कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

साफ च्याम्पियनसिप आज सुरु, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

राजु घिसिङ

विराटनगर — पहिलोपल्ट उपाधि जित्ने योजना बनाएको न्पाली मलिा राष्ट्रिय फुटबल टिमले साफ महिला च्याम्पियनसिप २०१९ को उद्घाटन खेलमा आज मंगलबार भुटानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

साफ च्याम्पियनसिप आज सुरु, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

सुरुका तीन संस्करणमा फाइनल खेलेको नेपाल यसपालि उपाधिको दाबेदार मानिएको छ । गत महिना भुवनेश्वरमा भएको हिरो वुमेन्स गोल्डकपमा चार टिममध्ये सबभन्दा तल्लो वरीयताको भएरपनि नेपाल फाइनल पुगेको थियो ।


फिफा वरीयतामा एक सय आठौं वरीयतामा रहेको नेपालको लागि भुटान कठिन प्रतिद्वन्द्वी होइन । बिना वरीयताको भुटानी टिमले साफको नौ बर्षे इतिहासमा हालसम्म कुनैपनि खेल जितेको छैन । नेपालले भने भारतबाहेक अरु दक्षिण एसियाली टिमविरुद्ध कहिल्यै हार बेहोरेको छैन ।


त्यसैले पाचौं साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा तीन अंक जोड्न नेपाललाई गाह्रो हुने छैन । नेपाल र भुटान यसअघि दुईपल्ट भिडेका थिए । साफ २०१४ र २०१६ को भेटमा नेपालले समान ८—० को जित हात पारेको थियो । इस्लामावादमा २०१४ मा भएको खेलमार्फत् अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेकी सावित्रा भण्डारी त्यही खेलमा एक गोल गरेकी थिइन् । सिलीगुढीमा २०१६ को भेटमा कीर्तिमान ६ गोल गरिन् । नेपालको लागि २२ गोल गरेकी उनलाई सहिद मैदानमा रोक्न भुटानी टिमलाई गाह्रो हुनसक्छ ।


‘पहिलो खेलको लागि मानसिक, शारीरिक रुपमा तयार छौं,’ नेपालका मुख्य प्रशिक्षक हरि खड्काले भने, ‘‘हामी सबै प्रतिद्वन्द्वीलाई सम्मान गर्छौं । सजिलो रुपमा कसैलाई लिएका छैनौं । राम्रो खेल्छौं, त्यसैका लागि कोसिस गर्नेछौं ।’


भुटानी टिम दक्षिण कोरियाली प्रशिक्षक सुङ जाए लीले सम्हालेका छन् । उनले भने, ‘हाम्रो टिममा यू १९ टिमका धेरै खेलाडी छन् । भविष्यमा केन्द्रित भएर टिम बनाइएको हो । हामी राम्रो खेल्ने प्रयास गर्नेछौं ।’ भुटानी टिमकी कप्तान सोन्मा छोदेनले भनिन्, ‘नेपाल धेरै बलियो टिम हो । हामी राम्रो खेल्ने प्रयास गर्नेछौं । यो साफ हाम्रो लागि राम्रो अनुभव हुनसक्छ ।’

सम्भावित नेपाली टिम

गोलकिपर : अन्जिला तुम्बापो सुब्बा

डिफेन्स : मनमाया लिम्बु, गीता राना, अमृता जैशी, हिरा कुमारी भुजेल

मिडफिल्ड : मन्जली कुमारी योन्जन, दीपा राई, रेनुका नगरकोटी, अनिता बस्नेत

फरवार्ड : निरु थापा (कप्तान), सावित्रा भण्डारी ।

मुख्य प्रशिक्षक : हरि खड्का

प्रकाशित : फाल्गुन २८, २०७५ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?