वालिङ १०० च्यालेन्ज सुरु

प्रतिक्षा काफ्ले

स्याङ्जा — पर्यटन प्रर्वद्धनका लागि सय किलोमिटरको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘वालिङ १०० अल्टिमेट एमटीबी च्यालेन्ज’ सुरु भएको छ । 

वालिङ १०० च्यालेन्ज सुरु

शनिबार बिहान सात बजेबाट सुरु भएको खेल संचालन गरिएको हो । यसअघि फेब्रुअरी १ मा सञ्चालन गर्न तय गरिएको प्रतियोगिता आजका लागि सारिएको हो । वालिङ नगरपालिकाको सहयोगमा संचालित प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी २७ जना खेलाडीको सहभागिता रहेको वण्डरफुलका अध्यक्ष दिनकर नेपालले बताए ।


माउण्टेन बाइक प्रतियोगिताले वालिङलाई पर्यटन गन्तव्यको रुपमा विकास गर्ने प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा २ पटकसम्म वर्ल्ड च्याम्पियन बनेका क्यानेडियन खेलाडी, भारतीय खेलाडी, आर्मी, एपीएफकोसमेत सहभागिता रहेको अध्यक्ष नेपालले बताए । वालिङलाई साहसिक खेलको केन्द्र बनाउनका लागि प्रतियोगिताले सघाउ पुग्ने उनको भनाई छ ।


नगरभित्रका संस्कृति, पर्यटन र प्रकृतिका माध्यमबाट वालिङ तथा स्याङ्जामा पर्यटक भित्रयाउने र पर्यटनको विकास गरी नागरिकको जीवनस्तर माथि उकास्ने उद्देश्यले वण्डरफूल वालिङ नामक संस्थाको स्थापना भएको हो । वालिङमा रहेका होमस्टेको प्रचारप्रसार गर्दै पर्यटक आगमनमा अभिवृद्धि गर्नका लागि प्रतियोगिताले सहयोग गर्ने अपेक्षा लिइएको छ ।


प्रतिस्पर्धाको लागि साइकलिङ रुट वालिङको सुकौँदी बगरबाट सुरु भई त्रियासी, छापागाउँ, सिंगारकोट, माँझकोट, तलाथोक, मिनाङकोट, जगतभञ्याङ, केँवरे, चिहानडाँडा, काफलडाँडा, गह्रौँशुर मन्दिर, बजाकोट, दाङसेया, करादी, झोलुङगे, उनियाचौर, घुरुङखा, डुम्रेभञ्याङ, स्वरेकमैदान, टापु भञ्याङ, डौँवा हुँदै पुनः सुकौँदी आएर सय किलोमिटर यात्रा पूरा हुने आयोजकले बताएको छ । प्रतियोगिता साँझ ५ बजे सकिनेछ । प्रतियोगीलाई रुटमा पर्ने विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुमा स्थानीयले स्वागत गर्नेछन् ।


प्रतिस्पर्धामा सहभागी भएका र गति कम भएकाहरुलाई सहज हुनेगरी १०० किलोमिटरको दूरीलाई ४ भागमा विभिजन गरिएको छ । जसअनुसार २५, ५०, ७५ र १०० किलोमिटरको दूरी रहेको छ । प्रतिस्पर्धीले चार तहमध्ये जति दूरी पार गरेको छ त्यसै अनुसारको प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका निर्देशक नेपालले जनाए । खेलको टाइटल पुरस्कार ५ लाख रुपैयाँ रहेको छ । जसमा महिला तथा पुरुषको संयुक्त प्रतिस्पर्धा रहने छ भने प्रतियोगितामा पुरुष र महिलाको छुट्टाछुट्टै विजेतालाई पनि पुरस्कृत गरिने छ ।

जसानुसार पुरुषतर्फको विजेताले १ लाख ५० हजार र महिलातर्फ ३ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । विनेता खेलाडीलाई मेडल र प्रमाणपत्र पनि प्रदान गरिने छ ।

प्रकाशित : फाल्गुन २५, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?