२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सुनिलको ह्याट्रिकमा हिमालयन शेर्पा विजयी

भाइभ्याली गोल्डकप
विप्लव भट्टराई

इलाम — पाहुना टोली हङकङ नेप्लिज एकेडेमी विरुद्ध फराकिलो जित निकाल्दै हिमालयन शेर्पा क्लब इलाममा जारी पाँचौँ माइभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ । सुनिल खड्काको ह्याट्रिक मद्दतले हिमालयन शेर्पाले १ का विरुद्ध ५ गोल अन्तरमा हङकङलाई पाखा लगायो । 

सुनिलको ह्याट्रिकमा हिमालयन शेर्पा विजयी

खेल सुरु भएको पहिलो मिनेटमा नै सुनिलको गोलले हिमालयनले अग्रता बनाएको थियो । हङकङका डिफेन्सले पोजिसन लिन नपाउँदै सुनिलले गोल गरेका थिए । गोलरक्षक अभिजित रोय अगाडी बढेको मौकामा सुनिल खड्काले हिमालयनलाई सुरुवाती अग्रता दिलाए । खेलको ९ औँ मिनेटमा सुनिलले अग्रता दोब्बर बनाए । हङकङका डिफेन्स र गोलकिप्परबीच तालमेल अभाव भएको अवस्थामा वानभर्सेस वानकै अवस्था अर्को गोल थपेका हुन् ।


३७ औँ मिनेटमा विशन गुरुङले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले जाली चुमेपछि पहिलो हाफमा हिमालयन शेर्पाले ३–० को फराकिलो अन्तर बनायो । दोस्रो हाफमा समेत दबाबमा परेको हङकङका लागि ४६ औँ मिनेटमा समीर लिम्बुले सान्तवना गोल फर्काए । ६३ औँ मिनेटमा सुनिलले गोल गर्दै ह्रयाट्रिक पुरा गरे । ७५ औँ मिनेटमा कप्तान मानबहादुर तामाङले गोल गरेपछि हिमालयन शेर्पा ५–१ गोल अन्तरले विजयी बन्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।


हङकङले पनि पहिलो हाफमा केही आकर्षक मूभ बनाएको थियो । दीपेश मोक्तानले हिमायलनको पेनाल्टी क्षेत्रमा पाएका लगातार ३ वटा अवसरलाई गोलमा परिणत गर्न सकेनन् । आशिष चापागाईँको उत्कृष्ट प्रहारलाई हिमालयनका किशोर गिरीले मुस्किलले बचाएका थिए । दुवै टिमले ३/३ जना अफ्रिकन खेलाडीलाई मैदान उतारेका थिए ।


झापा गोल्डकपपछि इलाम उक्लिएको हङकङले मौसमका कारण खेलाडीले खुलेर खेल्न नपाएको प्रतिक्रिया दियो । ‘खेलाडीको अस्वस्थतासँगै टिमवर्क समेत राम्रो बन्न सकेन,’ प्रशिक्षक गोपाल राईले भने ।


हिमालयन शेर्पाका प्रशिक्षक विजेन्द्र पुडासैनीले योजना मुताबिक खेलाडीले राम्रो खेल पस्केको बताए । यो सिजन हिमालयन शेर्पाले वीरगन्जको विराट मेमोरियलमा सेमी फाइनलमा त्रिभुवन आर्मीसँग टाइबेकरमा पराजित हुनु परेको थियो । त्यस्तै पोखरामा आर्मीसँगै क्वाटर फाइनलमा पराजित हिमालयनले सिमरामा थ्रिस्टार र राइनो गोल्डकपमा च्यासलसँग पराजय भोगेको थियो । सोमबारको खेलमा हिमालयनका सुनिल खड्का म्यान अफ द म्याच घोषित भए । सेमी फाइनल प्रवेशका लागि हिमालयनले डिफेन्डिङ च्याम्पियन थ्रिस्टारको समना गर्नेछ ।


मङ्गलवार विभागीय टिम नेपाल पुलिस क्लबले युनाइटेड दार्जिलिङ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । दार्जिलिङले उद्घाटन खेलमा आयोजक माइभ्यालीलाई पन्छाएको हो ।

प्रकाशित : फाल्गुन २७, २०७५ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?