दुई कप्तानको च्याम्पियन चाहना

निरु थापा र रेनुका नगरकोटेले नौ वर्षअघि भएको पहिलो साफ वुमेन्स च्याम्पियनसिप खेलेका थिए । अहिले निरु नेपाली राष्ट्रिय टोलीकी कप्तान हुन् भने रेनुका उपकप्तान । यी दुई सर्वाधिक चारपल्ट साफ खेल्ने कीर्तिमानी खेलाडी पनि हुन् ।
राजु घिसिङ

विराटनगर — नेपाली महिला टिमका लागि सन् १९९९ मा फिलिपन्समा भएको एसियन कप विशेष मानिन्छ । यसै प्रतियोगितामार्फत् पेमा लामाले नेपाली महिला टिमको लागि अन्तर्राष्ट्रिय फुटबलमा गोलको खाता खोलेकी थिइन् । तर, त्यसपछि महिला टिम गुमनामजस्तै भयो । महिला फुटबलको घरेलु प्रतियोगितामा पनि खडेरी लाग्न थाल्यो । त्यसैले हुनसक्छ, महिलाको राष्ट्रिय टिमले त्यो एसियन कपपछि प्रतिस्पर्धा गर्न ११ वर्ष प्रतीक्षा गर्नुपर्‍यो ।

दुई कप्तानको च्याम्पियन चाहना

सन् २०१० फेब्रुअरीमा ढाका (बंगलादेश) मा ११ औं दक्षिण एसियाली खेलकुद (साग) भएको थियो । सागमा महिला फुटबललाई पहिलोपल्ट समावेश गरेपछि नेपाली टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा पुनरागमन गरेको थियो ।

रजत पदक जितेको ११ औं सागमा नेपाली टिमकी डिफेन्डर थिइन् निरु थापा । त्यही वर्ष डिसेम्बरमा बंगलादेशकै कक्सबजारमा भएको पहिलो साफ महिला च्याम्पियनसिपमा पनि उनी डिफेन्समै खेलेकी थिइन् । साफको टिममा रेनुका नगरकोटे पनि छनोट भइन् र उनले सब्स्टिच्युटका रूपमा दुई खेलमा मैदानमा ओर्लने अवसर पाएकी थिइन् ।

यिनै निरु र रेनुका सबैभन्दा धेरै साफ वुमेन्स च्याम्पियनसिप खेल्ने नेपाली खेलाडी बनेका छन् । नौ वर्षअघि सुरु भएको महिला साफको पाँचौं संस्करण विराटनगरस्थित सहिद मैदानमा भइरहेको छ । निरु र रेनुका साफमा चौथोपल्ट सहभागी भएका हुन् । निरु सन् २०१६ (सिलिगुढी, भारत) र रेनुका २०१२ (कोलम्बो, श्रीलंका) मा सम्पन्न साफको टिममा थिएनन् । उनीहरू बाँकी सबै संस्करणमा नेपाली टिममा रहेका छन् । सन् २०१० को टिमका यी दुई सदस्यमात्र अहिलेको टिममा छन् ।

‘सबैभन्दा बढी साफ च्याम्पियनसिप खेल्न पाउँदा खुसी लागेको छ,’ २९ वर्षीया निरुले भनिन् । उनी अहिलेको टिमकी कप्तान हुन् र सबैभन्दा सिनियर खेलाडी पनि । उनले ३५ क्याप जितेकी छन् । सर्वाधिक गोलको सूचीमा पनि ९ गोलसहित चौथो स्थानमा छिन् । उनीभन्दा बढी गोल अनु लामा (३५), जमुना गुरुङ (२५), सावित्रा भण्डारी (२३) र सजना रानामगर (१५) ले गरेका छन् । अहिलेकी उपकप्तान हुन् रेनुका । चौथो साफमा ‘आर्मब्यान्ड’ लगाइसकेकी उनी पनि चौथोपल्ट साफमा सहभागी हुँदा दंग छिन् ।

रेनुका साफ २०१० को टिममा छनोट हुँदा १५ वर्षकी मात्र थिइन् । उनी त्यसअघि ११ औं सागमा टिमको क्याम्पसम्म पुगेकी थिइन् । ‘सानी छौं अर्कोपल्ट आउनू भनेर ध्रुव (केसी) सरले भन्नुभयो,’ रौतहटकी २४ वर्षीया रेनुकाले भनिन्, ‘अर्कोपल्ट साफ २०१० को छनोटमा गएँ र परें पनि ।’ उनले पाकिस्तानविरुद्ध १२–० को जित निकालेको खेलमार्फत् अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी थिइन् । तर, दोस्रो साफ २०१२ को टिममा परिनन् । ‘प्रशिक्षकले जिल्लाका खेलाडी टिममा पर्दैन, पर्छु भन्ने नसोचे हुन्छ भन्नुभयो । क्याम्पमा खेलाएन, बाहिरै राखे । निकै चित्त दुख्यो र रौतहट फर्किएँ,’ उनले सुनाइन् ।

पूर्वकप्तान

रेनुका साफ २०१४ मा टिममा फर्किइन् । तर, घाइते भएकीले २०१६ को १२ औं साग (सिलोङ) मा भने सहभागी भएनन् । फेरि चौथो साफ २०१६ (सिलिगुढी) मा फर्किइन् । कुमार थापाले सम्हालेको टिमकी कप्तान नै भइन् । सिलीगुढीमा नेपाली टिम सेमिफाइनलमा भारतविरुद्ध ३–१ ले हार्‍यो । साफमा नेपाल फाइनल नपुगेको त्यो नै पहिलो थियो । त्यसअघि तीनै संस्करणको फाइनल नेपालले खेलेको थियो र हरेकपल्ट उपाधि होडमा भारत तगारो बनेको थियो ।

‘चौथो साफमा भारतलाई दबाबमा राखेर पनि खेल जित्न सकेनौं । तर, त्यसबाट हामी भारतविरुद्ध खेल्नसक्छौं भन्ने आत्मविश्वास जागेको थियो,’ २१ खेल खेलेकी रेनुकाले बताइन्, ‘ओलम्पिक छनोटमा बराबरी गर्‍यौं र भुवनेश्वर (हिरो गोल्डकप) मा भारतलाई पराजित गर्‍यौं । त्यसले हामी सक्छौं भन्ने देखायो ।’

स्वर्गीय शेरबहादुर दर्लामीले चन्द्रपुर (पुरानो चन्द्रनिगाहपुर) मा सन्चालन गरेको प्रशिक्षणबाट उनी खेलाडी बनेकी हुन् । घरबाट हुन्न भन्दाभन्दै उनी बुट बोकेर मैदानमा पुग्थिन् । दिदी मेनुकासँगै फुटबल खेल्न थालेकी उनले चन्द्रपुरकी फरवार्ड अनु लामाजस्तै राष्ट्रिय खेलाडी बन्ने सपना बुनेकी थिइन्, त्यो सपना पूरा गर्न पाएकोमा उनी दंग छिन् । उनले क्लब र टिममा अनुसँगै पनि खेल्ने अवसर पाइन् ।

सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट ६ बर्षयता खेलिरहेकी रेनुका मिडफिल्डर हुन् । उनी अहिले नेपाली टिमकी प्लेमेकर हुन् । ‘विपक्षीको खेल अध्ययन गर्नसक्ने, बल खोस्ने र सटिक पास दिने उनको विशेष खुबी हो,’ रेनुकाबारे नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले भने, ‘उनी मिडफिल्डका मुख्य खेलाडी हुन् ।’ रेनुका सानैदेखि नै सेन्ट्रल मिडफिल्डरको रूपमा खेल्ने गरेकी थिइन् ।

भर्सटाइल कप्तान

निरुको कथा अलि फरक छ । नेपालगन्जकी उनी बाल्यकालमा केटाहरूसँगै फुटबल खेल्थिन् । प्रशिक्षण गर्थे र प्रतियोगिता पनि केटाकै टिमबाट खेल्थिन् । उनी सानैदेखि फरवार्ड हुन् । २०६९ सालमा पुलिसमा भर्ना भएयता उनी यो विभागीय टिमकी मुख्य फरवार्डको रुपमा निरन्तर रहेकी छन् । घरेलु फुटबलमा गोलको वर्षा गरिरहेकी उनी राष्ट्रिय टिममा भने डिफेन्सको रूपमा प्रवेश गरिन् ।

प्रशिक्षक ध्रुव केसीले उनलाई सन् २०१० को साग र साफमा डिफेन्सबाट खेलाए । किशोर केसीले साफ २०१२ मा मिडफिल्डर बनाए । कुमार कटवालले साफ २०१४ मा पनि मिडफिल्डमै खेलाए । उनले आफ्नै पोजिसन (फरवार्ड) को रूपमा भने राष्ट्रिय टिममा साग २०१६ मा आएरमात्र खेल्ने अवसर पाइन् । ‘प्रशिक्षकले आवश्यकताअनुसार जुन पोजिसनमा खेलाउँछ, त्यसको जिम्मेवारी पूरा गर्ने प्रयास गर्छु,’ उनले भनिन् । पाँचौं साफको उद्घाटन खेलमा भुटानविरुद्ध हात पारेको ३–० को जितमा निरुले तेस्रो गोल गरेकी थिइन् भने मिडफिल्डमा रेनुकाको प्रदर्शन प्रभाव देखिएको थियो ।

चौथो साफमा क्याम्पमा रहेर पनि टिममा छनोट हुन नसक्नुको कारणबारे निरुले भनिन्, ‘मलाई टिममा पर्छु भन्ने लागेको थियो । तर, प्रशिक्षकको नजरमा परिन् । मिहिनेत गरेर टिममा फर्किन्छु भन्ने थियो र फर्किए पनि । अहिले सफल पनि भइरहेका छौं । सबै इच्छा पूरा हुँदै गएको छ ।’ उनी हरि खड्काको टिमको अग्रपंक्तिमा सावित्रा भण्डारीकी सहकर्मी हुन् । ‘निरु अनुभवी खेलाडी हुन् । उत्कृष्ट पनि । टिममा उनको विकल्प छैन,’ प्रशिक्षक खड्काले भने ।

एउटै लक्ष्य

निरु अगाडि खेल्छिन्, गोल हान्ने प्रयासमा हुन्छिन् । उनलाई बल उपलब्ध गराउने रेनुकाको जिम्मेवारी हो । त्यसैले सफलता हासिल गर्नका लागि ११ खेलाडीको टिममा राम्रो समन्वय आवश्यक हुन्छ ।

‘खुसी पनि लागेको छ र डर पनि,’ घरेलु भूमिमा भइरहेको साफ च्याम्पियनसिपबारे रेनुकाले भनिन्, ‘पहिला गेम खेल्न पाइदैनथ्यो र ट्रेनिङ पनि । यसपालि लामो समययता निरन्तर प्रशिक्षण भएकाले सफल भइरहेका छौं । यसपालि साफ च्याम्पियन बन्नसक्छौं भन्ने लागेको छ ।’

१० जेठमा राष्ट्रिय टिमका लागि प्रशिक्षण सुरु भएको थियो र त्यसयता टिमले नियमित प्रशिक्षण गर्दै प्रतियोगिता खेलिरहेको छ । पहिलोपल्ट सहभागी हुँदै नेपाली टिम ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गर्‍यो । चार टिम सहभागी हिरो वुमेन्स गोल्डकपमा सबैभन्दा तल्लो वरीयताको टिम भएर भनि उपविजेता बन्यो । त्यसैले पनि यो साफमा नेपाली टिम उत्साही भएको छ ।

तीन साफ र दुई सागको उपविजेता रहेको नेपाली टिमकी महत्त्वपूर्ण खेलाडी निरु भन्छिन्, ‘यसपालि सबैले मिहिनेत गरेका छौं । प्रदर्शनमा पनि सुधार भइरहेको छ । पहिला शारीरिक खेलमा बलियो थियौं, अहिले टेक्निकल गेम पनि राम्रो भएको छ । टिममा निकै सुधार देखिएको छ । त्यसैले पहिलोपल्ट उपाधि जित्न चाहन्छौं ।’ चिरपरिचित प्रतिद्वन्द्वी भारतबारे उनले भनिन्, ‘पहिला हामी खेल्नुअघि नै हार्दैछौं भन्ने लाग्थ्यो र कम गोल खानको लागि सोच्थ्यौं । अहिले प्रतिस्पर्धा गर्नसक्ने भएका छौं । डराएर खेल्न छाडेका छौं । जित्नका लागि खेल्ने भएका छौं ।’


रेनुका नगरकोटे

क्याप : २१

डेब्यू : १४ डिसेम्बर, २०१०

पाकिस्तानविरुद्ध १२–० को जित (सब्स्टिच्युट)

पहिलो साफ वुमेन्स च्याम्पियनसिप, कक्सबजार

उपलब्धि : उपविजेता (साफ वुमेन्स च्याम्पियनसिप २०१०, २०१४)

उपविजेता (हिरो गोल्डकप २०१९)

क्लब : एपीएफ

उमेर : २४ वर्ष

घर : चन्द्रपुर, रौतहट


निरु थापा

क्याप : ३५, गोल : ९

डेब्यू : २९ जनवरी, २०१०, बंगलादेशविरुद्ध १–० को जित (पहिलो रोजाइ), १२ औं दक्षिण एसिायली खेलकुद, ढाका

उपलब्धि : उपविजेता (साफ वुमेन्स च्याम्पियनसिप २०१०, २०१२, २०१४)

रजत पदक (दक्षिण एसियाली खेलकुद २०१०, २०१६)

उपविजेता (हिरो गोल्डकप २०१९)

क्लब : पुलिस

उमेर : २९ वर्ष

घर : नेपालगन्ज, बाँके

प्रकाशित : फाल्गुन ३०, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?