महिला साफ च्याम्पियनसिप : साफ तयारी पूरा

विनोद भण्डारीे

विराटनगर — पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । फागुन २८ गते आयोजक नेपाल र भुटानबीच सहिद रंगशालामा उद्घाटन खेल हुँदै छ । अखिल नेपाल फुटवल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रतियोगिताको तयारी पूरा भएको बताएका छन् ।

महिला साफ च्याम्पियनसिप : साफ तयारी पूरा

उनका अनुसार प्रतियोगितामा सहभागी हुने टोली भारत, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्स फागुन २६ सम्म आइपुग्ने छन् । आन्तरिक समस्या जनाउँदै पाकिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएको छ ।

सहभागी टोलीका खेलाडी, व्यवस्थापक र प्राविधिकलाई काठमाडौंबाट विराटनगर ल्याउने र खेल सकिएपछि फर्काउन जहाजको व्यवस्था एन्फाले गरेको उनले बताए । सबै टोलीका खेलाडी, व्यवस्थापक र प्राविधिकहरू बस्ने व्यवस्था पूरा गरिसकेको संघका उपाध्यक्ष तथा तयारी समिति संयोजक पंकजविक्रम नेम्वाङले बताए । उनका अनुसार खेलाडीका लागि अभ्यास गर्न जुट मिलको मैदान, डीपीएस स्कुलको मैदान र सुनसरी दुहबीको खेल मैदान व्यवस्था गरिएको छ ।

यसै प्रतियोगितालाई सहिद मैदानको स्तरोन्नति गरिएको छ । रंगशलामा करिब १० हजार दर्शक अट्ने क्षमता छ । जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख देवराज कटवालका अनुसार पहिला ७ हजार ५ सय दर्शक अटाउँथे । अहिले उत्तरतर्फ करिब ३० मिटर प्यारापिट बढाएर २ हजार ५ सय दर्शक क्षमताको बनाइएको छ ।

यस दक्षिण एसियाली महिला फुटबलका लागि विराटनगर महानगरपालिकाले १ करोड खर्च गरेर खेलाडीका लागि चेन्जिङ रुम, शौचालय, सडक निर्माणलगायत काम गरेको नगरप्रमुख भीम पराजुलीले बताए । त्यसैगरी महानगरको ८० लाख र राष्ट्रिय खेलकुद परिषद्को १ करोड ५० लाखको लागतमा मैदानमा माटो भर्ने, ड्रेन निर्माण गरी मैदानमा जम्ने पानी निकासका लागि माटोमुनि पाइप बिछ्याइएको छ ।

त्यही बजेटले उत्तरतर्फको ३० मिटर प्यारापिट निर्माण गरी बाँकी प्यारापिट मर्मतसहित तीव शौचालय बनाइएको कटुवालले बताए । यस मैदानमा यसअघि २०५४ सालमा महिलाको राष्ट्रिय फुटबल प्रतियोगिता गरिएको थियो ।

विराटनगर महानगरले सहिद मैदानआसपास र खेलाडी बस्ने होटलदेखि रंगशालाको सडक निर्माण कार्यलाई उच्च प्राथमिकता दिएको छ । रंगशालाको दक्षिण, पश्चिम, गोश्वारा रोड, जेनियल रोड, डीएसपी मार्गसहित साफ च्याम्पियनसिपका लागि महानगरले जिम्मा लिएका सडक आइतबारसम्म निर्माण सम्पन्न हुने नगरप्रमुख पराजुलीको भनाइ छ । उनका अनुसार त्यसबाहेकका अन्य निर्माणाधीन सडकमा धुलो उड्न नदिन नियमित पानी छर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिता सुरुदेखि अन्त्यसम्म खेलाडीले मैदान आउने र होटल फर्कंदा प्रयोग गर्ने सडकमा पार्किङ बन्द गर्ने र ती सडकमा जाम हुन नदिने ट्राफिक व्यवस्था गरिएको मोरङका ट्राफिक प्रहरी प्रमुख निरीक्षक शिवप्रसाद पोखरेलले बताए ।

नेपाली टिम घोषणा

नेपाली महिला टोलीका प्रशिक्षक हरि खड्काले पाँचौं साफ च्याम्पियसिप फुटबलका लागि बिहीबार निरु थापाको कप्तानीमा २० सदस्यीय नेपाली टोली घोषणा गरेका छन् । टोलीमा अनुभवी फरवार्ड अनु लामा, मिडफिल्डर विमला चौधरी र डिफेन्डर सुनीता चौधरी अटाएनन् । उनीहरूको स्थानमा क्रमशः रेखा पौडेल, शर्मिला थापा र पूजा रानालाई समावेश गरिएको खड्काले बताए । रेखा र पूजाको राष्ट्रिय टोलीमा डेब्यु हुनेछ ।

गोलकिपरमा अन्जना रानामगर, उषा नाथ र एन्जिला तुम्बापो सुब्बा, डिफेन्समा हरिकुमारी भुजेल, गीता राना, पूनम जर्घामगर, अमृता जैसी, कविता धिमाल, पूजा लामा र मनमाया लिम्बु छन् । मिडफिल्डमा अनिता बस्नेत, दीपा राई, मञ्जलीकुमारी योञ्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटे र अनिता केसी, फरवार्डमा रेखा पौडेल, निरु थापा र सावित्रा भण्डारी छन् ।

प्रकाशित : फाल्गुन २४, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?