१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुर्खेतलाई उपाधि

कृष्णप्रसाद गौतम

सुर्खेत — आठौं राष्ट्रिय खेलकुद छनोटअन्तर्गत कर्णाली प्रदेशस्तरीय फुटबलमा सुर्खेत विजयी भएको छ । बिहीबार फाइनलमा हुम्लालाई ४–२ गोलले हराउँदै सुर्खेत उपाधि हात पार्न सफल भएको हो । 

वर्षाका कारण बुधबार रोकिएको फाइनल खेल बिहीबार निकै प्रतिस्पर्धात्मक बनेको थियो । खेलको निर्धारित समयमा गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । वीरेन्द्रनगर रंगशालामा भएको फाइनलमा धेरै समय बल आफ्नो नियन्त्रणमा लिएको सुर्खेतले पटक पटक गोल गर्ने अवसर पाए पनि सही निशाना लगाउन सकेन ।


हुम्लाले थुप्रै गोल गर्ने अवसर पाए पनि त्यसलाई सही सदुपयोग गर्न सकेन । पेनाल्टी सुटआउटमा सुर्खेतका सुजन शाही, सुदीप गुरुङ, विजयी शाही र धर्मेन्द्र शाहीले गोल गरे । हुम्लाका करण रावत र राजकुमार रोकायले गोल गरे । चक्रबहादुर लामा र लक्ष्मण बोहराको प्रहार गोल हुन सकेन ।


क्वाटरफाइनलमा जुम्लालाई हराएको सुर्खेत सेमिफाइनलमा कालीकोटलाई पराजित गर्दै फाइनल पुगेको थियो । लिग चरणका खेलमा दैलेखलाई हराएको हुम्ला सेमिफाइनलमा मुगुलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । बिहीबारको अर्को खेलमा कालीकोटलाई हराउँदै मुगु तेस्रो भयो । निर्धारित समयभित्र दुवै टोलीबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा मुगुले कालीकोटलाई ३–१ गोलले पन्छायो । खेल सकिन केही समय मात्र बाँकी रहँदा मुगुले पेनाल्टी पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन ।


फागुन २६ गतेसम्म सञ्चालन हुने छनोट प्रतियोगितामा खेलाडीले २१ खेलमा प्रतिस्पर्धा गरिरहेको प्रदेश खेलकुद परिषद् कर्णाली प्रदेशका प्रचारप्रसार संयोजक दीपक शाहीले बताए । राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशबाट २ सय ४५ पुरुष र १ सय ७६ जना महिलासहित ४ सय ११ जना खेलाडी सहभागी हुने उनले जनाए ।


आयोजकका अनुसार प्रदेशस्तरीय खेलकुदका लागि सुर्खेत, सल्यान, जाजरकोट, दैलेख, कञ्चनपुर र दाङ जिल्लालाई छनोट गरिएको छ । सुर्खेतमा आवश्यक रिङसहितको पूर्वाधार नभएकाले उसुका लागि दाङ र बक्सिङका लागि कञ्चनपुर छनोट गरिएको हो । प्रतियोगितामा २ सय ६४ स्वर्ण, २ सय ६४ रजत र ४ सय २ कांस्य पदकका लागि १० जिल्लाका एक हजार २ सय ४१ खेलाडीले २१ खेलमा प्रतिस्पर्धा गरिरहेको आयोजकले जनाएको छ ।

प्रकाशित : फाल्गुन १७, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?