१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मोमेन्ट अफ द इयरका दाबेदार

कुशल तिमल्सिना

काठमाडौँ — नेपाली क्रिकेट खेलाडी संघ (सीप्यान) को आयोजनामा क्रिकेट अवार्ड २०१९ को घोषणा मंगलबार हुँदै छ  । पहिलोपल्ट हुन लागेको अवार्ड पाँच विधामा प्रदान गरिनेछ  । त्यसअन्तर्गत एउटा अवार्ड हो, ‘मोमेन्ट अफ द इयर २०१८/१९’ । बितेका १३–१४ महिना नेपाली क्रिकेटका लागि निकै उपलब्धिमूलक थियो ।

मोमेन्ट अफ द इयरका दाबेदार

नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय एकदिवसीय र दोस्रो पटक ट्वान्टी–२० मान्यता पायो । नेदरल्यान्ड्स र यूएईसँग शृंखला खेल्यो । यूएईविरुद्ध जित्यो पनि । महिला क्रिकेट टोली १२ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल पुग्यो, त्यो पनि दुईटामा ।


सन् २०१८ को जनवरीदेखि २०१९ को फेब्रुअरीसम्म नेपाली पुरुष र महिला टोलीले खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिता वा शृंखलामा व्यक्तिगत रूपमा निर्णायक र उच्च प्रदर्शनका आधारमा ‘मोमेन्ट’ छनोट गरिएको छ । सामाजिक सन्जालमार्फत समर्थकको मतका आधारमा छनोट गरिने यो अर्वाडका लागि १० मोमेन्टलाई मनोनयनमा राखिएको छ । यस अवार्ड विधाका मनोनीत खेलाडी तथा टोलीलाई मत दिन सीप्यान क्रिकेट अवार्ड–२०१९ नामक फेसबुक पेजमा मतपत्र राखिएको छ । आफूलाई मनपरेको मोमेन्टमा भोट दिन सकिन्छ ।


‘समर्थकको सहजताका लागि हामीले सामाजिक सन्जालमा फर्म उपलब्ध गराएका छौं, हाम्रो अवार्डको आधिकारिक पेजबाट सहजै भोट गर्न सकिन्छ,’ राष्ट्रिय टोलीका कप्तान तथा सीप्यानका महासचिव पारस खड्काले भने, ‘यस विधामा सामाजिक सञ्जालमार्फत आउने समर्थकको मतमात्र गणना हुनेछ । एसएमएस र निर्णायक मण्डलको भूमिका रहने छैन ।’ फागुन २० गते मध्यरातसम्म मत दिन सकिनेछ ।

दीपेन्द्रसिंह ऐरी


सन् २०१८ को मार्च १५ मा आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ६ विकेटको जित निकाल्दै नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाएको थियो । विश्वकपमा छनोट हुन असफल भए पनि नेपालका लागि एकदिवसीय मान्यता ठूलो उपलब्धि थियो । त्यस खेलमा दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरे । पीएनजीलाई १ सय १४ रनमा समेट्ने क्रममा दीपेन्द्रले उत्कृष्ट बलिङ गरी ४ विकेट लिए । ४.२ ओभरमा उनले मात्र १४ रन खर्चे । त्यस्तै १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालका लागि ब्याटिङतर्फ पनि ५० रनको अविजित अर्धशतकीय इनिङ्स खेले । ५८ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए ।

ज्ञानेन्द्र मल्ल


यूएईविरुद्ध गत महिना नेपालले एकदिवसीय र ट्वान्टी–२० शृंखला खेलेर दुवैमा जित पाएको थियो । तीन ट्वान्टी–२० शृंखलाको तेस्रो तथा निर्णायक खेलमा नेपालले यूएईलाई हराउँदा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको फिल्डिङको निकै तारिफ भयो । वर्षाका कारण १० ओभरमा झारिएको खेलमा नेपालले यूएईलाई १ सय ५ रनको लक्ष्य दिएको थियो र यूएईलाई ९० रनमा रोक्ने क्रममा ज्ञानेन्द्रले ३ महत्त्वपूर्ण क्याच लिए । ज्ञानेन्द्रले करण केसीको बलमा साइमन अनवार र अविनाश बोहराको बलमा मोहम्मद बोतालाई क्याचआउट गराए । अन्तिम ओभरमा ललितनारायण राजवंशीको बलमा चन्द्रगापोइल रिजवनले प्रहार गरेको बल बाउन्ड्री नजिकै एक हातले लिएको क्याच निकै चर्चित बनेको थियो ।

करण केसी


सन् २०१८ को फेब्रुअरी १४ को दिन । नेपालले नामिबियामा आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत फाइनल प्रवेशका लागि निर्णायक खेलमा क्यानडासँग खेलेको थियो । १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले ४२.१ ओभरमा १ सय ४४ रन बनाउँदा ९ विकेट गुमायो । खेल नेपालको पकडबाट बाहिर गइसकेको थियो । तर, तीव्र गतिका बलर करण केसी र युवा स्पिनर सन्दीप लामिछानेले अन्तिम विकेटमा कीर्तिमानी साझेदारी गरी नेपाललाई अन्तिम बलमा जित दिलाए ।


यस खेलमा करणले ३१ बलमा ३ चौका र ४ छक्कासहित ४२ रनको संयमित, विष्फोटक र अविस्मरणीय इनिङ्स खेले । सन्दीपले ५ रन बनाएर उनलाई साथ दिए । क्यानडाविरुद्धको यही जितले नेपाल डिभिजन २ को फाइनलमा पुग्दै विश्वकप छनोटका लागि योग्य भएको थियो । विश्वकप छनोटमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने आधार करणले नामिवियाविरुद्धको खेलमा बनाएका थिए । करणको त्यो इनिङ्सले नेपाली क्रिकेट उच्च स्तरमा पुगेको हो ।

पारस खड्का


१० वर्षदेखि नेपाली क्रिकेट टोलीको नेतृत्व लिएका पारस खड्काको योगदान डिभिजन ५ देखि एकदिवसीय अन्तर्राष्ट्रिय हुँदै अहिलेसम्म पनि अतुलनीय छ । यूएईविरुद्ध हालै सम्पन्न एकदिवसीय शृंखलामा उनले अन्तर्राष्ट्रिय एकदिवसीयमा पहिलो शतक प्रहार गरे । यूएईविरुद्धको तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा २ सय ५५ रनको ठूलो लक्ष्य पछ्याएको नेपालको इनिङ्स कप्तान पारस एक्लैले सम्हाले । तेस्रो नम्बरमा ब्याटिङमा आएका उनले १ सय ९ बलमा १५ चौका र १ छक्का सहयोगमा १ सय १५ रनको शतकीय इनिङ्स खेले । उनकै शतकीय इनिङ्सको सहयोगमा नेपालले ऐतिहासिक एकदिवसीय शृंखला जितेको थियो । पारसले करिअरको चौथो शतक प्रहार गरेका हुन् ।

रोहितकुमार पौडेल


१६ वर्षीय क्रिकेटर रोहितले आफ्नो प्रतिभा यूएईविरुद्धकै दोस्रो एकदिवसीय खेलमा प्रमाणित गरे । पहिलो खेल हारेर दबाबमा आएको नेपालका लागि उनले दोस्रो खेलमा ५५ रनको अर्धशतकीय इनिङ्स खेले । ५८ बल खेलेर ७ चौका प्रहार गरेका थिए । यो इनिङ्सले उनको परिचय फेरियो । रोहितले अन्तर्राष्ट्रिय एकदिवसीयमा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाए । १६ वर्ष १ सय ६८ दिन उमेरमा उनले त्यो उपलब्धि हासिल गरेका थिए । भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शहिद अफ्रिदीको कीर्तिमान तोडेका थिए ।

रूबिना क्षेत्री


नेपालले १२ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा स्थान बनाउँदा थाइल्यान्ड वुमन ट्वान्टी–२० स्म्यास क्रिकेटमा इन्डोनेसियाविरुद्धको पहिलो सेमिफाइनलमा कप्तान रूबिनाको प्रदर्शन सानदार थियो । १ सय २० रनको लक्ष्य पछ्याएको इन्डोनेसियालाई २७ रनमै अलआउट गर्ने क्रममा रूबिनाले ३.२ ओभरमा ४ विकेट लिइन् । आफ्नो स्पेलमा उनले २ मेडन राख्दै मात्र २ रन खर्चेकी थिइन् । हालै थाइल्यान्डमै भएको विश्वकप एसियाली छनोटको आफ्नो अन्तिम खेलमा कुवेतविरुद्ध रूबिनाले ह्याट्रिक विकेट लिइन् । जुन अन्तर्राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेटमै पहिलो ह्याट्रिक हो ।

सन्दीप लामिछाने


नेपाली युवा सनसनी सन्दीप लामिछाने नेपाली क्रिकेटको ग्लोबल एम्बासडरजस्तै बनेका छन् अहिले । करिब विश्वभरकै फ्रेन्चाइज लिगमा आफ्नो लेग स्पिनको जादू देखाएका उनले गत वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) बाट विदेशी फ्रेन्चाइज लिगको सुरुआत गरेका थिए । त्यसयता उनले अस्ट्रेलियाको बिग–बास लिग, क्यानडामा ग्लोबल ट्वान्टी–२० लिग, क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, टी–१० लिग खेलिसकेका छन् । उनले अहिले पाकिस्तान प्रिमियर लिग खेलिरहेका छन् ।

सोमपाल कामी


सोमपाल कामी नेपाली राष्ट्रिय टोलीका मुख्य बलर हुन् । हालै यूएईविरुद्धको एकदिवसीय शृंखलामा उनले करिअरकै उत्कृष्ट प्रदर्शन गरे । यूएईविरुद्धको पहिलो खेल गुमाएको नेपालका लागि दोस्रो खेल जित्नैपर्ने अवस्थामा थियो । नेपालले दिएको २ सय ४३ रनको लक्ष्य पछ्याएको यूएईलाई ९७ रनमै समेट्ने क्रममा सोमपालले सर्वाधिक ५ विकेट लिए । उनले ६.३ ओभरमा १ मेडनसहित ३३ रन खर्चेका थिए । एकै खेलमा ५ विकेट लिने सोमपाल पहिलो नेपाली क्रिकेटर हुन् ।

सन्दीप जोरा


रोहित पौडेलले एकदिवसीयमा बनाएकै जस्तो कीर्तिमान ट्वान्टी–२० मा सन्दीप जोराको नाममा छ । यूएईविरुद्धको शृंखलाअन्तर्गत पहिलो ट्वान्टी–२० खेल नेपालले पराजित भए पनि ब्याटिङमा सन्दीपले ५३ रनको अर्धशतकीय अविजित इनिङ्स खेले । ४६ बलमा उनले ३ चौका र १ छक्का प्रहार गरे । उनी ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छा खेलाडी बने ।

राष्ट्रिय महिला टोली


नेपालमा महिला क्रिकेट गतिविधि नगन्य छ । घरेलु संरचना नै राम्रो नभएपछि अन्तर्राष्ट्रिय सहभागिता पनि आक्कलझुक्कल मात्र हुने गर्छ । नेपालले पछिल्लो दुई महिनाबीचमा दुई प्रतियोगिता खेल्यो र दुवैमा फाइनल पुग्यो । गत महिना थाइल्यान्डमा भएको थाइल्यान्ड वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेटमा इन्डोनेसियालाई पराजित गरी नेपाल १२ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल पुग्यो । उपाधिका लागि घरेलु टोली बाधक बन्यो ।


त्यसको १ महिनापछि भर्खर सम्पन्न एकदिवसीय तथा ट्वान्टी–२० विश्वकप एसिया छनोटमा पनि नेपाल उपविजेता बन्यो । मोमेन्ट अफ द इयरसहित मंगलबार पाँच विधामा अवार्ड प्रदान गरिने सीप्यानले जनाएको छ । क्रिकेटर अफ द इयर (पुरुष र महिला), इमर्जिङ क्रिकेटर अफ द इयर तथा लाइफटाइम एचिभमेन्ट अवार्ड दिइनेछ । उत्कृष्ट पुरुष क्रिकेटरले १ लाख ३२ हजार पुरस्कार पाउनेछन् भने अन्य विधाका विजेताले ६६ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित : फाल्गुन १८, २०७५ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?