कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१३ औं साग अब मंसिरमा

'जुनसुकै हालतमा गर्छौं'
कुशल तिमल्सिना

काठमाडौँ — पूर्वनिर्धारित तालिकाअनुसार १३ औं दक्षिण एसियाली खेलकुद (साग) यही फागुन महिनामा आयोजना हुनुपर्ने थियो । भताभुंग पूर्वाधारलाई व्यवस्थित बनाउने कामले गति नलिएपछि प्रतियोगिता ९ महिना पछि सरेको छ । 

१३ औं साग अब मंसिरमा

युवा तथा खेलकुद मन्त्रालयको आग्रहअनुसार थाइल्यान्डमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले डिसेम्बर १ देखि १० (मंसिर १५–२४, २०७६) सम्म आयोजना गर्ने निर्णय गरेको छ । दोस्रोपल्ट तय गरिएको मितिमा पनि प्रतियोगिता हुनेमा शंका गर्ने आधारहरू छन् ।


एक साताअघि मात्र खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका सचिव कृष्ण देवकोटाले भने जुनसुकै हातलमा निर्धारित समयमै साग सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । आफू मन्त्रालयको जिम्मेवारीमा आइसकेपछि रोकिएका कामले पनि गति लिने सचिव देवकोटाको दाबी छ । सरकारले त्यहीअनुसार सागको सम्पूर्ण तयारी एकैपल्ट सुरु गर्ने उनले बताए ।


‘भौतिक पूर्वाधार र अन्य प्राविधिक तयारी नपुगेका कारण निर्धारित प्रतियोगिता सार्नुपरेको हो, घोषित नयाँ मितिमा प्रतियोगिता सम्पन्न गर्न सरकार प्रतिबद्ध छ,’ सचिव देवकोटाले भने, ‘अगस्टसम्म हामीले पूर्वाधारका सम्पूर्ण काम सक्छौं, बाँकी समयमा अन्य काम पूरा गर्नेछौं ।’


राष्ट्रको पहिचान बढाउने खेलकुदका लागि नियम कानुन बाधक भए त्यसलाई संशोधन गरेर अघि बढ्नुपर्ने सचिव देवकोटाले बताए । भौतिक पूर्वाधार निर्माण कार्य सुस्त भइरहेको गुनासोबारे उनले भने, ‘अबको १५ दिनपछि हेर्न जानुस्, कसरी काम हुन्छ ।’


१३ औं साग काठमाडौं र पोखरामा आयोजना गर्ने सरकारको तयारी छ । मंगलबार पत्रकार सम्मेलनमा सचिव देवकोटाले प्रदेश सरकारले सक्रियता देखाएमा अन्य प्रदेशमा पनि सागका केही खेल आयोजना गर्न सकिने बताए ।


‘पूर्वाधार सम्पन्न भएका अन्य प्रदेशमा पनि केही खेल आयोजना गर्न सकिने कुरा भएको छ, यही महिनाको अन्तिममा विराटनगरमा हुने महिला साफ च्याम्पियनसिपपछि यसबारे बृहत छलफल गरी निर्णय गरिनेछ,’ उनले भने ।


साग खेलकुदका लागि मुख्य खेलस्थलको रूपमा दशरथ रंगशाला र पोखरा रंगशालालाई प्रयोग गरिने नेपाल ओलम्पिक कमिटी (एनओसी) को तयारी छ । दुवै रंगशाला पुनर्निर्माणकाक्रममा छन् । दशरथ रंगशाला पुनर्निर्माणको बाँकी काम चिनियाँ पक्षले जिम्मा लिएर सुरु गरेको छ । दशरथ रंगशालाको एथलेटिक्स ट्र्याक र स्कोर बोर्डको निर्माण चीन सरकारको सहयोगमा हुँदै छ । प्यारापिट निर्माण कार्य भइरहेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले फागुनमा सम्पन्न हुने दाबी गरेको रंगशाला पुनर्निर्माण सम्पन्न हुन अझै कम्तीमा ६ महिना लाग्नेछ । पोखरा रंगशालाको प्यारापिटदेखि चेन्जिङ रुमलगायतका संरचना निर्माण सुरु भएकै छैन । सातदोबाटोको वातानुकूलित पौडीपोखरीको निर्माण सम्पन्न भएको छैन ।


सचिवले भनेजस्तो पूर्वाधार निर्माण तथा पुनर्निर्माणमा सरकारले लक्ष्यअनुसार सजिलै काम नहुने अन्य कारणहरू पनि छन् । अन्तर मन्त्रालय समन्वयको अभावमा अर्थ मन्त्रालयबाट समयमै बजेट निकासा नहुने वा सिलिङअनुसार बजेट नआउने गुनासो खेलअधिकारीहरूकै छ । यो बीचमा आर्थिक वर्ष अन्त्य हुने र सुरु हुने समय पर्छ । बर्खा लागेपछि निर्माणको काम गर्न कठिनाइ हुन्छ । व्यावहारिक रूपमा पूर्वाधार निर्माण सम्पन्न गर्न कठिन छ ।


ओलम्पिक कमिटीका अध्यक्ष तथा संघीय सांसद जीवनराम श्रेष्ठले सन् २०१९ भित्र साग खेलकुद गर्न नसके नेपालले आयोजना अवसर गुमाउने आशय व्यक्त गरे । ‘१२ औं साग समापनमा तत्कालीन खेलकुदमन्त्रीज्यूले प्रतियोगिता आयोजनाको जिम्मा लिएर आउनुभएको थियो । यसबीचमा तयारीको कमी रह्यो । अब अन्तिमपल्ट मिति निर्धारण भएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सबै सदस्य राष्ट्रहरू नयाँ मितिमा सहमत भएका छन् ।’


राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले पनि राखेप, खेलकुद मन्त्रालयलगायतका जिम्मेवार निकायहरू जसरी पनि १३ औं साग तोकिएकै मितिमा आयोजना गर्न लागिपर्ने जनाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पनि यही वर्षभित्र प्रतियोगिता आयोजना गर्नुपर्नाका महत्त्वबारे अनौपचारिक रूपमा जानकारी गराइएको बताए ।


१३ औं सागमा भारतमा गुवाहटी र सिलोङमा भएको १२ औं संस्करणमै समावेश २५ खेल र आयोजकका नाताले नेपालले २ खेल गरी २७ खेलका प्रतिस्पर्धा हुनेछ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको यसअघिको बैठकले क्रिकेट र पाराग्लाइडिङ खेल थप्ने निर्णय सर्वसम्मत रूपमा गरेको थियो ।


डिसेम्बर महिनामा पानीसँग सम्बन्धित खेल आयोजना गर्न कठिन हुने भएकाले सातदोबाटोमा बन्न लागेको वातानुकूलित पोखरीमा पौडी र ट्रायथलनका खेल आयोजना गरिने कमिटीका अध्यक्ष श्रेष्ठले जनाए । उनले भने, ‘२५ मिटरको पौडीपोखरीमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिन्छ ।’

प्रकाशित : फाल्गुन २२, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?