१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

आत्मघाती गोलमा आर्मीको भाग्य

अर्जुन राजवंशी

बिर्तामोड — मगमग चौथो झापा गोल्डकप फुटबलको उपाधिका लागि पुनः आयोजक झापा ११ र त्रिभुवन आर्मी क्लबबीच फाइनल भिडन्त हुने भएको छ । शनिबार दोस्रो सेमिफाइनलमा क्यामरुनी फुटबल क्लब दाउफिन्सलाई १–० ले पराजित गर्दै आर्मी फाइनल पुगेको हो ।

आत्मघाती गोलमा आर्मीको भाग्य

गत संस्करणमा पनि झापा र आर्मीबीच उपाधि भिडन्त भएको थियो । सोमबार हुने फाइनलमा आर्मी उपाधि रक्षाको बाटोमा हुनेछ ।

क्यामरुनी क्लबविरुद्धको खेलमा आर्मी भाग्यमानी साबित भयो । उसले २३ औं मिनेटमा दाउफिन्सबाट आत्मघाती गोलको उपहार पाएको थियो ।


आर्मीका खेलाडीले गरेको क्रस प्रहार क्लियर गर्ने क्रममा दाउफिन्सका डिफेन्डर सिलो नाङ्गाको हेड प्रहार आफ्नै पोस्टमा गोल हुन पुगेको थियो । अधिकांश बल नियन्त्रणमा राखे पनि आर्मीविरुद्ध गोल गरेर दाउफिन्स खेलमा फर्किन सकेन । शारीरिक रूपमा आर्मीभन्दा सशक्त दाउफिन्सका खेलाडीले विपक्षीको पोस्टमा सुरुदेखि नै आक्रमण गर्दै आएका थिए ।


खेलको १६ औं मिनेटमा मिसौके इटिग्निईको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले नियन्त्रणमा लिए । २० औं मिनेटमा अहान्डा इसाहाको प्रहार फितलो बन्यो । आर्मीका टेकबहादुर बुढाथोकीले ३० औं मिनेटमा गरेको प्रहार बाहिरियो । ४३ औं मिनेटमा दाउफिन्सका अहान्डाको पासलाई पेट्गाले हेडमार्फत पोस्टको दिशा दिन सकेनन् । ४५ औं मिनेटमा अहान्डाको राम्रो पास दाउफिन्सका दुई स्ट्राइकरले सदुपयोग गर्न सकेनन् ।


पहिलो हाफमै आत्मघाती गोलको उपहार दिएपछि दबाबमा परेको दाउफिन्सले दोस्रो हाफमा आर्मीको फोस्टमा लगातार आक्रमण गरेको थियो । ५२ औं मिनेटमा अरिल इनामेको सशत्त प्रहार गोलकिपर विकेशले निकै उत्कृष्ट ढंगबाट बचाए । लगत्तकै अहान्डाको प्रहार पनि पोस्टको थोरै माथिबाट बाहिरियो । गोलकिपर विकेश बिट भएको अवस्थामा ५७ औं मिनेटमा पेट्गाले सेकेन्ड बार च्याप्दै गरेको कडा प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।


पेट्गाले नै ६२ औं मिनेटमा गरेको कडा प्रहार गोलकिपर विकशेले नियन्त्रणमा लिन सकेनन् । उनले फुत्काएको बल आर्मीका डिफेन्डरले क्लियर गरे । आर्मीका टेकबहादुरको पासमा नवयुग श्रेष्ठले पोस्टको दिशा दिन सकेनन् । जतिखेर खेल ६५ औं मिनेटमा थियो । दाउफिन्सले ९० मिनेटसम्म आर्मीको फोस्टमा आक्रमण जारी राख्यो । अन्तिम आत्रमण स्वरुप दाउफिन्सका अहान्डाको पासलाई अमान्तसाङग जामाले गरेको प्रहार विकेशले सहजै नियन्त्रणमा लिए ।


दाउफिन्सका टिम म्यानेजर आशिष थापामगरले खेल आफ्नो नियन्त्रणमा राखे पनि नतिजा अस्वाभाविक भएकाले हार बेहोर्नुपरेको बताए । उनले गोल फर्काउने लगातार अवसर पाए पनि भाग्यले साथ नदिँदा हार स्वीकार्न बाध्य भएको बताए ।


आर्मीका प्रशिक्षक चुनबहादुर थापाले जित्नैपर्ने खेलमा नतिजा आफ्नो पक्षमा आएकोमा खुसी व्यक्त गरे । उनले खेलमा अग्रता लिएपछि रणनीतिअनुसार खेलाडीले रक्षात्मक खेल्न सफल भएको बताए । खेलमा दाउफिन्सका खेलाडीसँग जुध्दा आर्मीका आशिष शाक्य घाइते भएका छन् । उनको छातीमा चोट लागेको छ । आर्मीका विमल पाण्डे म्यान अफ द म्याच घोषित भए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे ।


पहिलो सेमिफाइनलमा घरेलु टोली झापाले थ्रीस्टार क्लबलाई पराजित गरेको थियो । झापा गोल्डकपमा झापा लगातार चौथोपल्ट र आर्मी लगातार दोस्रोपल्ट फाइनल पुगेका हुन् । यसअघि तेस्रो संस्करणको उपाधि भिडन्तमा पनि झापा र आर्मीबीच प्रतिस्पर्धा भएको थियो । उक्त संस्करणमा आर्मीले बाजी मारेको थियो । विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : फाल्गुन २६, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?