महिला साफ च्याम्पियनसिप : मुख्य चुनौती भारत

विनोद भण्डारीे

विराटनगर — नेपाली राष्ट्रिय महिला फुटबल टोली मंगलबार पहिलोपल्ट साफ च्याम्पियन बनेर इतिहास रच्ने उच्च मनोबल लिएर घरेलु मैदानमा उत्रँदै छ । उसले उद्घाटन खेलमा आफनो समूहमा कमजोर मानिएको प्रतिद्वन्द्वी भुटानको सामना गर्दै छ । दक्षिण एसियाली टिममध्ये भुटानसँगको दुई भेटमा दुवैपल्ट नेपाली टोलीले सफलता पाएको छ ।

महिला साफ च्याम्पियनसिप : मुख्य चुनौती भारत

तीन साताअघि भारतको भुवनेश्वरमा सम्पन्न हिरो महिला गोल्डकपमा सधैं उपाधिमा तगारो बन्दै आएको भारतलाई उसकै भूमिमा हराएर उच्च मनोबल संगालेको नेपाली टोलीका प्रमुख प्रशिक्षक हरि खड्काले पाँचौं महिला साफ च्याम्पियनसिपमा पनि भारत नै मुख्य चुनौती रहेको स्वीकारेका छन् ।


‘समूह चरणको चुनौती बंगलादेश हो,’ प्रशिक्षक खड्काले भने, ‘उपाधि चुनौती भारत हो । भारत दक्षिण एसियाकै बलियो टिम हो भन्नेमा कुनै दुईमत छैन । भारतसँगको भेट सेमिफाइनल समीकरणले तय गर्नेछ ।’ समूह ‘ए’ मा नेपालसहित भुटान र बंगलादेश र समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् ।


आफ्नो ध्यान अहिले समूह चरणमा केन्द्रित रहेको उल्लेख गर्दै खड्काले भने, ‘समूह चरणमा नेपालको चुनौती बंगलादेश हो । बंगलादेशसँगको ५ भेटमा नेपालले चारपल्ट बाजी मार्दा एकपल्ट हार बेहोरेको छ ।’ उनका अनुसार टिमको पहिलो लक्ष्य समूह चरणमा पहिलो हुनेछ । त्यसपछि भारतसँग हुने भेटबारे रणनीति बन्नेछ । भारतसँग अहिलेसम्म १० भेटमा नेपालले १ जित, २ बराबरी र ७ खेलमा हार बेहोरेको छ ।


टिम सन्तुलित, उत्साहित र आक्रामक छ । उनीहरूलाई दिएको जिम्मेवारी पूरा गर्ने हो भने उपाधि टाढा छैन । हिरो गोल्डकपमा पनि टिमले त्यही मनस्थितिमा खेल्दा भारतविरुद्ध ऐतिहासिक जित दर्ता गरेको उनको बुझाइ छ । नेपाली टोलीमा गोर्खाली फाइटिङ स्प्रिरिट र विनिङ मेन्टालिटी छ । प्रशिक्षक खड्काले भने, ‘केटीहरूले त्यसलाई कायम राख्न सके जुनसुकै टिमविरुद्ध पनि बाजी मार्नसक्ने स्थिति छ ।’


उनले खेलाडीको प्रदर्शनका आधारमा टोलीको अन्तिम नामावली तयार गरिएको बताए । छनोट खेलाडीको दाँजोमा पूर्व कप्तान अनु लामाको प्रदर्शन कमजोर रहेकाले टोलीमा राख्न नसकिएको दाबी गरे । ‘टोलीमा पर्न उच्च प्रदर्शन चाहिन्छ,’ उनले भने, ‘अहिले अनुमा त्यस्तो पर्फमेन्स छैन ।’


नेपाली टोली मानसिक र शारीरिक रूपमा फिट रहेको खड्काले बताए । फरवार्ड सावित्रा भण्डारीको स्वास्थ्यको चिन्ता थियो । तर उनको स्वास्थ्य फिट भइसक्यो । खड्काका अनुसार सावित्रालाई चिकन फक्स भएको थियो । उनलाई चिकित्सकले खेलका लागि योग्य भएको ठहर गरिसकेका छन् ।


गृहमैदानमा नेपाली महिला टोली पहिलोपल्ट अन्तर्राष्ट्रिय खेल खेल्दै छ । यस्तोमा दर्शकको सर्मथक टिमलाई पक्कै रहनेछ । यसले फाइदा नै पुग्छ । तर घरेलु दर्शकसामु खेलाडी नर्भस हुन्छन् कि भन्ने चिन्ता खड्काको छ । दर्शककै कारणले टप म्याचमा प्रेसर बढ्छ । त्यसलाई नियन्त्रण गरी म्याचतर्फ ध्यान केन्द्रित गर्नेबारे आफूले खेलाडीलाई मानसिक रुपमा तयार गरेको खड्काले वताए ।

टोलीकी कप्तान निरु थापाले पनि समूह चरणमा बंगलादेश र उपाधिलाई भारत नै मुख्य चुनौती रहेको स्विकारिन् । ‘समूह चरणमा बंगलादेश राम्रो टिम छ । त्यसलाई पार गर्न सकियो भने समूह विजेता हुन समस्या हुन्न,’ उनले भनिन्, ‘समूह चरणमा पहिलो वा दोस्रो हुँदा त्यसले भारतसँगको सेमिफाइनल समीकरण तयार गर्नेछ । भारतलाई भर्खरै उसकै मैदानमा हामीले हराएर फर्केका छौं । उसलाई फेरि हराउन सक्छौं भन्ने टिमलाई आत्मविश्वास छ ।’


पूर्व कप्तान एवं अनुभवी फरवार्ड अनुको अनुपस्थितिले टोलीलाई खासै समस्या नहुने थापाको बुझाइ छ । ‘सबै खेलाडीले राम्रो मिहिनेत गरेका छन्,’ उनले भनिन्, ‘अनु अनुभवी थिइन् तर टोलीमा हामी उनको अभाव खडकन दिने छैनौं ।’

प्रकाशित : फाल्गुन २६, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?