‘दबाब होइन, अवसर’

राजु घिसिङ

विराटनगर — घरेलु मैदानमा पहिलोपल्ट प्रतियोगिता खेल्न लागेको नेपाली महिला टिमका लागि पाँचौं साफ वुमेन्स च्याम्पियनसिप अवसरका रूपमा रहेको मुख्य प्रशिक्षक हरि खड्काले बताएका छन् । 

‘दबाब होइन, अवसर’

उद्घाटन खेलमा नेपालले मंगलबार कमजोर मानिएको भुटानविरुद्ध खेल्दैछ । ‘पहिलोपल्ट नेपालमा हुन लागेको साफ महिला च्याम्पियनसिपमा हाम्रा खेलाडीहरू हजारौं समर्थकबीचमा खेल्दैछन् । घरेलु मैदान र दर्शकबीच खेल्दा जित्नैपर्ने दबाब हुनसक्छ । तर, यसलाई दबाब होइन, अवसरका रूपमा लिनेछौं,’ सोमबार पत्रकार सम्मेलनमा प्रशिक्षक खड्काले भने, ‘हाम्रो तयारी पूरा भएको छ । मिसन सुरु भयो । पहिलो खेलको लागि मानसिक, शारीरिक रूपमा तयार छौं ।’

मुख्य खेलाडी फरवार्ड सावित्रा भण्डारीले ठेउलाको कारण करिब एक साता आराम गर्नुपरेको थियो । चौथो साफमा भुटानविरुद्ध कीर्तिमान ६ गोल गरेकी उनी आइतबारदेखि टिमको प्रशिक्षणमा फर्किइन् । उनी पूरा फिट भइसकेको खड्काले बताए । नेपाल र भुटान साफ च्याम्पियनसिपमा तेस्रोपल्ट भिड्न लागेका हुन् । यसअघि साफ वुमेन्स च्याम्पियनसिप २०१४ र २०१६ मा भएको भेटमा नेपालले समान ८—० को जित निकालेको थियो । भुटानले साफमा कुनै पनि खेल जितेको छैन । त्यसैले नेपालले पाँचौं साफको पहिलो खेलमा पनि सहज जित हात पार्ने अपेक्षा गरिएको छ ।

‘हामी सबै प्रतिद्वन्द्वीलाई सम्मान गर्छौं । सजिलो रूपमा कसैलाई लिएका छैनौं । राम्रो खेल्छौं, त्यसैका लागि कोसिस गर्नेछौं, ‘गत वर्ष जेठमा महिला टिम हेर्न थालेका खड्काले भने, ‘हाम्रो समूहमा रहेको बंगलादेश राम्रो टिम हो । हरेक खेलमा आफ्नो कमी कमजोरी केलाएर सच्याउँदै र बलियो पक्ष थप राम्रो बनाएर लानेछौं । ओलम्पिक छनोटमा बंगलादेशविरुद्ध गल्ती गरे पनि हिरो गोल्डकपमा भारतविरुद्ध राम्रो खेलेका थियौं । दिन प्रतिदिन प्रगति भइरहेको छ । त्यसैले खेलाडीले अलि मिहिनेत गरे भने हामी उपाधि जित्नसक्छौं ।’

प्रशिक्षक खड्काले समर्थकबाट प्रोत्साहन पाएको र आफ्नो टिम सन्तुलित भएको पनि बताए । ‘खेलाडीहरूमा जितप्रति भोक देखेको छु । सबैले कडा मिहिनेत गरिरहेका छन् । त्यसैले घरेलु मैदानमा खेल्न पाउनु हाम्रा लागि अवसर हो । यसलाई सफलतामा परिणत गर्न चाहन्छौं । नेपाली टिम सुरुको तीनपल्ट साफमा उपविजेता भएको थियो ।

चौथो संस्करणमा भने सेमिफाइनलमा चुक्यो । दुईपल्ट दक्षिण एसियाली खेलकुदमा रजत पदकमा सीमित भएको थियो । गत महिना भुवनेश्वरमा भएको हिरो वुमेन्स च्याम्पियनसिपमा पनि उपविजेता नै भयो । त्यसैले पहिलोपल्ट ट्रफी हात पार्दै नेपाली टिमको उपविजेताको छवि बदल्ने खड्काको टिमले योजना बनाएको छ ।

तीनैपल्ट उपविजेता नेपाली टिममा रहेकी नीरु थापाले यसपालि टिमको कप्तानी गर्ने अवसर पाएकी छन् । उनले भनिन्, ‘इटहरी र विराटनगरमा राम्रो तयारी भयो । घरेलु मैदानमा खेल्न पाएकोमा खुसी छौं । सबैले हौसला बढाइरहेका छन् । पहिलाभन्दा अट्याकिङ डिफेन्स राम्रो भएको छ । त्यसैले हामी यसपालि उपाधि जित्छौं जस्तो लाग्छ ।’

भुटानका दक्षिण कोरियाली प्रशिक्षक

सुङ जाए लीले आफ्नो टिमले काठमाडौंमा ट्रेनिङसँगै नेपाली यू–१९ टिमसँग अभ्यास खेल खेलेको बताए । उनले भने, ‘हाम्रो टिममा यू–१९ का धेरै खेलाडी छन् । भविष्यमा केन्द्रित भएर टिम बनाइएको हो । हामी राम्रो खेल्ने प्रयास गर्नेछौं ।’ भुटानी टिमकी कप्तान सोन्मा छोदेनले भनिन्, ‘नेपाल धेरै बलियो टिम हो । हामी राम्रो खेल्ने प्रयास गर्नेछौं । यो साफ हाम्रो लागि राम्रो अनुभव हुनसक्छ ।’


भारतको जित्ने दाबी

भारतीय टोलीकी मुख्य प्रशिक्षक मायमोल रक्कीले उपाधि जित्नका लागि नेपाल आएको बताइन् । ‘हिरो गोल्डकपबाट धेरै सिक्यौं । त्यो हार (नेपालविरुद्ध) हार पुरानो भइसक्यो, त्यसमा फर्कन चाहँदैनौं । युवा खेलाडीले जादुयी अनुभव गराउने छन् । हामी पाँचौंपल्ट साफको उपाधि जित्नका लागि आएका हौं ।’ भारतकी कप्तान असलतादेवीले पनि साफको उपाधि जित्नेमा विश्वस्त रहेको बताइन् ।

बंगलादेशले पछिल्लोपल्ट सन् २०१६ को साफमा फाइनल खेलेको थियो । त्यो नै उसको सबैभन्दा ठूलो उपलब्धि हो । ‘हामीले उमेर समूहमा राम्रो गरिरहेका छौं । यसपालि सिनियरको तयारी पनि राम्रै छ । निरन्तर खेलिरहेका छौं । टिम अनुभवी भइरहेको छ र महिला फुटबलमा दक्षिण एसिायकै भविष्य राम्रो देखेको छु ।

त्यसैले यसपालि सेमिफाइनल हुँदै फाइनलमा पुग्ने लक्ष्य लिएका छौं,’ बंग्लादेशका प्रशिक्षक गोलाम रब्बानी चोतानले भने । श्रीलंका, माल्दिभ्स र भुटानले भने विराटनगर यात्रालाई अनुभव बटुल्ने र प्रदर्शन सुधार्ने अवसरमा लिएका छन् ।

प्रकाशित : फाल्गुन २८, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?