साफ वुमेन्स च्याम्पियनसिप : नेपाली खेलाडीको क्षमता

साफ वुमेन्स च्याम्पियनसिप
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली टोलीकी कप्तान नीरु थापा चौथोपल्ट साफ वुमेन्स च्याम्पियनसिप फुटबल खेल्दै छिन्  । सुरुमा डिफेन्स, त्यसपछि मिडफिल्ड हुँदै यसपालि फरवार्डको जिम्मेवारी पाएकी उनी टोलीकी सबैभन्दा अनुभवी खेलाडी हुन्  ।

साफ वुमेन्स च्याम्पियनसिप : नेपाली खेलाडीको क्षमता

२९ वर्षीया उनले ३४ क्याप जितेकी छन् । अन्तिम समयमा पूर्व कप्तान अनु लामाको स्थान लिएकी रेखा पौडेलसहित यू–१९ टिमका सरु लिम्बु, उषा नाथ, अञ्जना रानामगर, मञ्जलीकुमारी योञ्जन र पूजा राना पनि साफको टिममा छन् । त्यसैले यसपालिको टिम युवा खेलाडीले भरिएको छ । गोलकिपर उषा, डिफेन्स गीता र फरवार्ड रेखाले सिनियर टिमको जर्सी लगाएर मैदानमा ओर्लने अवसर पाएका छैनन् । टिमको औसत क्याप १३.१५ रहेको छ । ओलम्पिक छनोट, हिरो गोल्डकप हुँदै साफ च्याम्पियनसिप खेल्ने क्रममा भदौ १० बाट भएको नियमित प्रशिक्षणमा गरिएको प्रदर्शनका आधारमा पाँचौं साफ वुमेन्स च्याम्पियनसिप २०१९ को नेपाली टोलीमा परेका २० खेलाडी र प्रशिक्षकबारे विराटनगरबाट राजु घिसिङ लेख्छन् :

एन्जिला तुम्बापो सुब्बा (गोलकिपर)
क्याप : १४

तीन वर्षयता नम्बर एक गोलकिपरका रूपमा आफूलाई स्थापित गरेकी एन्जिला पोस्टमा आत्मविश्वासी देखिन्छन् । विपक्षीको खेल अध्ययन गर्नसक्ने उनको खुबी छ । उनले खेलमा दैन्दिन सुधार गरेर टिममा विश्वासको आधार बनाएको प्रशिक्षक हरि खड्का बताउँछन् । एपीएफमा आबद्ध उनले ‘एयर बल’ र बल वितरणमा भने अझै मिहिनेत गर्नुपर्छ ।

अञ्जना रानामगर
क्याप : ३

अञ्जनाले १५ वर्षको छँदै मलेसियाविरुद्ध सातदोबाटोमा दुई वर्षअघि भएको मैत्रीपूर्ण खेलमार्फत् अन्तर्राष्ट्रिस फुटबलमा डेब्यु गरेकी थिइन् । यू–१९ टिमकी उनी अहिले परिपक्व हुने क्रममा छन् । ‘स्पट किक’ मा उनको अनुमान सही हुने गर्छ । उनले तीन पेनाल्टी रोकेपछि नेपाली टिमले भुटानमा भएको साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा भारतलाई हराएको थियो । त्यस च्याम्पियन यात्रामा उनले पेनाल्टी गोल पनि गरेकी थिइन् । आर्मीबाट खेल्दै आएकी उनी सिनियर टिममा भने पोस्ट सम्हाल्ने अवसरको प्रतीक्षामा छिन् ।

उषा नाथ
क्याप : डेब्यु गर्न बाँकी

पाँच फिट ६ इन्च अग्ली उषा यू–१९ टिमकै गोलकिपर हुन् । यसै वर्ष पुलिस क्लबमा पुगेकी उनलाई एयर बलमा राम्रो मानिन्छ । प्रशिक्षणमा राम्रो गरिरहे पनि उनलाई अन्तर्राष्ट्रिय खेलको अनुभव छैन । रुपा रानामगरको स्थान लिँदै उनी हिरो गोल्डकपबाट राष्ट्रिय टिमको तेस्रो रोजाइका गोलकिपर बनेकी हुन् ।

हीराकुमारी भुजेल (डिफेन्स)
क्याप : १९, गोल : १

लेफ्ट डिफेन्समा हीराले उत्कृष्ट खेल पस्कँदै आएकी छन् । उनी तीव्र गतिमा खेल्न सक्छिन् । ओभरल्यापमा अघि बढ्ने र क्रस गर्ने उनको कौशल हो । उनी आफू बिट भएपछि पनि बल खोस्न सक्ने खेलाडी हुन् । दुवै खुट्टा चलाउने उनी शारीरिक रूपमा बलियो छन् । उनले निरन्तर पहिलो रोजाइमा रहेर पूरा समय खेलिरहेकी छन् । एपीएफ क्लबकी उनी निकै मिहिनेती खेलाडी हुन् ।

गीता राना
क्याप : १४

प्रशिक्षक हरि खड्का सेन्टरब्याक गीतालाई आफ्नो टिमको जेरार्ड पिके (बार्सिलोनाका डिफेन्डर) जस्तै मान्छन् । आफ्नो क्षेत्रमा बचाउ गर्न निकै माहिर रहनु उनको सबैभन्दा बलियो पक्ष हो । उनीसँग तीव्र गतिका फरवार्डलाई पनि रोक्नसक्ने क्षमता छ । उनको बल वितरण पनि राम्रो छ । ‘डेड बल’ मा सटिक प्रहार गर्नसक्ने उनको पास पनि सही हुने गर्छ । एपीएफकी उनी ‘टफ गेम’ खेल्न सक्छिन् । उनले एयर बलमा भने सुधार गर्नुपर्ने देखिएको छ ।

पुनम जर्घामगर
क्याप : २०

सेन्टर ब्याकमा खेल्ने उनी परिपक्व डिफेन्डर बन्ने क्रममा छन् । उनी आफ्ना गल्तीलाई तुरुन्तै सच्याउन सक्ने भएकी छन् । टिममा भरपर्दो डिफेन्स बनेकी उनी केही अघिसम्म बल पाउँदा क्लियर गर्ने प्रयासमा मात्रै हुन्थिन् । अचेल डिफेन्सबाट पास मिलाएर खेल अघि बढाउँदै अवसर सिर्जना गर्ने प्रयासमा हुन्छिन् । आर्मीकी यी खेलाडीको कौशलमा निरन्तर सुधार भइरहेको छ । ‘सेट पिस’ मा अगाडि बढ्ने उनी शारीरिक रूपमा पनि बलियो छिन् ।

मनमाया लिम्बु
क्याप : २२

पाँच वर्षयता टिममा नियमित स्थान बनाएकी राइट–ब्याक मनमाया अहिलेको टोलीमा सिनियर खेलाडी हुन् । बल क्लियर गर्न र लामो दूरीमा पास दिन उनी माहिर छन् । उनी विपक्षीको रणनीति अध्ययन गर्न सक्छिन् । एपीएफकी उनको बल वितरण गर्ने शैली पनि राम्रै छ । ओभरल्यापमा अगाडि बढ्ने गरेकी उनको प्रतिद्वन्द्वीसँगको प्रतिक्रिया भने अलि ढिला रहने गर्छ । टफ गेम खेल्नसक्ने उनमा छरितोपनको थप आवश्यकता देखिएको छ भने बल गुमाएपछि तुरुन्तै खोस्नेतर्फ लाग्न पनि उनले मिहिनेत गर्नुपर्छ ।

अमृता जैशी
क्याप : १५

सेन्टरब्याकमा खेल्ने अमृता विशेष गरी एयर बलमा राम्रो गर्छिन् । उनी विपक्षीको खेल बिगार्न सिपालु छन् । आफ्नो टिमको सकारात्मक खेलमा पनि उनले मिहिनेत गर्न थालेकी छन् । उनी जस्तोसुकै बलिया खेलाडीविरुद्ध भिड्न डराउने गर्दिनन् । पुलिस क्लबकी यी खेलाडी शारीरिक रूपमा पनि बलियो खेल पस्कने गर्छिन् ।

कविता धिमाल
क्याप : १

लेफ्ट–ब्याक कविता सम्भवत् टिममा पहिलो रोजाइमा हुने छैनन् । तर उनी ‘क्रिएटिभ गेम’ खेल्ने डिफेन्डर हुन् । उनको दौडाइ निकै तीव्र हुन्छ । निकै बलिया उनी हेडर र ओभरल्यापमा अघि बढ्न पनि सिपालु छन् । उनी सधैं पाएको बललाई उपयोग गरेर गोलका अवसर सिर्जना गर्ने प्रयासमा हुन्छिन् । आर्मीमा आबद्ध उनको पास पनि सटिक हुने गर्छ । उनलाई ठूला खेल अनुभवको खाँचो छ ।

पूजा राना
क्याप : डेब्यु गर्न बाँकी

राइट–ब्याकमा खेल्ने पूजा सेन्टरमा पनि मजाले जम्ने खेलाडी हुन् । उनी जुझारु छन्, जुनियर भए पनि डराएर खेल्दैनन् । उनको निर्णय पनि राम्रो हुने गर्छ । विपक्षीको खेल अध्ययन गरेर त्यसैअनुसार मुभ बनाउनसक्ने खेलाडी हुन् उनी । उनले क्रिएटिभ फुटबलमा मिहिनेत गर्नुपर्ने देखिन्छ । आर्मीकी उनी हिरो गोल्डकपबाटै टिममा परेकी हुन् । उनले थाइल्यान्डमा भएको एएफसी यू–१९ च्याम्पियनसिपको छनोटमा एक गोल गरेकी थिइन् ।

अनिता बस्नेत (मिडफिल्ड)
क्याप : २०, गोल : १

शारीरिक रूपमा टिमकै सबैभन्दा बलिया खेलाडी हुन् अनिता । राइट विंग्समा खेल्ने तीव्र गतिमा बल अघि लगेर सटिक क्रस गर्ने गर्छिन् । पाएको अवसरमा आफै पोस्टमा प्रहार गर्ने उनी अवसरको उपयोग गर्नसक्ने खेलाडी हुन् । उनी विंग्समा दायाँ र बायाँ दुवैतिर खेल्ने गर्छिन् । उनको दुवै खुट्टाको प्रहार उस्तै हुने गर्छ । एपीएफमा फरवार्डबाट करिअर सुरु गरेकी उनले हिरो गोल्डकपमा इरानविरुद्ध सुरुमै आकर्षक गोल गरेकी थिइन् ।

दीपा राई
क्याप : २०

उदयपुरकी दीपा सेन्टर मिडफिल्डमा खेल्छिन् । उनी टिमलाई कसरी अघि बढाउने भन्ने योजनासहित खेल्ने गर्छिन् । गोलका अवसर सदुपयोग गर्न विपक्षीबाट बल खोसेर अघि बढ्न उनी निकै मिहिनेत गर्छिन् । बल खोसेर अवसर सिर्जना गर्नेमा उनले टिममा आफ्नो बेग्लै पहिचान बनाएकी छन् । आर्मीकी यी खेलाडीमा अनुभवी हुदै जांदा लामौ दूरीबाट बल प्रहार गर्ने स्तरमा वृद्धि भइरहेको छ ।

मञ्जलीकुमारी योञ्जन
क्याप : १४, गोल : २

चन्द्रपुर (विगतमा चन्द्रनिगाहपुर) की मञ्जली यू १९ टिमकै खेलाडी हुन् । तर, उनी मैदानमा परिपक्व खेलाडीका रूपमा उत्रने गर्छिन् । लेफ्ट विंग्समा उनी तीव्र गतिमा बल अघि बढाउन र गोलका अवसर सिर्जना गर्न सिपालु छिन् । स्कीलफुल मानिने एपीएफकी उनको क्रस सटिक हुने गर्छ । शारीरिक रूपमा पनि बलिया रहेकी उनी आफैं पनि गोल गर्ने खुबी भएका खेलाडी हुन् । ‘डेड बल’ मा राम्रै प्रहार गर्नसक्ने उनले हिरो गोल्डकपको फाइनलमा म्यानमारविरुद्ध आकर्षक रूपमा एक गोल गरेकी थिइन् ।

शर्मिला थापा
क्याप : ८

राइट वा लेफ्ट दुवै विंग्समा खेल्ने शर्मिलाको दौडाइ तीव्र हुने गर्छ । बलियो शरीरकी उनको क्रस र सुटिङ राम्रो हुन्छ । एयर बलमा विशेष क्षमता भएकी उनलाई सुरुमा फरवार्डमा छनोट गरिएको भए पनि अहिले राइट विंग्समा प्रयोग गरिरहेको छ । दोस्रोपल्ट साफ च्याम्पियनसिपमा सहभागी उनी आर्मीमा आबद्ध छन् ।

सरु लिम्बु
क्याप : १३

सेन्टर मिडफिल्डर सरुलाई ‘ट्रम्पकार्ड’ मान्छन् प्रशिक्षक हरि खड्का । सरुको सबैभन्दा राम्रो पक्ष जस्तोसुकै टिमविरुद्ध पनि बल खोस्न सक्नु हो । उनी बलसँग रहेको अवस्थामा विपक्षीलाई निकै दबाब दिएर खेल्ने गर्छिन् । ड्रिब्लिङ गरिरहने उनको पोस्टमा बल प्रहार गर्ने खुबी भने औसतमात्रै छ । एपीएफमा रहेकी उनी मैदानको चारैतिर छाउनसक्ने खेलाडी हुन् । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको कट्टर समर्थक रहेकी उनी एकदमै मिहिनेत गर्छिन् ।

रेनुका नगरकोटे
क्याप : २०

सानो शरीर भए पनि मिडफिल्डमा छाइरहने खेलाडी हुन् रेनुका । उनको पास सटिक र चलाखीपूर्ण हुने गर्छ । दुई वर्षअघि भएको चौथो साफमा नेपाली टिमको कप्तान रहेकी उनी आफैं पनि गोल गर्ने क्षमता भएका खेलाडी हुन् । अन्तर्राष्ट्रिय खेलमा खाता खोल्न बाँकी भए पनि उनले घरेलु फुटबलमा भने निरन्तर गोल गरिरहेकी छन् । एपीएफमा आवद्ध उनको खेल निकै अनुशासित हुन्छ । नौ वर्षअघि भएको पहिलो संस्करण पनि खेलेकी उनी साफमा चौथोपल्ट सहभागी हुँदैछिन् ।

अनिता केसी (फरवार्ड)
क्याप : ६

एपीएफ क्लबकी फरवार्ड अनिता शारीरिक रूपमा बलियो छिन् । उनी बललाई डिफेन्स छिचोल्दै पोीट नजिक लगेर प्रहार गर्न सिपालु छिन् । आफ्नो खुट्टामा बल नहुँदा पनि डिफेन्सलाई दुःख दिइरहनु उनको खुबी हो, जसले टिमको अर्को फरवार्डलाई खेल्न सजिलो बनाउँछ । उनले अन्तर्राष्ट्रिय फुटबलमा गोल गर्न बाँकी नै छ । उनी पहिलो रोजाइमा स्थान बनाउन संघर्षरत छन् ।

रेखा पौडेल
क्याप : डेब्यु गर्न बाँकी

१९ वर्षीया रेखाले राष्ट्रिय टिममा कीर्तिमान ३५ गोल गरेकी पूर्वकप्तान अनु लामाको स्थान लिएकी हुन् । उनको दिमागी खेलमा प्रशिक्षक खड्का एकदमै विश्वास गर्छन् । एपीएफकी उनी निकै छरितो छिन् । फरवार्डमा हुनुपर्ने सबै गुण छ । विपक्षीको रणनीति बुझ्नसक्ने उनी तत्कालै सही निर्णय लिनसक्ने खेलाडी हुन् । बल समयमै दिने र गुमाएको अवस्थामा पनि पुनः बल प्राप्त गर्नका लागि मिहिनेत गर्ने आवश्यकता उनमा देखिन्छ । उनले भुटानमा भएको साफ यू–१८ च्याम्पियनसिप २०१८ को उपाधि यात्रामा ८ गोल र थाइल्यान्डमा सम्पन्न एएफसी यू–१९ च्याम्पियनसिपको छनोटमा भारतविरुद्ध दुई गोल गरेकी थिइन् ।

हरि खड्का
मुख्य प्रशिक्षक

झापाका प्रशिक्षक खड्का दुई दशकसम्म पुलिस क्लबमा रहेका थिए । पहिला खेलाडी र पछि व्यवस्थापक, प्रशिक्षक । आफ्नो जमानाका उत्कृष्ट फरवार्ड रहेका उनले २०६३ सालको सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेपछि बुट थन्क्याएका थिए । प्रशिक्षक विराटकृष्ण श्रेष्ठको अनुपस्थितिमा चारपल्ट टिम सम्हाले पनि त्यसमा उनको टिम फाइनल पनि पुगेन ।
उनले नेपाली युवा टिमलाई एएफसी यू–१४ रिजनल च्याम्पियनसिप २०१५ मा भने इरानलाई गोलरहित रोक्दै संयुक्त विजेता बनाएका थिए । गत जेठमा महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षक भएयता उनको नेतृत्वमा टिमले राम्रो लय समातेको छ । ओलािम्पक छनोटको दोस्रो चरणमा प्रवेश गर्नु र चार टिममध्ये सबैभन्दा तल्लो वरीयतामा रहे पनि हिरो गोल्डकपको फाइनल पुग्नु उनको उपलब्धि हो । एएफसी ए लाइसेन्स प्राप्त यी प्रशिक्षकसामु नेपाली महिला टिमलाई पहिलोपल्ट साफ च्याम्पियन बनाउने चुनौती छ ।

भगवती राना
प्रशिक्षक

धराने टिमबाट ५ वर्ष पूर्वाञ्चलका प्रतियोगितामा फरवार्डका रूपमा खेलेकी भगवती २०६० सालमा संन्यास लिएपछि प्रशिक्षक बनेकी हुन् । एएफसी बी लाइसेन्स गरेकी उनी एएफसी यू–१४ रिजनल गर्ल्स च्याम्पियनसिप २०१४ (श्रीलंका) मा विजेता भएको नेपाली टिमकी सहायक प्रशिक्षक थिइन् । साफ वुमेन्स च्याम्पियनसिप २०१४ को उपविजेता टिममा पनि सहायक प्रशिक्षक रहेकी उनी पुनः चार महिनाअघि भएको ओलम्पिक छनोटमार्फत् राष्ट्रिय टिममा फर्किएकी हुन् ।

मृगेन्द्र मिश्र
गोलकिपिङ प्रशिक्षक

भाग्यमानी प्रशिक्षक हुन् मिश्र । उनी सन् १९९९ मा फिलिपन्समा भएको एएफसी एसियन कप खेलेको नेपाली टिमका गोलकिपिङ प्रशिक्षक हुन् । महिला टिममा २०१६ मा फर्किएका उनी त्यसयता निरन्तर छन् । उनी यू–१९ पुरुष टिमलाई साफ २०१६ र २०१८ मा च्याम्पियन हुँदा र यू–२३ टिमले १२ औं साग २०१६ मा स्वर्णपदक जित्दा पनि गोलकिपिङ प्रशिक्षक थिए । उनी नेपालले सार्क गेम्स १९९३ मा स्वर्ण जित्दा पनि टिममा थिए । गत महिना उनको कोचिङ करिअरमा हिरो गोल्डकपको उपविजेता पनि थपियो ।


कमला हिराचन
व्यवस्थापक

नेपाली महिला राष्ट्रिय टिमको पहिलो प्रतियोगिता हो एसियन कप १९८६ । त्यसपछि एसियन कप १९८६ । यी दुवै हङकङ यात्रामा सेन्टर ब्याकको रूपमा सबै खेल पूरा समय खेलेकी उनी घरेलु फुटबलमा लुम्बिनी र गण्डकीबाट झन्डै एक दशक उत्रिएकी थिइन् । लामो समयपछि फुटबलमा फर्किंदा टिम व्यवस्थापकको जिम्मेवारी लिएकी उनी भदौ १०, २०७५ मा प्रशिक्षण सुरु भएदेखि नै सक्रिय छिन् । ‘फुटबल खेल्ने शैली पहिलाभन्दा धेरै फरक छ,’ उनले भनिन्, ‘यसपालि खेलाडी राम्रा छन् । टिम राम्रो छ । सबैले मिहिनेत गरेका छन् । त्यसैले च्याम्पियन बन्ने विश्वास छ ।’

नीरु थापा (कप्तान)
क्याप : ३४, गोल : ८

सुरुका तीन साफको उपविजेता र दुई दक्षिण एसियाली खेलकुद (साग) को रजत पदक विजेता टिमकी महत्त्वपूर्ण खेलाडी हुन् नीरु । सुरुमा डिफेन्स हुँदै मिडफिल्डमा खेलेकी उनी यसपालि फरफार्डको भूमिकामा छन् । यी कप्तानको अनभुव सहिद मैदानमा उपयोगी हुने अनुमान गरिएको छ । बलभित्र घुसाउन सक्ने (पेनेट्रेट) गर्ने उनको कला कमै खेलाडीमा देखिन्छ । एकदमै मिहिनेती उनमा गोलको अवसर सिर्जना गर्ने र आफैं गोल गर्नसक्ने खुबी छ । उनी सही समयमा सही स्थानमा पुग्ने प्रयास गर्छिन् । पुलिस क्लबकी उनी साफ २०१६ को टिममा भने अटाएकी थिइनन् ।

सावित्रा भण्डारी (फरवार्ड)
क्याप : २३, गोल : २२ (पेनाल्टी २)

प्रशिक्षक हरि खड्का सेन्टर फरवार्ड सावित्रालाई अग्रपंक्तिमा दक्षिण एसियाकै सबैभन्दा राम्रो खेलाडी मान्छन् । उनको गति निकै तीव्र हुने गर्छ । बलियो शरीरकी उनीसँग फरवार्डमा हुनुपर्ने सबै गुण भएको बताउँछन् प्रशिक्षक । चौथो साफ च्याम्पियनसिपमा सर्वाधिक १२ गोल गरेकी उनको गोल गर्ने क्षमतमा थप सुधार भइरहेको उल्लेख गर्दै प्रशिक्षक खड्काले भने, ‘मुभमेन्टमा ध्यान दियो भने उनको खेल धेरै राम्रो हुनेछ ।’ हालै ठेउलाबाट मुक्त भएकी उनमा नेपालको आक्रमण निर्भर रहेको छ ।

प्रकाशित : फाल्गुन २८, २०७५ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?