२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

आर्मी तेस्रोपल्ट च्याम्पियन

अर्जुन राजवंशी

बिर्तामोड — त्रिभुवन आर्मी क्लबले तेस्रोपल्ट मगमग चौथो झापा गोल्डकप फुटबलको उपाधि जितेको छ । विभागीय टोली आर्मीले सोमबार फाइनलमा आयोजक झापा ११ लाई ५–३ ले पराजित गर्दै लगातार दोस्रो र समग्रमा तेस्रोपल्ट उपाधि जितेको हो । 

आर्मी तेस्रोपल्ट च्याम्पियन

डोमालाल राजवंशी रंगशालामा आर्मीको जितमा सन्तोष तामाङले २, भरत खवास, नवयुग श्रेष्ठ र टेकबहादुर बुढाथोकीले १–१ गोल गरे । झापाबाट योगेश गुरुङ, विदेशी खेलाडी फ्रान्सिस ओएमी र भिक्टोर एमोबीले गोल फर्काए । २४ औं मिनेटमा आर्मीका सन्तोषले एकल प्रयासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ३३ औं मिनेटमा कप्तान भरतले गोल थप्दै टिमको अग्रता दोब्बर बनाएका थिए ।


झापाले गोल फर्काएर ४३ औं मिनेटमा आर्मीको अग्रता छोट्याएको थियो । फ्रान्सिसको सशक्त प्रहार पोस्टको क्रसबारमा लागेर गोलमा परिणत भयो । ५५ औं मिनेटमा योगेश गुरुङले गोल गर्दै झापालाई खेलमा फर्काएका थिए । फ्रान्सिसको पासमा योगेशले वान टचमै गोल गरेर खेल २–२ को बराबरीमा ल्याए ।


७६ औं मिनेटमा स्ट्राइकर नवयुगले आकर्षक गोल गरेर पुनः आर्मीलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि सन्तोषले व्यक्तिगत दोस्रो तथा आर्मीका लागि चौथो गोल गरेका थिए । निर्धारित समय सकिएपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा टेकबहादुरले गोल गर्दै आर्मीको जित सुनिश्चित गरेका थिए ।


इन्ज्युरीको छैटौं मिनेटमा झापाबाट विदेशी खेलाडी भिक्टोरले गोल गरेर अन्तर घटाए पनि आर्मीको जितलाई रोक्न सकेनन् । आर्मीले १२ लाख ५५ हजार र घरेलु टोली झापाले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाएका थिए ।


पहिलो हाफमा निकै खटेर खेलेको घरेलु टोली झापाले दोस्रो हाफमा लय गुमाएको थियो । पाँचौं मिनेटमा आर्मीका टंक बस्नेतको प्रहार बतासिएर बाहिरियो । आर्मीका कप्तान भरतले १० औं मिनेटमा पोस्टमा गरेको प्रहार सशक्त हुन सकेन । झापाका हेमन गुरुङको कडा प्रहार १९ औं मिनेटमा बाहिरियो । ३० औं मिनेटमा झापाका भिक्टोरको प्रहार गोलकिपर विकेश कुथुले नियन्त्रणमा लिए ।


५२ औं मिनेटमा झापाका फ्रान्सिसको पासमा सन्जोग राईले गरेको प्रहार पोस्टमाथिबाट बाहिरियो । ५८ औं मिनेटमा झापाका भिक्टोरको प्रहार पोस्ट नजिकबाट बाहिर पुग्यो । आर्मीका विवेक बस्नेतको सशक्त प्रहार झापाका डिफेन्डरले ७१ औं मिनेटमा क्लियर गरेका थिए । झापाका कर्ण लिम्बुको प्रहार रिबाउन्ड भएपछि पुनः फ्रान्सिसको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा खेल ७४ औं मिनेटमा चलिरहेको थियो ।


आर्मीले झापा गोल्डकपको पहिलो, तेस्रो र चौथो संस्करण जितेको हो । झापा ११ भने लगातार चौथो पटक फाइनल पुगेर पनि उपाधि जित्न चुकेको छ । जारी सिजनमा पाँच वटा गोल्डकपको फाइनल खेलेको आर्मीले तीन गोल्डकप जितेको छ । उसले विशाल मेमोरियल गोल्डकप वीरगन्ज, मदन भण्डारी गोल्डकप इटहरी र झापा गोल्डकपको उपाधि जितेको हो । सिमरा र आहा–रारा गोल्डकपको फाइनलमा भने आर्मी पराजित भएको थियो ।


खेलमा दुई गोल गरेका आर्मीका सन्तोष तामाङ म्यान अफ द म्याच घोषित भए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे । झापाका दिलेन लोक्ताम सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले यामाहाको मोटरसाइकल पुरस्कार पाए । आर्मीका विकेश कुथु उत्कृष्ट गोलकिपर, झापाका देवेन्द्र तामाङ उत्कृष्ट डिफेन्डर, झापाका पुजन उपरकोटी उत्कृष्ट मिडफिल्डर र आर्मीका चुनबहादुर थापा उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरूले जनही २१ हजार रुपैयाँ पाए । आयोजकले झापाका निशान्त खड्कालाई उदीयमान खेलाडी तथा सन्जोग राईलाई उत्कृष्ट खेलेको भन्दै पुरस्कृत गरेको छ । उनीहरूले जनही १५ हजार पाए ।


नरेन्द्रमणिलाई लाइफटाइम अवार्ड

झापा गोल्डकप आयोजक समितिले झापाका पूर्व खेलाडी नरेन्द्रमणि लिम्बुलाई लाइफलाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ । समापन कार्यक्रममा आयोजकले लिम्बूलाई एक थान यामाहा मोटरसाइकल प्रदान गरेको छ । लामो समयदेखि झापाली फुटबल विकासमा महत्वपूर्ण योगदान पुर्‍याएकाले उनलाई उक्त अवार्ड प्रदान गरेको आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले बताए ।


स्कुले जीवनदेखि फुटबलमा लागेका बिर्तामोड नगरपालिका ४ निवासी लिम्बुले जिल्लास्तरीय, पूर्वाञ्चलस्तरीय र ‘ए’ डिभिजनका क्लबबाट समेत खेलेका थिए । उनले सन् १९९५ देखि व्यावसायिक फुटबल खेलेका हुन् । लिम्बुले ०७२ देखि झापा ११ मा आबद्ध भएर खेलेका थिए । टिमका उनी मुख्य खेलाडी थिए ।

प्रकाशित : फाल्गुन २८, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?