कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पूर्वाधार अधुरै, खेलाडीलाई सकस

टीकाप्रसाद भट्ट

रामेछाप — माघ र फागुनको दोस्रो साता रामेछापमा भलिबलका महत्त्वपूर्ण दुई प्रतियोगिता आयोजना भए । तर प्रतियोगिता साह्रै कठिन रूपमा सकिएको थियो । कारण, गतिलो खेल मैदान नहुनु ।

पूर्वाधार अधुरै, खेलाडीलाई सकस

जिल्ला समन्वय समितिको धूले रातमाटोमा बनाइएको खेल मैदानमा पानी छिट्याउने बित्तिकै चिप्लिएर खेल्न नसक्दा खेलाडी र सञ्चालकले हैरानी खेप्नुसम्म खेपे । आयोजकले घरी बालुवा हाले घरी धानको भुस हालेर जसोतसो निर्धारित समयभन्दा ढिलो गरेर भए पनि प्रतियोगिता सम्पन्न गरे ।


‘जिल्ला खेलकुद विकास समितिले हरेक वर्ष आयोजना गर्ने सर्वाधिक राशिको राष्ट्रियस्तरको भलिबलमा राष्ट्रियमात्र हैनन्, अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी भाग लिन आउँछन्,’ स्थानीय रामहरी उप्रेती भन्छन्, ‘उनीहरूले खेल्ने मैदान हेर्दै लाजमर्दो अवस्थाको छ ।’


जिल्ला खेलकुद विकास समितिले अर्को विकल्पबारेमा योजना बनाउनै सकेको छैन । जहाँ निर्माण गर्ने हो त्यसको टुंगो लगाएर व्यवस्थित पूर्वाधार बनाउनुपर्नेमा उप्रेतीले जोड दिए । जिल्ला सदरमुकाममा खेलकुदको पूर्वाधारको नाममा धेरै लगानी भइसकेको छ ।


नेतृत्व परिर्वतन हुनेबित्तिकै पूर्वाधार निर्माण पनि फरक–फरक स्थानमा गर्दा कुनै एउटा स्थानमा पनि गतिला पूर्वाधार बन्न सकेका छैनन् । थोरै लगानी गर्ने अनि त्यसलाई चटक्कै छाडेर फेरि अर्को स्थानमा लगानी गर्दा कुनै स्थानमा पनि कामलाग्ने पूर्वाधार बन्न नसकेका हुन् । जिल्ला खेलकुद विकास समितिमा नेतृत्व फेरिएपिच्छे फरक अवधारणा अघि सार्दा खेलकुद पछि परेको गुनासो खेलाडीको छ ।


जिल्ला खेलकुद विकास समितिका सचिव केशव कटेलका अनुसार समितिले सुरुमा सानीमदौलाई खेलक्षेत्रका रूपमा अघि सारेर उक्त स्थानमा लाखौं खर्च गर्‍यो । नेतृत्व फेरिएपछि सानीमदौलाई अलपत्र छाडेर गडुबारीमा खेलकुदको पैसा बग्यो । त्यहाँ पनि अलपत्र नै छाडेर तेस्रो स्थानमा कभर्डहल बनाउने नाममा जग्गा खरिद गर्‍यो । उक्त जग्गामा कभर्डहल निर्माण सम्भव भएन । छोड्यो । चौथो स्थान भुत्याहा खोलामा फुटबल मैदानका लागि लगानी गरिएको छ । त्यो पनि साँघुरो छ ।


जिल्ला सदरमुकाममा हालसम्म कभर्डहल छैन । बिहानै कराँते खेल्ने बालबालिका चिसो खुला मैदानमा अभ्यास गर्न बाध्य छन् । ब्याडमिन्टनका लागि पनि जिल्ला समन्वय समितिले बिहानैदेखि आफ्नो ढोका खोली दिनुपर्छ । कभर्डहलबिना धेरै प्रतियोगिताहरूले नियमितता पाउन सकेका छैनन् भने खेलकुदमार्फत शारीरिक व्यायाम गर्ने सदरमुकामवासीले उपयुक्त ठाउँ पाएका छैनन् ।


मन्थली नगरपालिकाले हालै सम्पन्न भलिबल प्रतियोगिताका लागि १२ लाख रुपैयाँ उपलब्ध गरायो । प्रतियोगिताका लागि १२ लाख खर्चिने नगरले पूर्वाधारको नाममा उल्लेख्य रकम नहालेको मात्र नभै नगरको खेलक्षेत्र यो स्थानमा विकास गर्ने भन्ने कुराको टुंगो पनि लगाएको छैन ।


जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुरुषोत्तम कडरिया आउने दिनमा पूर्वाधारको निर्माणका लागि समितिले पहल थालेको बताउँछन् । सानीमदौ क्षेत्रमा फुटबल मैदान बनाउन सर्भे भएको र आकाशेमा बहुउद्देश्यीय खेलकुद हल निर्माणका लागि डीपीआर भइरहेको कडेरियाले बताए । फुटबल मैदानका लागि लगानी थोरैले पुग्ने भए पनि बहुउद्देश्यीय हल निर्माणका लागि करिब १५ करोड लाग्ने अनुमान गरिएको छ । प्रदेश सरकारले यो वर्ष हल निर्माणका लागि ५० लाख विनियोजन गरेको उनले बताए ।

प्रकाशित : फाल्गुन २०, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?