको हिसाबमा अग्रणी कराँतेको विवाद समाधानका लागि ८ वर्षको समय लाग्यो,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘सुरुदेखि नै सरकारी पहल भइदिए हुन्थ्यो भन्ने लागेको थियो । ढिलै भए पनि राम्रो भएको छ र सकारात्मक नतिजाको अपेक्षा छ ।’


पूर्वखेलाडी तथा वर्तमान प्रशिक्षक श्रेष्ठले सरकारको प्राथमिकताको आधारमा ३ महिनाभित्र विवाद पूर्ण समाधान हुनेमा विश्वस्त रहेको बताए । ‘विवादकै कारण अन्तर्राष्ट्रियस्तरमा हामी बदनाम भएका छौं, खेलको स्तर खस्किएको छ । अबको नयाँ नेतृत्वमा जो आए पनि अन्तर्राष्ट्रियस्तरमा पुनरागमन गराउने योजनासहित आउनुपर्छ र उसैले जित्नुपर्छ,’ श्रेष्ठले भने । पुस १८ गते सहजीकरण समिति गठन भएयता कराँतेसहित ३ खेल संघको एकीकरण भएको छ । यसअघि माघ ९ गते जिम्न्यास्टिक तथा फागुन १२ गते मोर्डन पेन्टाथलन संघको एकीकरण भएको थियो ।

प्रकाशित : फाल्गुन १६, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?