२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

दार्जिलिङको विजयी सुरुवात

विप्लव भट्टराई

इलाम — इन्जुरी समयमा आयोजक माईभ्याली फुटबल क्लबलाई १–० ले स्तब्ध बनाउँदै दार्जिलिङ युनाइटेड इलाममा सुरु भएको पाँचौं माईभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ । निर्धारित ९० मिनेटसम्म गोल नभएको अवस्थामा ३ मिनेटको इन्जुरी समयमा गोल गर्दै दार्जिलिङ युनाइटेडले जित निकालेको हो । 

दार्जिलिङको विजयी सुरुवात

दार्जिलिङका देवाशिस राईले आकर्षक गोल गर्दै टिमलाई विजयी बनाए । राई पहिलो हाफको अन्तिमतिर कप्तान गणेश लिम्बूको स्थानमा मैदान प्रवेश गरेका थिए । खेल अवधिभर दुवै टिमले गोलका सुन्दर अवसर सिर्जना गरेका थिए । दार्जिलिङका वाङदेन तामाङ म्यान अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।


घरेलु दर्शक र मैदानको साथ पाए पनि इलामले सदुपयोग गर्न सकेन । पाएका केही मौका गुमाउँदा दोस्रो चरण पुग्ने आयोजकको सपना पूरा भएन । अघिल्लो सिजनमा कास्की ११ लाई पन्छाउँदै आयोजकले दोस्रो चरणमा प्रवेश पाएको थियो । खेलस्तर उस्तै देखिए पनि दार्जिलिङले बाजी मार्‍यो ।


उस्तै भूगोल र मौसममा खेल्ने दुवै टिमले पहिलो हाफभन्दा दोस्रो हाफमा आक्रामक खेल पस्किएका थिए ।


सोमबारको खेल हिमालयन शेर्पा र नेप्लिज क्लब हङकङबीच हुँदैछ । प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन थ्रीस्टार क्लबसहित पहिलो संस्करणको च्याम्पियन त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, मेची नेत्रालय झापा, हिमालयन शेर्पा, दाउफिन्स क्लब क्याम्रुन, नेप्लिज फुटबल एकेडेमी हङकङको सहभागिता छ । विजेताले ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन् ।


प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरे । २०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकपमा त्रिभुवन आर्मी, झापा ११ र थ्रीस्टार क्लब च्याम्पियन बनिसकेका छन् ।


प्रकाशित : फाल्गुन २७, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?