कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पीएसजीको फेरि पुरानै कथा

एएफपी

पेरिस — यति धेरै खर्च, फेरि उही पुरानै कथा । एक अर्को वर्ष, फेरि एकपल्ट च्याम्पियन्स लिगमा खराब प्रदर्शन । यो कथा हो, पेरिस सेन्ट जर्मेन (पीएसजी) को । पीएसजी खुबै महत्त्वाकांक्षी छ र ठू–ठूला कुरा गर्छ । उसका कतारी मालिकले एक दशकमा करोडौं डलर खर्च गरिसकेको छ, युरोपकै सबैभन्दा बलियो टिम बनाउन ।

पीएसजीको फेरि पुरानै कथा

तर लगातार तेस्रो वर्ष युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा पीएसजी पहिलो चरणको नकआउटबाटै बाहिरिएको छ ।


पीएसजी बुधबार रातिको खेलमा म्यानचेस्टर युनाइटेडको हातबाट स्तब्ध बन्यो । म्यानचेस्टर घरबाहिरको गोलका आधारमा अघि बढ्न सफल रह्यो । प्रशिक्षकहरू आए र गए । धेरै ठूला स्टारले पनि क्लबसँग अनुबन्ध गरे । तर यी सबैका बाबजुद पीएसजी च्याम्पियन्स लिगमा असफल नै साबित भएको छ । सन् २०१७ अगाडि पीएसजीले लगातार चार क्वाटरफाइनल यात्रा तय गरेको थियो, तर अगाडि बढ्न सकेन । त्यो वर्षपछि बार्सिलोनाविरुद्ध पीएसजी पहिलो लेगमा ४–० ले विजयी रहेको थियो । तर दोस्रो लेगमा त्यही बार्सिलोनासँग ६–१ को अपत्यारिलो हार बेहोर्न बाध्य रह्यो ।


त्यसयता कतार स्पोर्टस इन्भेस्टमेन्टले नयाँ खेलाडीका लागि मात्र पनि ५६ करोड ५० लाख डलर खर्च गरिसकेको छ । त्यसमध्ये पीएसजीले दुई ठूला स्टारलाई पनि अनुबन्ध गरेको छ । ती हुन् नेयमर र केलियन एमबाप्पे । तर यी सबै अनुबन्धले पनि क्लबलाई युरोपेली क्लब फुटबलमा सफल बनाउन सकेन । बरु क्लबमाथि थप दबाब सिर्जना भएको छ ।


एकातर्फ कतारले क्लबमा लामो समय लगानी नगर्ने खतरा छ भने अर्कोतर्फ क्लबमाथि युरोपेली फुटबल महासंघको आचारसंहिता उलंघन गरेको गम्भीर आरोप पनि छ । गत वर्ष पीएसजी रियल म्याड्रिडको हातबाट पराजित भएको थियो । त्यति बेला दोस्रो लेगको खेलमा नेयमर घाइते थिए र खेल्न सकेनन् । यसपल्ट पनि नेयमर घाइते स्थितिमै छन् । एमबाप्पे लयमा छैनन् । र, पीएसजी यसपल्ट निराश हुनुपरेको छ म्यानचेस्टरसँग ।


बुधबार मैदानमा उत्रँदा त्यस्तो म्यानचेस्टर थियो, जसका प्रमुख खेलाडी घाइते थिए । स्थिति कस्तोसम्म थियो भने म्यानचेस्टरको बेन्चमा दुई किशोर खेलाडी पनि थिए, जसले अहिलेसम्म आफूलाई सिद्ध गरेका छैनन् । टिम जस्तै होस्, उसका लागि मार्कस रसफोर्डले इन्ज्युरी समयमा गोल गरे । यो ‘भार’ को विवादास्पद नियममा आधारित थियो । त्यो अर्थमा बुधबारको रात पीएसजीका लागि बिर्सनलायक रह्यो भने म्यानचेस्टरका लागि सम्झनलायक ।


‘निकै खराब स्थिति’, फ्रान्सको प्रसिद्ध खेलपत्रिकाले लेखेको छ । त्यसभित्र प्रसिद्ध कमेन्टेटर भिन्सेन्ट डुलुकले लेखेका छन्, ‘पीएसजीको अहिलेको टिममा एक–से–एक स्टार छन्, तर उनीहरू पनि निर्णायक मोडमा कमजोर साबित हुन्छन् । त्यसले पनि देखाउँछ, अहिलेको टिम वास्तवमै कति नाजुक छ भनेर ।’ बार्सिलोनाविरुद्ध आधा दर्जन गोलले पराजित खेलमा सहभागी सात खेलाडीले यसपल्ट पीएसजीका लागि फेरि खेले म्यानचेस्टरविरुद्ध ।


सायद उनीहरूको मनमा त्यो खेलको चोट र डर अझै थियो कि ? प्रशिक्षक थोमस टचेल भन्छन्, ‘बार्सिलोनाविरुद्ध बेहोरेको हारको समस्या खेलाडीमा अझै छैन । म यति बेला कसैमाथि आरोप लगाउन चाहन्न ।’ सन् २०१४ मा पीएसजी चेल्सीविरुद्ध क्वाटरफाइनल चरणमा पराजित हुँदा पनि स्थिति लगभग त्यस्तै थियो ।


सन् १९७० मा स्थापना भएको क्लब हो पीएसजी । त्यसैले यो क्लबको कुनै इतिहास नै छैन भनिन्छ । खालि यो क्लब लगानीमा निर्भर छ र अहिले उनीहरूलाई च्याम्पियन्स लिगमा चिप्लिने क्लबको रूपमा हेर्न थालिएको छ ।


– एन्डी स्कट

प्रकाशित : फाल्गुन २४, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?