पाँचौं साफ वुमेन्स च्याम्पियनसिप : भारतको आधा दर्जन गोल

भारत ६–० माल्दिभ्स
विनोद भण्डारीे

विराटनगर — डिफेन्डिङ च्याम्पियन भारतले सन्जु यादवको दुई गोल सहयोगमा पाँचौं साफ वुमेन्स च्याम्पियनसिप फुटबलमा बुधबार माल्दिभ्सलाई सहजै ६–० ले पन्छाउँदै उपाधि रक्षाको अभियान सुरु गरेको छ ।

पाँचौं साफ वुमेन्स च्याम्पियनसिप : भारतको आधा दर्जन गोल

एकतर्फी खेलमा भारतले पहिलो हाफमै ५ गोल गरेको थियो । उसले आठौं मिनेटमा ग्रेसी डाङ्मीको गोलमा अग्रता लिएको थियो । उनले माल्दिभ्सकी गोलकिपर अमिनाथ लिजा अगाडि बढेको मौका सदुपयोग गर्दै बललाई पोस्टको दिशा दिएकी थिइन् ।


लगातार चारै संस्करणको उपाधि जितेको भारतले १२ औं मिनेटमा फरवार्ड सन्ध्या रंगनाथनको गोलमा अग्रता दोब्बर बनाउँदा मिडफिल्डर सञ्जुको पास उपयोग गरेकी थिइन् । १७ औं मिनेटमा वान भर्सेस वानमा गोल गर्न चुकेकी इन्दुमथि काथिरेशनले २२ औं मिनेटमा बल मध्यभागबाट एक्लै विपक्षी पोस्टमा पुर्‍याएर गरेको प्रहार पोस्टभन्दा केही अगाडि रहेकी गोलकिपर लिजाले पन्च गरे पनि बलले उनीमाथिबाट जाली चुम्न पुगेको थियो । र, भारत ३–० ले अघि बढ्यो ।


पूरा अवधिभर विपक्षी पोस्टमा एकपल्ट पनि आक्रमण बुन्न नसकेको माल्दिभ्सविरुद्ध भारतकी सन्जु यादवले २७ औं मिनेटमा गोल गर्दै टिमलाई ४–० को अवस्थामा पुर्‍याइन् । पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा रतनवाला देवीले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै टिमलाई ५–० को अग्रता दिलाइन् । माल्दिभ्सकी एकैसाथ प्रिस्हाले रतनवालामाथि बक्सबाहिर फाउल खेल्दा रेफ्री अस्मिता मानन्धरले दिएको फ्रिकिक प्रहार उनले सदुपयोग गरेकी थिइन् ।


दोस्रो हाफको पूरै अवधि रक्षात्मक खेल खेल्दै माल्दिभ्सले भारतको गोलवर्षा रोक्ने प्रयास गरेपनि ९० औ मिनेटमा सन्जुले व्यक्तिगत दोस्रो र टिमका लागि छैटौं गोल गरिन् । उनले ३५ यार्डवाट गरेको प्रहार दर्शनीय गोलमा परिणत भएको थियो ।


दोस्रो हाफमा माल्दिभ्सले रक्षात्मक खेल्दा र गोलकिपरले उत्कृष्ट बचाउ गर्दा भारतको थप गोल गर्ने मुभ विफल भएका थिए । ४८ मिनेटमा ग्रेसी, ७५ मिनेटमा मनीषा र ८२ औं मिनेटमा डालिममाको प्रहार गोलकिपर लिजाले उत्कृष्ट बचाउ गरेकी थिइन् ।


‘खेल राम्रो भयो । जितेपछि राम्र्रो हुन्छ,’ भारतीय टिमकी प्रशिक्षक मायमोल रक्कीले भनिन्, ‘खेलाडीले बलमाथि नियन्त्रण कायमै राखे । दोस्रो हाफमा पर्याप्त अवसर सिर्जना गरेर पनि धेरै गोल गर्न सकेनौं । ठूला खेलमा अझै राम्रो गर्ने सोचेकी छु ।’ भारत साफ च्याम्पियनसिपमा भारत अपराजित छ ।


माल्दिभ्सका प्रशिक्षक मोहम्मद असिफले भने, ‘खेलाडीलाई सम्मान गर्छु । किनभने पछिल्लो खेलमा मुख्य तीन डिफेन्स घाइते भएका थिए । त्यसैले टिम परिवर्तन गर्नुपरेको थियो । भारत बलियो टिम हो । हामीले दोस्रो हाफमा हामीले राम्रो गरेका थियौं र त्यसमा खुसी छौं ।’

प्रकाशित : फाल्गुन ३०, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?