भारतको रोचक जित

एएफपी

नगपुर — विजय शंकरले अन्तिम ओभरमा २ विकेट लिएपछि भारतले मंगलबार कम स्कोरको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियामाथि ८ रनको जित हात पारेको छ । 

भारतको रोचक जित

अस्ट्रेलियालाई अन्तिम ओभरमा विजयनिम्ति ११ रन आवश्यक थियो । टोलीसँग २ विकेट बाँकी थियो । तर केवल छैटौं एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै गरेका शंकरले संयमित बलिङ गरी २ विकेट लिएपछि भारतले रोमाञ्चक जित हात पारेको हो ।


कप्तान विराट कोहलीले १ सय १६ रन बनाउँदा टस जितेर ब्याटिङ गरेको भारत ४८.२ ओभरमा २ सय ५० रनको मध्यम स्कोरमा अलआउट भयो । नियमित जस्तो बलिङ गरिरहने कुलदीप यादवको स्थानमा अन्तिम ओभर बलिङ गर्न आएका शंकरले आफ्नो छनोटलाई सही ठहर्‍याइदिएपछि अस्ट्रेलिया ४९.३ ओभरमा २ सय ४२ रनमा अलआउट भयो । मार्कुस स्टोइनिसले सर्वाधिक ५२ रन बनाए । अन्तिम ओभरको पहिलो बलमा आउट हुनुपूर्व उनले ६५ बल खेली ४ चौका र १ छक्का प्रहार गरे ।


एकदिवसीय अन्तर्राष्ट्रियमा भारतको यो ५ सय जित हो । आरोन फिन्चले ३७ र उस्मान ख्वाजाले ३८ रन बनाउँदै पहिलो विकेटमा ८३ रन जोड्दै अस्ट्रेलियालाई राम्रो सुरुआत दिलाए । ग्लेन म्याक्सवेल १८ रन बनाई कुलदीपको बलमा बोल्ड भए । पिटर ह्यान्ड्सकोम्ब ४८ रनमा रनआउट हुनु अस्ट्रेलियाका लागि दुर्भाग्य बन्यो । ५९ बल खेलेका उनले ४ चौका प्रहार गरे ।


कुलदीपले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । जसप्रित बुमराहले २ विकेट लिनेक्रममा १० ओभरमा २९ रनमात्र खर्चे । अन्तिम ओभरमा आउनुअगाडि शंकरले एक ओभर गरेका थिए । रवीन्द्र जडेजा र केदार जाधवले १–१ विकेट लिए ।


यसअघि कोहलीले ४० औं शतक बनाएका थिए । उनले १ सय २० बलको इनिङ्समा १० चौका प्रहार गरे । रोहित शर्मा शून्य र शिखर धवन २१ रनमा आउट भएपछि कोहली जमेका थिए । उनले शंकरसँग चौथो विकेटमा ८१ रनको साझेदारी गरे । शंकरले ४६ बलमा ४१ रन बनाउदै प्रभाव पारेका थिए । जडेजाले २१ रन बनाए ।


अस्ट्रेलियाका प्याट कुमिन्सले ९ ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर ४ विकेट लिए । एडम जाम्पाले २ तथा ग्लेन म्याक्सवेल, नाथन लायन र निल कटलरले १–१ विकेट लिए ।

प्रकाशित : फाल्गुन २२, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?