कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पाँचौं साफ च्याम्पियनसिप : सबै टिम विराटनगरमा

विनोद भण्डारी

विराटनगर — मंगलबारबाट सुरु हुने पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा सहभागी हुने पाँचै विदेशी टिम आइतबार विराटनगर आइपुगेका छन् । आयोजक नेपाल पाँच दिनअघि नै यहाँ छ ।

पाँचौं साफ च्याम्पियनसिप : सबै टिम विराटनगरमा

डिफेन्डिङ च्याम्पियन भारतसहित बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सको टोली आइतबार विराटनगर आइपुगेका हुन् । प्रतियोगितामा पाकिस्तानले आन्तरिक समस्या देखाउँदै सहभागिता जनाएन । चैत ८ सम्म चल्ने प्रतियोगिताको उद्घाटन खेल यहाँको सहिद रंगशालामा मंगलबार आयोजक नेपाल र भुटानबीच हुनेछ । समूह ‘ए’ मा नेपाल, भुटान र बंगलादेश तथा समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् ।


प्रतियोगिता तयारी समितिका संयोजक पंकजविक्रम नेम्वाङ र प्रचार संयोजक किरण राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको उल्लेख गरेका छन् । प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड ६५ लाख अनुमानित खर्च लाग्ने उल्लेख गर्दै विराटनगर महानगरपालिकाले १ करोड र प्रदेश १ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको उनीहरूले जनाए ।


सीसी क्यामेरा जडान गरिएको सहिद मैदानमा दर्शकका लागि पानीको बोतलबाहेक हेल्मेट, छाता, लाइटर, झन्डा राख्ने डन्डी, पैसाको सिक्कालगायत सामान लिएर प्रवेश निषेध गरिएको छ । लिग चरणका खेलमा पश्चिमतर्फको प्याराफिटका लागि ३ सय र अन्य साधारण प्याराफिटका लागि २ सय रुपैयाँ टिकट दर राखिएको छ ।


सुरक्षा व्यवस्थामा कडाइ

प्रतियोगिताका लागि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले अन्तर्राष्ट्रिय प्रतियोगिता भएका कारण अन्य बेलाको भन्दा विशेष सुरक्षा व्यवस्था अपनाइने बताए । उनका अनुसार ठूलो संख्यामा जनपद र सशस्त्र प्रहरी सुरक्षाका लागि खटाउने तयारी गरिएको छ । उनका अनुसार चोकचोकमा पिकेट परिचालन गरी प्रविधियुक्त सुरक्षाको व्यवस्था गरिएको छ ।


आइतबारदेखि विराटनगर आइपुगेका विदेशी, स्वदेशी खेलाडी र अफिसियल तथा पाहुना बसेको होटलबाट खेलमैदानसम्म सुरक्षाका लागि स्कर्टिङको व्यवस्था गरिएको छ । केसीका अनुसार ब्याक सपोर्टका लागि सिभिलमा नेपाल आर्मी पनि रहनेछ ।


केसीले रूटको सुरक्षादेखि खेलाडी, अफिसियल, पाहुना बस्ने स्थान तथा खेलाडी टोलीले अभ्यास गर्ने स्थानसम्मको सुरक्षामा ध्यान पुर्‍याइएको जानकारी दिए । उनका अनुसार प्रतियोगितालाई लक्षित गरेर सहिद मैदान आसपासका स्थलमा प्रतियोगिता अवधिभर मदिरा बिक्रीमा पूर्णरूपमा रोक लगाइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि आन्तरिक सुरक्षा व्यवस्था मिलाएको सुरक्षा समितिका संयोजक दिनेश व्यञ्जनकारले बताए ।


अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले दर्शक तथा खेलाडी सबै सजग हुनुपर्ने उल्लेख गर्दै व्यञ्जनकारले खेलका क्रममा दर्शकले स्टेडियममा पानीको बोतल, पैसाको सिक्का र लाइटरलगायत सामान बोकेर र मदिरा सेवन गरेर प्रवेश गर्न नपाउने व्यवस्था गरिएको बताए । उनका अनुसार स्टेडियम परिसरमा ४० भन्दा बढी निजी सुरक्षाकर्मी तैनाथ रहनेछन् ।

प्रकाशित : फाल्गुन २७, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?