१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अपेक्षा ६ गोल, भयो ३

नेपाल ३–० भुटान
राजु घिसिङ, विनोद भण्डारी

विराटनगर — नेपाली महिला टिमले भुटानविरुद्ध अघिल्ला दुई भेटमा समान ८–० को जित हात पारेको थियो  । सुरुका तीन संस्करणमा उपविजेता भएको नेपाली टिमले पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य बनाएको छ  ।

अपेक्षा ६ गोल, भयो ३

ओलम्पिक छनोट, हिरो गोल्डकपमा सहभागी भएको नेपाली टिम सात महिनायता तयारीमा व्यस्त पनि रह्यो । त्यसैले पाँचौं साफको उद्घाटन खेलमा भुटानविरुद्ध सहज जित हासिल गर्ने अनुमान गरिएको थियो । नतिजा अनुमान गरेजस्तो भएन ।


विंगर मन्जली कुमारी योन्जनले १३ औं मिनेटमै नेपाललाई अग्रता दिलाइन् । मिडफिल्डर दीपा राईले पेनाल्टी क्षेत्रमा ‘अनमार्क’ रहेकी मन्जलीले फस्ट बारमै बललाई पोस्टको दिशा दिँदै गोलको खाता खोलिन् । गत महिना हिरो गोल्डकपको फाइनलमा म्यान्मारविरुद्ध ३–१ ले पराजित भएको खेलमा पनि गोल गरेकी १८ वर्षीया उनको यो तेस्रो अन्तर्राष्ट्रिय गोल हो ।सहिद मैदानमा १–० को अग्रता लिएको तीन मिनेटपछि नै नेपाल २–० ले अघि बढ्यो । टिमका मुख्य खेलाडीका रूपमा रहेकी फरवार्ड सावित्रा भण्डारीले दुई डिफेन्सलाई छक्याउँदै अघि बढाएको बललाई पेनाल्टी क्षेत्रभित्रबाट गोलमा परिणत गरिन् । यो उनको २३ औं अन्तर्राष्ट्रिय गोल हो । यसले उनलाई सर्वाधिक गोलकर्ताको सूचीमा पूर्वकप्तान जमुना गुरुङ (२५ गोल) र अनु लामा (३५ गोल) को नजिक पु¥याएको छ ।

भुटानविरुद्ध आठ
सावित्राका लागि भुटानविरुद्धको खेल सधैं सुखद् हुँदै आएको थियो । उनले साफ वुमेन्स च्याम्पियनसिप २०१४ मा इस्लामावादमा भुटानविरुद्ध कप्तान अनु लामाको स्थानमा ८६ औं मिनेटमा मैदानमा प्रवेश गर्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी थिइन् । मैदानमा प्रवेश गरेको दोस्रो मिनेटमै गोलको खाता खोलेकी उनले सिलिगुडीमा भएको साफ २०१६ मा भुटानविरुद्ध कीर्तिमान ६ गोल गरेकी थिइन् । यसपालि सहित सावित्राले भुटानविरुद्ध आठ गोल पु¥याइन् ।


चौथो साफमा सर्वाधिक (१२ गोल) गोलकर्ता रहेकी सावित्राले यसपालि पनि भुटानविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै गोल संख्या वृद्धि गर्ने अपेक्षा गरिएको थियो । तर भुटानी डिफेन्सको कडा निगरानीमा परेकी सावित्राले मैदानमा अपेक्षाअनुरूप गोल गर्न सकिनन् । उनी ४४ औं मिनेटमा भुटानी गोलकिपर संगीता मोंगरविरुद्धको ‘वान भर्सेस वान’ मा गोल गर्न चुकिन् । बल मोंगरले रोकिदिइन् । खेलमा मोंगरले केही राम्रा बचाउ गरिन् ।


मोंगरले खेलको अन्त्यतिर सावित्रा र मन्जलीको सशक्त प्रहारमा लोभलाग्दो बचाउ गरेकी थिइन् । पहिलो हाफको इन्ज्युरी समयमा मन्जलीले पेनाल्टी क्षेत्रबाहिरैबाट प्रहार गरेको बल पोस्ट नजिकिँदै बाहिरिएको थियो ।

निरुको नवौं गोल
दोस्रो हाफमा नेपालले केही सुधारिएको खेल पस्कियो । विंगर अनिता बस्नेतको क्रसमा सवित्राको हेडरमा प्राप्त बललाई गोललाइननजिक पुगेकी कप्तान निरू थापाले गोलमा परिणत गर्दै नेपाललाई ३–० ले अघि बढाइन् । यो उनको नवौं अन्तर्राष्ट्रिय गोल हो । यससँगै उनी दीपा अधिकारी (८ गोल) लाई उछिन्दै नेपालको सर्वाधिक गोल गर्ने चौथो खेलाडी भइन् । मुख्य प्रशिक्ष्ँक हरि खड्काले टिम सम्हालेयता कप्तानी गर्ने अवसर पाएकी निरूले ३५ खेल खेलेकी छन् ।भुटानविरुद्धको प्रतिस्पर्धासँगै २९ वर्षीया निरु र मिडफिल्डर रेनुका नगरकोटे साफ वुमेन्स च्याम्पियनसिपको चार संस्करण खेल्ने नेपाली भए । निरूले यसअघि २०१० मा कक्स बजार (बंगलादेश), २०१२ मा कोलम्बो (श्रीलंका) र २०१४ मा इस्लामावाद (पाकिस्तान) भएको साफ च्याम्पियनसिप खेलेकी थिइन् । दुई वर्षअघि सिलिगुडीमा भएको चौथो साफमा भने उनी प्रशिक्ष्ँक कुमार थापाको टिममा अटाएकी थिइनन् । चौथो साफमा कप्तान रहेकी रेनुका २०१० र २०१४ को साफमा पनि मैदानमा ओर्लिएकी थिइन् ।

नेपाली टिम दक्षिण एसियाली टिमविरुद्ध भारतबाहेक अरू देशविरुद्ध हारेको छैन । भुटानले भने कुनै पनि टिमलाई पराजित गर्न सकेको छैन । तैपनि तीन गोलको अन्तरमा नेपाललाई सीमित गर्नु पनि भुटानका लागि सुधारिएको नतिजा हो । विगतको तुलनामा भुटानी खेलाडीले सुधारिएको प्रदर्शन गरे । बल क्लियर गर्दै अघि बढाउने प्रयास गरे पनि नेपाली गोलकिपर अन्जिला तुम्बापो सुब्बाले २५ औं मिनेटमा मात्रै बल छुने मौका पाएकी थिइन् ।

रेखाको डेब्यु
राष्ट्रिय टिममा पूर्वकप्तान अनु लामाको स्थान लिएकी फरवार्ड रेखा पौडेलले भुटानविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी छन् । १९ वर्षीया उनी अमृता जैसीको स्थानमा ८८ औं मिनेटमा मैदानमा प्रवेश गरेकी थिइन् । हिरो वुमेन्स गोल्डकपबाट टिममा रहेकी उनले भुटानमा भएको साफ यू १८ महिला च्याम्पियनसिप २०१८ को उपाधि यात्रामा आठ गोल र थाइल्यान्डमा सम्पन्न एएफसी यू १९ च्याम्पियनसिप छनोटमा भारतविरुद्ध दुई गोल गरेकी थिइन् ।

नेपाली टिम
अन्जिला तुम्बापो सुब्बा (गोलकिपर), हीरा कुमारी भुजेल, अमृता जैसी (८८ मिनेट ः रेखा पौडेल), गीता राना, मनमाया लिम्बू (५२ मिनेट ः सरु लिम्बू), दीपा राई, रेनुका नगरकोटे, अनिता बस्नेत, मन्जली कुमारी योन्जन, निरु थापा (कप्तान) (७२ मिनेट ः अनिता केसी), सावित्रा भण्डारी 

प्रकाशित : फाल्गुन २९, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?