चितवनलाई मेयर्स कप

रमेशकुमार पौडेल

चितवन — ब्याटिङमा खासै जम्न नसके पनि बलिङमा गरेको कमालले चितवन क्रिकेट क्लबलाई १६ औं मेयर्स कप चितवन च्याम्पियनसिप ट्रफीको विजेता बनाएको छ ।

चितवनलाई मेयर्स कप

चितवन जिल्ला क्रिकेट संघले नारायणगढ क्याम्पाचौरमा आयोजना गरेको प्रतियोगिता फाइनलमा चितवनले बाराको कलैया क्रिकेट क्लबलाई ५४ रनले पराजित गर्‍यो । चितवनले एक लाख रुपैयाँ र ट्रफी हात पार्‍यो । कलैयाले ५० हजार पाएको छ ।


टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर पूरै खेल्दा ७ विकेट गुमाई १ सय ९ रन बनायो । राम कार्कीले ३१ रन बनाए । ४७ बल खेलेका उनले एक चौका र एक छक्का प्रहार गरे । उनीभन्दा अघि ओपनर आकाश थापा ११ बल खेलेर १ रनमै आउट भए । तीन बल सामना गरेकासन्तोष न्यौपानेले २ रन जोडे । दिपेश श्रेष्ठले एक छक्का र एक चौका हानेर ३० बलमा २६ रन बनाए । चितवनले १७ अतिरिक्त रन पाएको थियो ।


कलैयाका बलर आशुतोष पटेलले ४ ओभरमा एक मेडन राख्दै १९ रन दिएर २ विकेट लिए । अदिल अन्सारीले ६ रन दिएर २ विकेट लिए । तीन ओभर बलिङ गरेका अनिल साहले १३ रन दिई २ विकेट लिए ।


चितवनका किशोर महतो चम्केपछि १ सय १० रनको लक्ष्य पार गर्न कलैयालाई कठिन भयो । किशोरले ५ विकेट लिए । कलैयाका चार खेलाडी शून्य रनमा आउट भए । कलैयाले १२.३ ओभर खेल्दा सबै विकेट गुमाउँदै ५५ रनमात्रै बनायो । ६ बल खेलेका ओपनर हासिम अन्सारी (०) किशोरको बलमा आउट भए । एक बल खेलेका अमित श्रेष्ठलाई पनि दीपेश श्रेष्ठले शून्यमै आउट गरे ।


कलैयाले तीन रन जोड्दा ३ र १२ रन जोड्दा सातौं विकेट गुमाइसकेको थियो । कलैयाबाट सर्वाधिक रन शिव तण्डुकारले बनाए । २३ बल खेलेका उनले तीन चौका र एक छक्का मदतमा २३ रन बटुले । कुमार थापाले १८ बलमा दुई चौका मदतले ११ रनमात्रै बनाए ।


किशोरले ३.३ ओभरमा ५ विकेट लिँदा ९ रनमात्रै खर्चे । उनी फाइनल म्यान अफ द म्याचसहित उत्कृष्ट बलर पनि घोषित भए । उत्कृष्ट ब्याट्सम्यान धनगढी क्रिकेट एकेडेमीका राजु रिजाल भए । म्यान अफ द सिरिज चितवनकै दीपेश श्रेष्ठ भए । विजेतालाई चितवन उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष देसीराम प्रधानले पुरस्कार दिए ।


फ्रतियोगितामा चितवन र कलैयासहित धनगढी क्रिकेट एकेडेमी, वाइवाइ ग्रेट हिमालयन त्रिकेट एकेडेमी, मकवानपुर क्रिकेट क्लब र भरतपुर क्रिकेट क्लब सहभागी रहेको चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले जानकारी दिए । उपविजेता कलैयाले पुरस्कारको १० प्रतिशत रकम भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला बनाउने तयारीमा लागेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई दिने भएको छ ।

प्रकाशित : फाल्गुन २१, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?