कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुटिङ छनोट सुरु

कान्तिपुर संवाददाता

नेपालगन्ज — आसन्न आठौं राष्ट्रिय खेलकुदमा समावेश सुटिङका लागि प्रदेश ५ स्तरीय खेलाडी छनोट सुरु भएको छ । बाँके, बर्दिया र दाङका २२ खेलाडी प्रतिस्पर्धामा छन् । त्यसबाट एयर राइफल र एयर पेस्तोलतर्फ २–२ महिला र पुरुष खेलाडी छनोट हुने छन् ।

सुटिङ छनोट सुरु

नेपालगन्ज रंगशालास्थित सुटिङ खेलका लागि रेञ्ज निर्माण भइसकेको छ । प्रदेश सांसद तथा ओलम्पियन सुरेन्द्र हमालले बुधबार सुटिङ प्रशिक्षक उपेन्द्र थापालाई एयर राइफल हस्तान्तरण गरी छनोट प्रतियोगिताको उद्घाटन गरे । उनले प्रदेश ५ ले सुटिङका लागि अन्तर्राष्ट्रिस्तरमा परिचय बनाइसकेको सुनाए ।


मध्यपश्चिमबाट प्रतिनिधित्व गर्दै पार्वती थापा, स्नेह राज्यलक्ष्मी शाह र अनिता श्रेष्ठले ओलम्पिक खेलिसकेका छन् । उनीहरू यसै क्षेत्रबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएका थिए । ‘सुटिङका लागि हाम्रो क्षेत्रका खेलाडी अन्तर्राष्ट्रियस्तरमा सहभागी भइसकेका छन्,’ सांसद हमालले भने, ‘यसपल्टको प्रतियोगितामा पनि यस क्षेत्रका खेलाडीले राम्रै प्रदर्शन गर्ने विश्वास छ ।’


आठौं राष्ट्रियको मिति पटक–पटक सारिए पनि प्रदेश स्तरीय खेलाडी प्रतियोगिता भने सुरु भएको छ । पछिल्लोपल्ट प्रतियोगिताको मिति भने सार्वजनिक नगरिए पनि चैत २५ देखि सुरु हुने भनिएको छ ।


प्रतियोगिता उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छन् । मध्यपश्चिम खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम वलीले उद्घाटनका लागि राष्ट्रपतिलाई औपचारिक निम्तो पठाइसकेको बताए । आठौं प्रतियोगिताका लागि हात्तीको छावाको मस्कट तयार भएर नेपालगन्ज ल्याइसकिएको छ । त्यसको अनावरण प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्ने कार्यक्रम तय छ ।


आयोजकका अनुसार सबैजसो निर्माण काम अन्तिम चरणमा पुगिसकेको छ । प्रतियोगिताका लागि आवश्यक पर्ने पूर्वाधार १३ ठूला आयोजना सञ्चालनमा छन् । ३५ खेलमा प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?